२०८३, कार्तिक १५ गते आइतबार

रात परेपछि विद्यालयकाे वास खाेज्न बाध्य जाेगबुढाका बाढी पीडित

रात परेपछि विद्यालयकाे वास खाेज्न बाध्य जाेगबुढाका बाढी पीडित


  • मेरोभ्यूज
  • भाद्र ३, २०८१ सोमबार

  • रात परेपछि विद्यालयकाे वास खाेज्न बाध्य जाेगबुढाका  बाढी पीडित

    कञ्चनपुर  । नजिकै जोगबुढा नदी बगिरहेको छ । खेती गरेको जमिन पूरै जलमग्न छ, कतै नदीको बाढी पसेर जमिन कटान गरेको छ । दोधारा-चाँदनी नगरपालिका-३ पटराखल्लाका स्थानीय कतिबेला विपद् आइपर्ने हो भनेर अझै त्रासमै छन् । थोरै पानी पर्दा पनि घर छोडेर विद्यालयमा आश्रय लिन जानुपर्ने बाध्यता कायमै छ ।

    “मौसम राम्रो भएको बेला बस्तीमै बस्छौँ तर आकाशमा बादल लाग्ने बित्तिकै डरले घरमा बस्न सकिँदैन”, पटराखल्लाकी मिना सुनारले भनिन्, “बस्तीमा कतिबेला बाढी पसेर के हुन्छ ? भन्ने डर लाग्छ । त्यसैले लालाबाला बोकेर विद्यालयमा रात कटाउँछौँ ।”

    असार तेस्रो साता गएको बाढीले त्रसित यहाँका स्थानीय अझै सामान्य अवस्थामा फर्कन सकेका छैनन् । दिनभर बस्तीमा काम गर्ने गरे पनि रात बिताउन विद्यालयमा जाने गरेको स्थानीय सपना सुनार बताउँछन् ।

    “दिनभरी बस्तीमै काम गरे पनि बेलुका रात कटाउन विद्यालयमा जान्छौँ । फेरि बिहान घर फर्किन्छौँ । असार तेस्रो साता आएको बाढीपछि हाम्रो दिनचर्या यसरी नै चलिरहेको छ ”, उनी भन्छिन् । बस्ती नजिकै जमुना आधारभूत विद्यालय छ । यहाँ वृद्धवृद्धा, बालबालिका, सुत्केरी, गर्भवती महिला राती बास बस्ने गरेका छन् ।

    “जोगबुढा नदी बस्ती पस्दा बास उठ्यो । घर भताभुङ्ग हुनुका साथै भित्रका अन्नपात, लत्ताकपडा सबै बगायो”, स्थानीय रामु मगरले भने, “होचो भू-भाग हुँदा अझै पानी जमेकै छ । खै!  कहिलेसम्म यस्तो हुने हो ?”  उनका अनुसार थोरै वर्षा हुँदा पनि बस्ती डुबानमा पर्ने गरेको छ ।

    यहाँका स्थानीयले विगतदेखि नै सुरक्षित आवासको व्यवस्थापन गरिनुपर्ने माग गर्दै आएका छन् । जोगबुढा नदीमा पक्की तटबन्ध निर्माणका लागि बारम्बार माग गरे पनि सुनुवाइ नभएको स्थानीय मंगल सुनारले गुनासो गरे ।

    “पक्की तटबन्ध निर्माण भए जोगबुढाको कटान र बाढी रोकिन्थ्यो । पक्की तटबन्ध निर्माण नहुँदा थोरै पानी पर्दा पनि डराइडराइ बस्नुपरेको छ”, उनले भने, “कि तटबन्ध गर्नुपर्यो कि त सुरक्षित आवासको  व्यवस्था गरिदिए हुन्थ्यो तर कसले सुन्ने हाम्रा कुरा !” विसं २०२१ देखि बसोबास सुरू भएको यस बस्तीमा हाल ३६ परिवार छन् । हरेक वर्षायाममा यी परिवारले त्रास मै बस्नु परिरहेको छ ।


    प्रकाशित : सोमबार, भाद्र ३ २०८११२:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार