२०८३, कार्तिक १५ गते आइतबार

सर्लाहीको हरिपुर्वामा सबस्टेशन प्रसारणलाइन विस्तारमा अवरोध

सर्लाहीको हरिपुर्वामा सबस्टेशन प्रसारणलाइन विस्तारमा अवरोध


  • मेरोभ्यूज
  • भाद्र ६, २०८१ बिहीबार

  • सर्लाहीको हरिपुर्वामा सबस्टेशन प्रसारणलाइन विस्तारमा अवरोध

    सर्लाही । प्रसारणलाइन विस्तारमा अवरोध हुँदा सर्लाहीको हरिपुर्वालगायत क्षेत्रका स्थानीय अँध्यारोमा बस्न बाध्य छन् ।

    हरिपुर्वा नगरपालिका-२ स्थित सबस्टेशनसम्म ३३ केभिए प्रसारणलाइन जोड्न स्थानीयले अवरोध गरेपछि निर्माण सम्पन्न भइसकेको सबस्टेशन अलपत्र छ ।

    निर्माण भएको लामो समयसम्म पनि सञ्चालन नहुँदा बत्ती बाल्न समस्या भएको हरिपुर्वा नगरपालिका-६ का विजयप्रसाद साहले गुनासो गर ।

    प्राधिकरणले सबस्टेशनसम्म ३३ केभिए लाइन जोड्न विभिन्न रुट भएर पोल गाड्ने र तार तान्ने काम अधुरो रहेकोले समस्या भएको स्थानीय वडा नं ९ वसन्तपुर निवासी अवधेश साहको भनाइ छ ।

    स्थानीयले प्राधिकरणले पोलका गाड्न गलत रुट प्रयोग गरेका कारण अवरोध भएको बताएका छन् ।

    गाउँलाई क्षति नपुग्ने गरी विद्युतको तार विस्तार गर्न स्थानीयको माग छ ।

    सोही माग राखेर स्थानीयले पोल गाड्न नदिँदा यहाँ समस्या भएको हो ।

    हरिपुर्वा सबस्टेशनका प्रमुख जगदीश यादवले स्थानीयको मागलाई मध्यनजर गरी प्रसारण केन्द्रसम्म विद्युत् लैजान विभिन्न चार रुट प्रयोग गर्दा पनि स्थानीयले अवरोध गरेका बताए ।

     “हामीले स्थानीयको सहजताका लागि नै विद्युतीय प्रसारणलाइन विस्तार गर्न खोजेका हौँ तर यहाँ विभिन्न स्वार्थका कारण स्थानीयले नै अवरोध गरिरहेका छन्, जसले गर्दा सबस्टेशन सञ्चालनमा समस्या भएको छ”, उनले भने ।

    हरिपुर्वा, ईश्वरपुर नगरपालिका तथा पर्सा र ब्रह्मपुरी गाउँपालिकामा सेवा पुर्याउने उद्देश्यसहित दुई वर्षअघि नै सबस्टेशन निर्माण भएको थियो तर हालसम्म सञ्चालन हुनसकेको छैन ।

    प्रयोग नहुँदा सबस्टेशनमा प्रयोग भएका उपकरण तथा निर्माण भएको भौतिक संरचना जीर्ण हुँदै गएको छ ।

    यसरी निर्माण सम्पन्न संरचना अलपत्र पर्दा दोहोरो घाटा भएको छ ।

    एकातिर लगानी खेर गइरहेको छभने अर्कातर्फ स्थानीयले गुणस्तरहीन सेवा प्रयोग गरिरहेका छन् ।

    पछिल्लो समय राजनीतिक खिचातानीको सिकार भएका कारण सबस्टेशन सञ्चालन चुनौतीपूर्ण बनेको हरिपुर्वा नगरपालिकाका प्रमुख विनोदकुमार साहको भनाइ छ ।

    सबस्टेशन सञ्चालन गरी गुणस्तरीय विद्युत् सेवा प्रवाहका लागि पहल गरिरहेको उनले बताए ।

    हरिपुर्वा नगरपालिका-१ र ५ का स्थानीयले ३३ केभिए प्रसारणलाइनका लागि एक किलोमिटर विद्युत् पोल गाड्न अवरोध गरेपछि सबस्टेशन अलपत्र बनेको नेपाल विद्युत् प्रधिकरण वितरण केन्द्र मलङ्गवाका प्रमुख उमेशकुमार यादवले बताए ।

    उक्त सबस्टेशन निर्माणका लागि रु १९ करोड ६० लाख लागतमा आर्थिक वर्ष २०७३/७४ मा ठेक्का लागेको थियो ।

    ठेकेदार कम्पनीले सबस्टेशनका लागि आवश्यक भौतिक संरचना निर्माण सम्पन्न गरिसकेको छ ।

    हरिपुर्वा क्षेत्रमा लामो दूरी पार गराएर मलङ्गवा वितरण केन्द्रबाट विद्युत् आपूर्ति हुँदै आएको छ । यसरी आपूर्ति गर्दा अत्यधिक लोड हुने गरेको प्राधिकरण प्रमुख यादवले जानकारी दिए ।

     “लामो दूरी कमजोर लाइन विस्तार संरचनालगायतका कारण स्थानीयले उखरमाउलो गर्मीमा पङ्खा प्रयोग गर्न पाउँदैनन्”, उनले भने, “पटक-पटक लाइन गइरहने समस्या झेल्दै आउनु परेको छ ।”


    प्रकाशित : बिहीबार , भाद्र ६ २०८१११:०५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार