२०८३, कार्तिक १५ गते आइतबार

रूख बिरुवा नभएको हरियाली भिरालो

रूख बिरुवा नभएको हरियाली भिरालो


  • मेरोभ्यूज
  • भाद्र १२, २०८१ बुधबार

  • रूख बिरुवा नभएको हरियाली भिरालो

    म्याग्दी । रूख बिरुवा नभएको हरियाली भिरालो पाखोको पृष्ठभूमिमा देखिने हिमशृङ्खला ।

    पाखाको चरनमा रमाइरहेका गाईभैँसी, भेडाबाख्राका बथान । घाम, पानी र बादलको लुकामारी । कोलाहलमुक्त र एकान्त वातावरण । चराहरुको चिरबिर, चिरबिर आवाज । सिरसिरे बताससँगैको शीतलता ।

    समुन्द्री सतहदेखि दुई हजार दुई सय आठ मिटर उचाइमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका-२ स्थित रुइसेमा पुग्दा कुनै चित्रकारले मेहनतका साथ तयार पारेको क्याभासको जस्तो आभास हुन्छ ।

    रुइसेको सौन्दर्यले समय बितेको पत्तै नहुने बेनीबाट त्यहाँ घुमेर आएका व्यवसायी कृष्णराज पौडेलले बताए ।“गर्मी छल्न, बजारको कोलाहल, व्यावहारिक र व्यावसायिक तनाबाट मुक्त हुनका लागि रुइसे उपयुक्त ठाउँ रहेछ,” हालै दुई दिन रुइसेमा बिताएका उनले भने, “रुइसेको प्राकृतिक सुन्दरता शब्दमा बयान गरिसाध्य छैन ।” रुइसेको प्रचार-प्रसार, पूर्वाधार र खाने बस्ने सुविधा भएसँगै रुइसेमा आन्तरिक पर्यटकको चहल-पहल बढ्न थालेको छ ।

    रुइसे एक दशकअघिसम्म भगवतीका किसानहरुले गाईभैँसी र भेडाबाख्राको गोठ लैजाने थलोका रुपमा मात्र सीमित थियो । पछिल्लो समय भगवती, पिप्ले, गलेश्वर, बेनी, बागलुङ, कुश्मा, पोखराबाट पर्यटकहरु घुम्न आउन थालेका रुइसेकी होटल व्यवसायी कमला शाहीले बताए ।

     “दश वर्षअघिसम्म गोठ राख्ने खर्कमा सीमित रुइसे अहिले पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ,” उनले भने, “व्यवसायी, कर्मचारी, शिक्षक र जागिरेहरु बिदा मनाउन आउने रुइसेमा अन्य समयमा पनि पर्यटक आउँछन् ।”

    धौलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे हिमाल र सूर्योदयको दृश्य अवलोकन गर्न पाउनु रुइसेको प्रमुख आकर्षण हो । ऋतुअनुसार रुइसेको पाखामा फुल्ने फूल, वनजङ्गल, ग्रामीण बस्ती, पशुगोठ, जीवनशैली र पहाडी भूगोलको दृश्य अवलोकन गर्न पाइने रुइसे बस्तीदेखि टाढा भएकाले कोलाहलबाट मुक्त छ ।

    म्याग्दीको सदरमुकाम बेनीदेखि गलेश्वर-पिप्ले-भगवती हुँदै करिब एक घण्टा ३० मिनेट सवारी साधनको यात्रा गरेपछि रुइसे पुग्न सकिन्छ । कच्ची सडक पुगेको रुइसेमा रघुगङ्गा गाउँपालिकाले भ्यू टावर, पदमार्ग, वनभोजस्थल र डिभिजन वन कार्यालयले गुराँसको बगैँचा स्थापना गरेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए ।

    रुइसेमा बास बस्ने पर्यटकहरु एक घण्टा उकालो हिँडेर भेडिओडारसम्म पुग्न सक्छन् । हिउँदमा भेडिओडारमा आउने भेडाबाख्राका गोठले परम्परागत जीवनशैलीको झल्को दिन्छ ।

    चरन क्षेत्रका भेडाबाख्राको दृश्य लोभलाग्दो हुन्छ । भगवतीको ऐतिहासिक कोतघर र मल्लकालीन रुइसे दरबारका भग्नाअवशेषहरु पनि अवलोकन गर्न सकिन्छ ।

    रुइसेको रेष्टुरेष्टमा च्याउ, टुसा, निउरो, दौडेको अचार, लोकल कुखुरा र खसीबोकाको मासु, कोदोको ढिँडोलगायत परिकारको स्वाद लिन पाइन्छ ।

    म्याग्दी र मुस्ताङलाई जोड्ने वैकल्पिक पदमार्ग धौलागिरि आइसफल पदमार्गको प्रवेशविन्दुमा पर्ने रुइसे-भेडिओडार क्षेत्रको पर्यटन प्रवद्र्धनका साथै त्यहाँसम्म पुग्ने सडक स्तरोन्नतिका लागि पहल गरेको हालै त्यस क्षेत्रको भ्रमणमा गएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए ।

    प्रदेश सरकारले पिप्लेदेखि भगवती जोड्ने पाँच किलोमिटर सडक कालोपत्र गरिसकेको उनले बताए ।


    प्रकाशित : बुधबार, भाद्र १२ २०८१११:१६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार