२०८३, कार्तिक १५ गते आइतबार

खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी

खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी


  • मेरोभ्यूज
  • भाद्र ७, २०८१ शुक्रबार

  • खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी

    सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ ।

    थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ ।

    बाढीले खुम्बु पासाङल्हामु-५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्णरुपले क्षतिग्रस्त बनाएको छ ।

    खुम्बु पासाङल्हामु-३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेका छन् ।

    उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

    नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मी क्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ ।

    बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका-६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ । उक्त बाढी भोटेकोसी हुँदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य-खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ । बाढीले कोसी आसपासका क्षेत्र कटान गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पक्की मोटरेबल पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

    पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ ।

    प्रहरी नायब उपरीक्षक घिमिरेले भने, “बाढीले जिल्लाको तल्लो क्षेत्रमा पनि क्षति पु¥याएको खबर छ, सोताङ र थुलुङ दूधकोसी जोड्ने दिप्लीघाटस्थित दूधकोसी नदी छेउमा राखिएको बेलीबृजको सामान बगाएको छ, नदी आसपासका बस्तीमा पनि सामान्य क्षति पुगेको छ ।

    बाढी आउनुको कारण खुल्न सकेको छैन ।” खुम्बु क्षेत्रबाट उक्त बाढी हिमताल फुटेर आएको हुनसक्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताए ।

    कुन हिमताल फुट्यो भन्ने यकीन नभएको उनको भनाइ छ । बाढीले गाउँ नै बगाएको स्थानको स्थलगत निरीक्षणमा रक्षामन्त्री मानवीर राईसहित विपत् व्यवस्थापन समितिको टोली आउने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिए ।


    प्रकाशित : शुक्रबार, भाद्र ७ २०८१०९:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार