२०८३, कार्तिक १५ गते आइतबार

बागलुङ बजारमा लाखेनाचको रौनकता

बागलुङ बजारमा लाखेनाचको रौनकता


  • मेरोभ्यूज
  • भाद्र ३, २०८१ सोमबार

  • बागलुङ बजारमा लाखेनाचको रौनकता

    बागलुङ । बागलुङ बजारमा लाखेनाचको रौनकता छाएको छ । घण्टाकर्ण अर्थात गठेमङ्गलको भोलिपल्टबाट नाच्न थालिने लाखेनाच यहाँका नेवार समुदायको परम्परागत नाच हो । शाक्य कल्याण समाज बागलुङले लाखेनाच संरक्षणको अगुवाइ गर्दै आएकाे छ ।

    साउनको चतुर्दशीदेखि लाखे तीजसम्म नाचिन्छ । हिजोआज बजारको चोक तथा गल्लीमा लाखेनाचको रौनकता छाएको छ । झ्याली र बाजाको तालमा दुईवटा लाखे मुखुण्डो लगाएर रङ्गीविरङ्गी कपडासहित नाच्ने गर्छन् । लाखे नाच हेर्न गएका बालबालिकाले ‘चे लाखे भूत’ भन्दै जिस्काउँदा लाखेले दौडिएर लखेट्ने दृश्य रोचक देखिन्छ ।

    तीन सय वर्ष अघिदेखि राक्षसको रुपमा रहेको घण्टाकर्णलाई मारेपछि पुनःराक्षसको अवतार नदोहोरियोस् भन्न लाखे नाच्ने परम्परा रहेको शाक्य कल्याण समाज बागलुङका अध्यक्ष राजनकुमार शाक्यले बताए ।

    “तीन सय वर्ष पहिला काठमाडौँबाट व्यापार गर्न बागलुङ आएका नेवार समुदायले आफ्नो संस्कारका रुपमा लाखेनाच लिने गरेका छन्”, शाक्यले भने, “नेवार समुदायले लाखे संरक्षण गर्दै आएका छन्, गाईजात्राको दिनदेखि पुनः भदौरे नाच प्रदर्शन हुन्छ ।” एक महिना नाचिने लाखेमा लाखेको भूमिकामा नाच्ने कलाकार पाउन गाह्रो हुन थालेको छ । स्थानीय सरकारले लाखे र भदौरे नाच संरक्षणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

    लाखे र भदौरे नाचमध्येको एक जोगी नाच शाक्य कल्याण समाजले संरक्षण गर्दै आएकामा होवा नाच, रोपाइँ नाच, जोगी नाच र घोडा नाच नेवा: ल्याम पुचले गर्दै आएको मंका खल बागलुङका अध्यक्ष मुकेश राजभण्डारीले जानकारी दिए ।

    खर्चिलो भएकै कारण नागनागिनी र थेत्तर नाच लोप भइसकेको स्थानीय बताउँछन् । बास्सा नाचसमेत लोप हुने अवस्थामा पुगेको अध्यक्ष राजभण्डारी बताए ।

    बागलुङ नगरपालिकाले यहाँको नेवार समुदायमा रहेको हनुमान नाच जोगाउन नीति तथा कार्यक्रममा समावेश गरिएको जनाएको छ । आगामी दिनमा लाखे र भदौरे नाच संरक्षण गर्न नगरपालिकाले अग्रसरता देखाउने नगर उपप्रमुख राजु खड्काले जानकारी दिए ।


    प्रकाशित : सोमबार, भाद्र ३ २०८१०९:४९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार