२०८३, कार्तिक १५ गते आइतबार

कृषि र पशुपालनबाट वार्षिक रु १५ लाख कमाउँदै वृद्ध

कृषि र पशुपालनबाट वार्षिक रु १५ लाख कमाउँदै वृद्ध


  • मेरोभ्यूज
  • भाद्र १५, २०८१ शनिबार

  • कृषि र पशुपालनबाट वार्षिक रु १५ लाख कमाउँदै वृद्ध

    उदयपुर । यहाँको रौतामाई गाउँपालिका-७ मुर्कुचीका जीतुहर्क तामाङ उमेरले ८० वर्ष पुगिसके । तर उनले अहिले पनि कृषि र पशुपालनमा सक्रिय छन् । यही पेशाबाट उनले वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आएको छ ।

    उनले १३ रोपनी जग्गामा फलफूलखेती गरेको छ । सबैभन्दा धेरै लिच्ची र कागती रोपेको छ । कागती बिक्रीबाट वार्षिक रु पाँच लाख आम्दानी गर्ने गरेको उनले जानकारी दिए ।

    विगत ३० वर्षदेखि उनले खसीबाख्रा पाल्दै आएको छ । अहिले उनको गोठमा एक सयको सङ्ख्यामा खसीबाख्रा छन् । एक सयमध्ये ३८ वटा त खसीमात्र छन् ।

    उनले एक हजारको सङ्ख्यामा लोकल कुखुरा र एक हजार हाँस पालेका छन् । खसीबाट वार्षिक रु सात लाखसम्म र हाँस कुखुरा बिक्री गरी रु चार लाखसम्म आम्दानी गर्छ ।

    विगतमा राजनीतिमा समेत सक्रिय तामाङ अहिले राजनीति छाडेर कृषिमा मात्र सक्रिय छन् । “मैले कृषि पेशा गर्दागर्दै पनि पञ्चायत व्यवस्थामा एकपटक प्रधानपञ्च भएँ । बहुदल आएपछि एकपटक गाविस अध्यक्ष पनि भएँ”, उनले भने, “राजनीति त सेवा हो, आर्थिक आम्दानी नगरी परिवार र जीवन नचल्ने हुनाले राजनीतिभन्दा कृषिलाई निरन्तरता दिएको हुँ ।” अहिले पनि तामाङ दैनिक बिहान उज्यालो भएदेखि बेलुका ६ बजेसम्म फलफूल बगानमै भेटिन्छ । साँझ ७ बजेदेखि ९ बजेसम्म खसीबाख्रा, कुखुरा, हाँसको रेखदेखमा समय दिनुहुन्छ ।

    उनका चार छोरामध्ये उनी साहिँला छोरासँग बस्छन् । हजुरबुबा र बुबाको पालादेखि कृषि तथा पशुपालन सिकेको उनले बताए । उनलाई नजिकबाट जान्ने जनता मावि मुर्कुचीका प्राचार्य खड्ग थापामगर भन्छ, “उनी कर्मठ कृषक हुन । यस्तो व्यक्ति देशमा बिरलै पाइन्छन्, तीमध्येका एक हुन । उनी सफल कृषक मात्र नभई समाजसेवी पनि हुन ।

    ” पञ्चायतकालमा प्रधानपञ्च हुँदा उनले रौता मुर्कुचीको जनता माध्यमिक विद्यालय स्थापना गरे र नामेटार गाउँका दुईवटा विद्यालय स्थापना गर्न पहल गरेको प्राचार्य थापामगरले जानकारी दिए ।

    रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले भने, “जीतुहर्क एक सङ्घर्षशील र सफल कृषक हो । गाउँका जनप्रतिनिधि हुँदा जनताको सेवा गरे र त्यसपछि कृषि पेशामै फर्किए ।”

    असी वर्षको उमेरमा अझै तन्नेरी जाँगर र जोशका साथ कृषि पेशामा सक्रिय तामाङ आफू यही पेशाले निरोगी भएको बताउँछन् ।

     “सात वर्षको उमेरदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ । जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिँन”, उनले भने, “यही काम गर्दागर्दै मर्न परोस् अरु मलाई केही चाहिएको छैन । म यसमै सन्तुष्ट छु ।” उनले दैनिक दूधभात, मासु र फलफूल खाने गर्छन् ।

    आम्दानी राम्रो हुने गरेकाले गाउँघरका छिमेकीलाई आर्थिक सङ्कट पर्दा उनले सरसापटी दिने गरेको छ । ८० वर्षको उमेरमा पनि उनको जाँगर देख्ने जोकोहीले काम गर्न उमेरले नछेक्ने रहेछ भन्ने गरेको मुर्कुचीका स्थानीय देवप्रसाद खड्काले सुनाए ।


    प्रकाशित : शनिबार, भाद्र १५ २०८१०९:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार