२०८३, कार्तिक १५ गते आइतबार

‘ग्राफ्टिङ’ गरेर नयाँ जातका किबी उत्पादन गर्दै किसान

‘ग्राफ्टिङ’ गरेर नयाँ जातका किबी उत्पादन गर्दै किसान


  • मेरोभ्यूज
  • भाद्र २९, २०८१ शनिबार

  • ‘ग्राफ्टिङ’ गरेर नयाँ जातका किबी उत्पादन गर्दै किसान

    इलाम । जिल्लाको सन्दकपुर गाउँपालिकाका किसानले ग्राफ्टिङ गरेर नयाँ जातका किबी उत्पादन गर्न थालेका छन् ।

    एकपटक रोपिएको बोटलाई ग्राफ्टिङ गरेर किसानले विभिन्न नयाँ जातका किबी उत्पादन गर्न सुरु गरेका हुन् । सन्दकपुरका किसान रुद्र खतिवडाले रातो (रेड) सँगै सुनौलो (गोल्डेन) किबी फलाउन थालेको बताए ।

     “रेडसँगै अहिले गोल्डेन जातको उत्पादन सुरु भएको छ”, उनले भने, “यसलाई जिल्लास्थित कृषि विकास कार्यालयले पनि अहिलेसम्मकै अब्बल जातको किबी भनेको छ ।” “पहिला दसैँपछि मात्र टिप्न पाइन्थ्यो । केही वर्षअघिदेखि भने वर्षामा पनि खान पाइएको छ”, किसान ठाकुर खतिवडाले भने ।

    नयाँ प्रविधिको प्रयोगगरी खेती गर्दा बेमौसममा पनि उत्पादन लिएर प्रशस्त आम्दानी गर्न सकिने उनको बुझाइ छ । सुरुमा जुन जातको किबी रोपे पनि पछि विभिन्न प्रजातिको आफैँले निर्माण गर्न सकिने ठाकुरले बताए ।

     “सुरुमा रोपिएका हरियो बिरुवालाई ग्राफ्टिङ गरेर रेड, गोल्डेनलगायत नयाँ प्रजातिका रुपमा विकास गर्न सकिन्छ”, उनले भने ।

    उनका अनुसार यतिबेला यहाँका अधिकांश किसानको बगैँचामा रेड किबी उत्पादन सुरु भएको छ । अन्य जातको किबीभन्दा रेडको उत्पादन चाँडो हुने बताउँदै ठाकुरले नेपालीको चाडपर्व अगाडि यो फल पाक्ने भएकाले किसानले उचित मूल्य पाउने उनले उल्लेख गरे । “यो चिल्लो, बाहिरी भागमा झुस नभएको हुन्छ । बाहिर हरियो भए पनि यसको भित्री भाग रातो हुने भएकोले यसलाई रेड किबी भनिएको हो”, उनले भने ।

    इलाममा व्यावसायिकरुपमा रेड किबीखेती हुने गरेको कृषि विकास कार्यालय इलामका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत जीवन ठाडा मगरले बताए । “पछिल्लो समय जिल्लाका किसानको किबीप्रति आकर्षण बढ्न थालेको छ । रेड किबी साउन-भदौमा उत्पादन हुन्छ । अन्य कात्तिक-मङ्सिरमा मात्र उत्पादन हुने भएकोले चाडपर्वमा किसानले उचित मूल्य पाउँछन्”, उनले भने ।

    बर्खामा अन्य कृषि उत्पादनबाट आन्दानी कम हुने गरेकोमा रेड बिक्रीको उत्पादन हुन थालेपछि यहाँका किसान उत्साहित भएका छन् । रेड किबीबाट प्रशस्त आम्दानी गर्न सकिने किसान ठाकुरले बताए । किसान ठाकुरका अनुसार प्रतिकिलो रु दुई सयदेखि रु तीन सयसम्म पर्दछ ।

    अन्य प्रजातिका किबीभन्दा रेड महँगोमा बिक्री हुने भएपछि खेती विस्तार हुँदै गएको कृषि प्रसार अधिकृत मगरले बताए । उनका अनुसार यो फल पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले स्वास्थ्यका लागि पनि फाइदा हुन्छ । जिल्लामा रेडसँगै गोल्डेन किबीको उत्पादन पनि सुरु भएको उनको भनाइ छ ।

    एक दशकअघिदेखि सन्दकपुर गाउँपालिकाको सुलुबुङलगायत जिल्लाका विभिन्न स्थानमा व्यावसायिक किबीखेती सुरु भएको हो । तत्कालीन समयमा मूल्य नभएको भन्दै किसानले बजारीकरणका लागि सरकारले सहयोग गर्नुपर्ने बताउँदै आएका थिए । किसान ठाकुरले हाल किबीसँगै विकल्पका रुपमा यहाँका किसानले अलैँचीखेती पनि गर्दै आएका बताए ।

    रेड किबीको सेवनले मधुमेह, मुटुसम्बन्धी, मांसपेसीसम्बन्धी, क्षय, मोटोपना र दम रोग नियन्त्रणका सहयोग पुग्ने चिकित्सक बताउँछन् । सबै उमेर समूह र गर्भवतीका लागि पनि रेड किबी फाइदाजनक हुने कृषि प्रसार अधिकृत मगरले उल्लेख गरे ।

    रेड किबीबाट जुस, जाम र अन्य पेयपदार्थ बनाएर सेवन गर्न सकिने उनको भनाइ छ । बोटमा नै पाक्न सक्ने यो फल टिपेको लामो समयसम्म राख्न मिल्दैन । चाँडोगरी गल्ने र बिग्रिने भएकाले रेड किबी टिपेर तत्काल सेवन गर्नुपर्ने किसान बताउँछन् ।

    सन्दकपुर–३ को तालगाउँ, इलाम नगरपालिका, देउमाई नगरपालिका, सूर्योदय नगरपालिकामा किबीखेती बढी हुने गरेको कृषि विकास कार्यालयका सूचना अधिकारी मगरले जानकारी दिए ।

    सन्दकपुर गाउँपालिकाको पाँच वटा वडा र इलाम नगरपालिका–१, २ र ३ मा किबी जोन कार्यक्रम सञ्चालन गरेर सरकारले खेती प्रवर्द्धनमा जोड दिँदै आएको छ । पछिल्लो समय उक्त परियोजनाबाट उल्लेख्य सहयोग नपाएको किसानको भनाइ छ । सुरुमा रु सात सय प्रतिकिलो किनबेच हुने गरेकोमा हाल रु एक सयदेखि रु तीन सयसम्ममा कारोबार हुने गरेको किसान खतिवडाले जानकारी दिए ।

    नेपालमा रातो गुदी भएको रेड, हरियो गुदी भएको हेवार्ड, एलिसन, मोन्टी, ब्रुानो, एवोट, मचुवा र टिमोरी जातको किबी उत्पादन भइरहेको कृषि विकास कार्यालयका सूचना अधिकारी मगरले जानकारी दिए ।

    उनका अनुसार पहेँलो गुदी भएको जेस्पिरी र गोल्डसमेत खेती तथा उत्पादन हुने गरेको छ । “किबीको बिरुवा हिउँदमा लगाउने गरिन्छ । पात झरेको समयमा पुस र माघमा बिरुवा रोप्ने गरिन्छ । किबी बहुवर्षे फल हो । किबीफल लहरामा फल्ने पत्झर फलफूलअन्तर्गत पर्दछ”, उनले भने ।

    रेड किबी पाक्न थालेको बताउँदै मगरले अन्य किबी काँचो भएकोले अचारका रुपमा प्रयोग गर्ने गरिएको जानकारी दिए ।

    उनका अनुसार हालसम्म विश्वमा ७६ प्रकारका किबीका प्रजातिको पहिचान भइसकेको छ । किबी नेपालको इलामसहित काभ्रेपलाञ्चोक, पाँचथर, सङ्खुवासभालगायत जिल्लामा खेती हुँदै आएको छ ।

    पश्चिमी जिल्लामा पनि इलामबाट बिरुवा लगेर खेती हुन थालेको छ । “यसको बिरुवा रोप्दा भाले र पोथी प्रजाति पहिचानगरी सँगसँगै रोप्नुपर्दछ । भाले, पोथीको परागशेचन नभएमा यसको उत्पादन हुँदैन ।

    भमरा, माहुरीलगायतले फूलमा भएको रस चुस्ने क्रममा यसको परागशेचन हुन्छ”, कृषि विकास कार्यालयका सूचना अधिकारी मगरले भने । यसलाई हाँगा (डाँठ) र दिउलबाट थप बिरुवा उत्पादन गर्ने गरिएको भन्दै रोपेको चौथो वर्षदेखि आम्दानी लिन सकिने उनले जानकारी दिए ।

    पहाडी भू–भागमा यसको उत्पादन राम्रो हुन्छ । समुन्द्री सहतबाट एक हजार दुई सय मिटरदेखि माथि दुई हजार चार सय मिटरसम्मको उचाइमा किबीखेती गर्न सकिने कृषि विकास कार्यालय इलामले जनाएको छ । जिल्लामा कूल सात सय ८० हेक्टरमा किबीखेती हुने गरेको कृषि प्रसार अधिकृत मगरले जानकारी दिए ।


    प्रकाशित : शनिबार, भाद्र २९ २०८११०:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार