२०८३, कार्तिक १५ गते आइतबार

थुन्से बुन्ने पेसा संरक्षणको अभावमा लोप हुँदै

थुन्से बुन्ने पेसा संरक्षणको अभावमा लोप हुँदै


  • मेरोभ्यूज
  • भाद्र १२, २०८१ बुधबार

  • थुन्से बुन्ने पेसा संरक्षणको अभावमा लोप हुँदै

    काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका-३ निङ्गालेका रणबहादुर तुम्सिङ मगरले जङ्गलमा पाइने निङ्गालोबाट चोया निकालेर थुन्से बुन्ने काम गर्दै आएका छन् ।

    विगत ५० वर्षदेखि कृषिसँगै थुन्से बुन्दै आएका मगरले यसको बिक्रीबाट मासिक रु ३० हजारसम्म आम्दानी गर्दै आएको हो । खेतीपाती बाहेक वैकल्पिक पेसा केही नभएका यहाँका ग्रामीण क्षेत्रका किसानको आम्दानीको स्रोत थुन्से बुनेर बिक्री गर्ने रहेको मगरले बताए ।

    पछिल्लो पुस्ताले सीप नसिक्दा, सरोकार भएका निकायले संरक्षणका लागि पहल नगर्दा पेसा नै लोप हुने अवस्थामा पुगेकामा उनले चिन्ता व्यक्त गरे ।

    जीविकोपार्जनका लागि वर्षौँदेखि गर्दै आएको निर्वाहमुखी पेसा लोप हुन लागेको भन्दै स्थानीय तहले सङ्कटमा रहेका पेसा, कलासंस्कृतिको संरक्षणमा पहल गर्नुपर्नेमा मगरले जोड दिए ।

     “दुःख गरेअनुसार श्रमको मुल्य पाइँदैन”, उनले भने, “पहिला-पहिला बुनेको थुन्से बोकेर दाप्चा नमोबुद्ध हुँदै पनौतीलगायत बजारसम्म लगेर बिक्री गर्नुपर्ने अवस्था थियो । अहिले गाउँमा यातायातका साधन र सडक सञ्जाल विस्तार भएपछि बिक्री गर्न सजिलो भएको छ ।”

    निङ्गालोको चोयाबाट बुनेका सामग्री बिक्री गर्न बजार अनुकूल नहुँदा व्यापारीलाई कम मूल्यमा पठाउने गरेको मगरले गुनासो गरे । आफूले व्यावसायिक सीप कतैबाट नसिकेको बताउँदै पुर्खाले गरेको देखेर सिक्दै, बुन्दै गरेपछि सक्षम भएकाले यसलाई निरन्तरता दिएको उनले उल्लेख गरे ।

    इलमका रुपमा गर्दै आएको कामले घर खर्च चलाउन सजिलो भएपनि मेहनत अनुसारको मूल्य नपाइने मगरको गुनासो छ । बुनेका थुन्से एउटाको रु एक सय बीससम्ममा बिक्री हुने गरेको छ ।

     “निङ्गालो लेकमा जति पनि पाइन्छ तर यहाँसम्म ल्याउन सास्ती छ”, उनले भने । यहाँका किसानले थुन्सो, डोको, खर्पनलगायत सामग्री बुनेर बिक्री गरी जीविकोपार्जन गरिरहेका मगरले जानकारी दिए ।

    श्रम अनुसार मूल्य नपाउनु, सीप अभाव र संरक्षण नहुँदा यहाँका युवा पुस्ताले रैथाने ज्ञान र सीपलाई निरन्तरता नदिई अन्य पेसा अङ्गाल्दै गएका उनको भनाइ छ ।

    रोशी गाउँपालिका अध्यक्ष दिनेश लामाले परम्परागत सीपलाई संरक्षण र सम्वर्द्धन गर्ने नीति पालिकाले बनाएको भन्दै कार्यान्वयन पक्ष फितालो रहेको बताए ।

    यहाँका युवाको सीप विकास गरी स्वरोजगारका अवसर सिर्जना गर्न स्थानीय सरकार योजनाबद्धरुपमा अगाडि बढिरहेको उनको भनाइ छ ।

    “पालिकाको उद्यम विकास शाखामार्फत परम्परागत सीप र रैथाने ज्ञानअन्तर्गत महिलालाई चकटी बुन्ने तालिक सञ्चालन गरिरहेको छ”, अध्यक्ष लामाले भने, “थुन्से तथा चोयाका सामग्री बुन्ने सीपसम्बन्धी तालिम भने दिन सकेका छैनौँ । विस्तारै जीविकोपार्जनसँग जोड्ने, सीप विकास, स्वरोजगारसम्बन्धी तालिम दिने योजनमा पालिका छ ।”

    स्थानीय सरकारले परम्पारगत सीप र रैथाने ज्ञानलाई संरक्षण गर्दै व्यवस्थित बनाउने योजना लागू नगर्दा, नयाँ पुस्तामा हस्तान्तरण नहुँदा त्यस्ता ज्ञान, सीप र कला लोप हुने अवस्थामा पुगेका स्थानीय बासिन्दा बताउँछ ।


    प्रकाशित : बुधबार, भाद्र १२ २०८१११:१४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार