२०८३, कार्तिक १५ गते आइतबार

गर्पाछेडाको लोभलाग्दो सुन्दरता, पाहुनाका लागि ‘गोठ स्टे’

गर्पाछेडाको लोभलाग्दो सुन्दरता, पाहुनाका लागि ‘गोठ स्टे’


  • मेरोभ्यूज
  • भाद्र ७, २०८१ शुक्रबार

  • गर्पाछेडाको लोभलाग्दो सुन्दरता, पाहुनाका लागि ‘गोठ स्टे’

    म्याग्दी  । पहाडको टुप्पोमा भिरालो पाखा । जता हेरे पनि कार्पेट बिछ्याएझै देखिने हरियाली । पाखामा फुलेका रङ्गी बिरङ्गी फुल । तल हेर्दा देखिने हरियाली जङ्गल र फेदीको फाँट । वरपर देखिने थुम्का, थुम्की । चरनमा रमाइरहेका गाईभैँसी, भेँडाबाख्रा र घोडाका बथान । गाईबस्तुको घाँटीमा झुण्डीएका घाडो (घण्टी)को एकनाशको आवाज । शीतल हावापानी । एकान्त वातावरण । छिन छिनमा फेरिरहने मौसम । घाम, पानी र बादलको लुकामारी । बिहानीपख सुर्योदय, साँझमा सुयास्त, पृष्ठभूमिमा लहरै रहेका सिस्ने देखि मनास्लुसम्मका हिमालहरुको मनमोहक दृष्य । बादल हट्दा देखिने निलो आकाश ।

    समुन्द्री सतहदेखि चार हजार दस मिटरको उचाईमा रहेको पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछेडा पुग्दा कुनै चित्रकारले मेहनत गरेर बनाएको क्यानभास अवलोकन गरेझैँ आभास हुन्छ ।

    काठमाडौँका आशिस सिलवालले गर्पाछेडामा रहेका गोठालाहरुको जीवनशैली नियाल्दै प्रकृतिको सुन्दरतामा तीन दिन बिताए ।

    “लोप हुँदै गएको घुम्ति गोठ र पशुपालन गर्ने परम्परागत चलनको अध्ययन गर्ने अवसर पाइयो,” उनले भने “जता फर्केर हेरेपनि देखिने मनमोहक दृष्यले समय बितेको पत्तै भएन् ।”

    यहाँबाट सिस्ने, पुथा, गुर्जा, धौलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु हिमालको दृष्य अवलोकन गर्न सकिन्छ ।

    ढोरपाटन शिकार आरक्षको पहाडि भूगोलको मनमोहक दृष्यका साथै बुकीको चरनमा रमाइरहेका भेँडा, बाख्रा, घोडा, गाईभैँसीका बथानहरु थप आकर्षण हुन् ।

    शान्त वातावरण र चिसो हावापानीमा रमाउन पाइने गुल्मीको चन्द्रकोट गाउँपालिकाबाट आएका रमेश क्षेत्रीले सुनाए ।

    बादल, घाम र पानीको लुकामारीसँगै पाखाभरी रङ्गी बिरङ्गी फुलेका बुकीमा रमाउन पाउँदा उमङ्गको अनुभूति हुने उनले बताए ।

    ढोरपाटनको पाखाथरदेखि तीन घण्टा उकालो हिँडेपछि पुगिने गर्पाछेडा पूर्वी रुकुमको पुथा उत्तरगङ्गा गाउँपालिका र डोल्पाको सदुरमुकाम जाने परम्परागत पैदलमार्गमा पर्दछ ।

    किसानहरुले बर्खा याममा पोषिलो घाँस खुवाउन गर्पाछेडा, टिकडाँडा, रासवन, दहखर्कमा घरपालुवा पशुचौपायाको गोठ लगेका छन् ।

    पाहुनाका लागि ‘गोठ स्टे’ गर्पाछेडामा पुग्ने पाहुनाहरुका लागि ‘गोठ स्टे’ सञ्चालन गरिएको छ ।

    होटल र होम स्टे सञ्चालन गर्न सम्भव नभएको विकट ठाउँको गोठ स्टेले पर्यटकलाई सुविधाका साथै गोठालाहरुलाई अतिरिक्त आम्दानीको स्रोत बनेको छ ।

    ‘ब्लु सिप गोठ स्टे’का सञ्चालक सन्देश थापाले पाहुनाहरुलाई घुम्ती टहरा र गोठमा खाजा, खाना खुवाउने र बास बस्ने व्यवस्था मिलाएको बताए ।

    “नाउर र झारलको बथान अवलोकन गर्न सकिने भएकाले गर्पाछेडाको ‘गोठ स्टे’लाई ब्लु सिप नामाकरण गरिएको हो,” उनले भने “जङ्गली जनावर, पंक्षी, पहाडि भूगोल, वनजङ्गल, हिमाल, सूर्योदय र सूर्यास्तको मनमोहक दृष्यका साथै गोठालाहरुको जीवनशैली र दैनिकी अवलोकन गर्न पाउने यहाँको आकर्षण हो ।”

    गाईभैँसीको दूध, दहि, मोही, घ्यू, भेँडा, बाख्राको मासु, निगालोको टुसा, रातो च्याउको तरकारी, ढिँडो, आटो पकाएर पाहुनालाई खुवाउने गरेको थापाले बताए । छुट्टै बस्नेहरुका लागि टेन्ट पनि राखिएको छ ।

    बर्खामा बुकीमा गोठ लगेको समयमा मात्र त्यहाँ गोठ स्टे सञ्चालन हुन्छ । चिसो बढेपछि गोठ वेसीतर्फ झर्छन । प्रतिव्यक्ति रु दुई हजार शुल्कमा दुई छाक खाना, दुई छाक खाजा र सुत्न पाइन्छ ।

    शुक्रबार, शनिबार र बिदाका दिन १४/१५ जनासम्म पाहुना आउने गोठ स्टे अन्य दिन पनि खाली हुँदैन् । गोठ स्टेमा बीस जनाको क्षमता छ ।

    ढोरपाटन पर्यटन विकास संस्थाका सचिव जीवनकुमार पुनले गर्पाछेडामा खानेपानी, सार्वजनिक शौचालय र सञ्चार सुविधाका लागि स्थानीय तह, शिकार आरक्ष र प्रदेश सरकारसँग पहल गरिएको जानकारी दिए ।

    ढोरपाटन आउने पर्यटकको बसाँई लम्बाउने गर्पाछेडा, किटिनी डाँडा, जलजलालाई नयाँ गन्तव्यको रुपमा विकास गरेको उनले बताए ।


    प्रकाशित : शुक्रबार, भाद्र ७ २०८१०९:२८
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार