२०८३, कार्तिक १५ गते आइतबार

हिले-जलजले पर्यटकीय ताल निर्माण

हिले-जलजले पर्यटकीय ताल निर्माण


  • मेरोभ्यूज
  • भाद्र १७, २०८१ सोमबार

  • हिले-जलजले पर्यटकीय ताल निर्माण

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-२ स्थित हिले जलजले सामुदायिक वन क्षेत्रमा ‘पर्यटकीय ताल’ निर्माण अन्तिम चरणमा पुगेको छ ।

    उक्त वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले बागमती प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयद्वारा विसं २०७९ मङ्सिरमा ताल निर्माण सुरु गरिएको थियो ।

    काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलस्थित पर्यटकीय क्षेत्र नगरकोट पुग्ने पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले वनमा ताल निर्माण गर्न थालिएको जनाइएको छ ।

    शून्य दशमलव ४९ हेक्टर क्षेत्रफलमा बन्न लागेको तालमा ८२ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । चालु आर्थिक वर्षको मङ्सिर महिनाभित्र निर्माण सक्नेगरी काम भइरहेको निर्माण कम्पनी विजय-लोटस-तेजस्वी जेभीका गणेश मोक्तानले बताए ।

    “अविरल वर्षाका करण केही दिनबाहेक काम भइरहेको छ, निर्धारित समयमै काम सक्ने लक्ष्य लिएका छौँ”, उनले भने, “निर्माणाधीन तालको हाल भुइँमा ढलान तथा ताल वरपर पर्खाल लगाउने काम सकिएको छ भने ‘फिनिसिङ’ गरी तालमा पानी थुन्ने काम बाँकी छ ।” ओखरे र थुम्की खोला मिसिएर बग्ने स्युरो खोलामा तालको बाँध बाँधिएको छ ।

    ताल निर्माणका लागि रु पाँच करोड ८९ लाख ५१ हजारमा ठेक्का सम्झौता भएको थियो । तालसहितका अन्य संरचना निर्माण गर्न रु १६ करोड ९४ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ । निर्माणाधीन पर्यटकीय ताल आठ मिटर अग्लो, ११ मिटर चौडाइ र एक सय ८२ मिटर लम्ब्याइएको रहेको छ ।

    ताल निर्माणका लागि डिभिजन वन कार्यालय धुलिखेलले वन क्षेत्रको एक सय २९ रूख कटानको स्वीकृति दिएपछि ताल निर्माण थालिएको थियो । यस्तै, त्यसअघि प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले उक्त वनमा बहुउद्देश्यीय ताल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गरेको थियो ।

    डिपिआरमा तालमा डुङ्गा सञ्चालन तथा आसपासका क्षेत्रमा मनोरञ्जन पार्क, पर्खाल, उद्यानका साथै प्राकृतिक सौन्दर्यीकरणका काम हुने जनाइएको छ ।

    यस्तै, ताल परिसरमा चराचुरुङ्गी र वन्यजन्तुसमेतको संरक्षण गर्नेगरी योजना बनाइने र ताल क्षेत्र वरपरका रूखमा ‘ट्री हाउस, ट्री सेन्टर’ निर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउने संरचना निर्माण गर्न सकिने जनाइएको छ ।

    दोस्रो चरणमा पार्किङ, होटल तथा पसल सञ्चालनका लागि संरचना, टिकट घरलगायत अन्य पूर्वाधार निर्माण गरिनेसमेत गुरुयोजनामा उल्लेख गरिएको छ ।

    ताल निर्माण सम्पन्न गरिसकेपछि सङ्घीय राजधानी काठमाडौँ नजिकको एक पर्यटकीय गन्तव्य तथा धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले स्थानीयको आर्थिक समृद्धिसँग जोड्ने अपेक्षा गरिएको छ ।

    जिल्लाको उत्तरी पहाडी क्षेत्रमा अवस्थित वनको प्राकृतिक सौन्दर्यलाई कायमै राखी ताल निर्माणका लागि स्थानीय तहलाई तत्कालीन अवस्थामा गुरुयोजना तयार गर्न लगाएको र हाल बहुउद्देश्यीय परियोजनाका रुपमा क्रमागत विकास अगाडि बढाइएको यहाँबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले बताए ।

    बाँस्कोटाका अनुसार बनेपाको वासुकी क्षेत्र र हिले-जलजलेलाई पर्यटकीय तथा समृद्धिको आधार बनाउन संरचना निर्माण गर्न लागिएको हो । सानो पोखरीमा अवस्थित हिले-जलजलेको छुट्टै धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ ।

    नगरकोटस्थित महादेव पोखरी र यस ताल क्षेत्रमा ‘हलाहल विष पिएर आएका महादेव’ चोपलिएको किंवदन्ती छ । यस्तै, वासुकी नाग हिले-जलजले क्षेत्रबाट पनौतीको मकर मेलाका लागि जाने विश्वास छ । हरेक वर्ष घुम पूर्णिमा (ज्याःपुन्ही)को दिन पनौतीमा लाग्ने जात्रामा हिले-जलजले क्षेत्रबाट वासुकी नाग जाने क्रममा पानी पर्ने र हावाहुरी चल्ने गर्दछ । वासुकी नाग जाँदा हावाहुरीबाट लडेको मकै तथा अन्य खाद्यबाली नाग फर्कंदा पहिलाकै अवस्थामा आउने किंवदन्ती पनि रहेको पाइन्छ । वासुकी नागले पनौतीको भ्रमण गरेको स्मरणमा पूजाअर्चना गर्दा ‘मागेको पुग्ने’ विश्वास गर्दै आएका छन् ।


    प्रकाशित : सोमबार, भाद्र १७ २०८१०९:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार