२०८३, कार्तिक १५ गते आइतबार

कैलालीका नदीमा पुगे डल्फिन

कैलालीका नदीमा पुगे डल्फिन


  • मेरोभ्यूज
  • भाद्र ३, २०८१ सोमबार

  • कैलालीका नदीमा पुगे डल्फिन

    कैलाली  । कैलालीका नदीमा पानीको सतह बढेपछि डल्फिन देखिन थालेका छन् । जिल्लाको टीकापुर नगरपालिका-६, ७, ८ र भजनी नगरपालिका-३, ५, ७, ८ का नदि तटिय क्षेत्रमा डल्फिन देखिन थालेका डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले जानकारी दिए ।

    सचिव श्रेष्ठका अनुसार उक्त पालिकामा पर्ने मोहना, पथरैया, काँडा र कान्द्रालगायत कर्णालीका सहायक नदीमा डल्फिन देखिन थालेका हुन् । यहाँ वयस्क, माउ डल्फिनसँगै बच्चा पनि देखिन थालेका छन् ।

    “भारत तथा नेपालका विभिन्न नदी क्षेत्रमा बस्ने डल्फिन कर्णालीका सहायक नदीमा मनसुन अवधिभर बस्ने गर्छन् । यसरी तीन महिनाभन्दा बढि समयसम्म डल्फिन यहाँ बस्ने गर्छन् । मनसुन बाहिरिएसँगै डल्फिन पनि कर्णाली नदीमा नै फर्कने गरेका छन्”, सचिव श्रेष्ठले भने ।

    यी नदी क्षेत्रमा डल्फिनको मुख्य आहारा माछा, घोँगीका साथै लेऊ प्रशस्त पाइने भएकाले पनि हरेक वर्षायाममा डल्फिन यहाँ आउने गरेको जानकारहरू बताउँछन् । स्वच्छ जल, प्रशस्त आहारा र धेरै दोभान भएकाले यी क्षेत्रमा डल्फिन आउने गरेका सचिव श्रेष्ठ बताउँछ । यहाँ ‘प्लानिभेष्टा ग्याँगेटिक’ जातको डल्फिन पाइन्छ ।

    यो जातको डल्फिन नेपालका साथै भारत, पाकिस्तान र बङ्गलादेशमा मात्रै पाइने गरेको जानकारहरू बताउँछन् । डल्फिन देखिन थालेसँगै पर्यटकहरू अवलोकनका लागि दिनहुँजसो यस क्षेत्रमा पुग्न थालेका छन् । संरक्षणकर्मी भोजराज ढुङ्गाना हरेक वर्षायाममा डल्फिनको आगमन भएसँगै पर्यटकको चहलपहल बढ्ने गरेको बताउँछन् ।

    संरक्षणकर्मी ढुङ्गानाका अनुसार डल्फिन अवलोकनका लागि आन्तरिकसँगै भारत, चीन, थाइल्यान्ड, जापान, अमेरिकालगायत तेस्रो मुलुकका नागरिकसमेत यहाँ आउने गरेका छन् । पर्यापर्यटनका दृष्टिकोणले महत्वपूर्ण मानिएको यस क्षेत्रमा डल्फिन संरक्षणका लागि विभिन्न काम भइरहेका छन् ।

    विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ), सयुंक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी), तराई भूपरिधि कार्यक्रम ताल, विश्व संरक्षण सङ्घ, राष्ट्रिय प्रकृति संरक्षण कोष, डिभिजन वन कार्यालय पहलमानपुरले संरक्षणका काम गरिरहेका छन् ।

    साथै टिकापुर र भजनी नगरपालिका तथा जानकी गाउँपालिकाले समेत संरक्षणका क्षेत्रमा काम गरिरहेका छन् । यहाँ चारपटक डल्फिन महोत्सवसमेत आयोजना भइसकेको छ ।

    डल्फिनसँगै अन्य जीवजन्तु तथा चराचुरुङ्गीको अध्ययन, अनुसन्धानलाई जोड्न सकेमा पर्यापर्यटनका लागि अझ राम्रो हुने डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख रामविचारी ठाकुर बताउँछ । यसका लागि डिभिजन वन कार्यालयले पनि संरक्षणका कार्यक्रम गरिरहेको उनले जानकारी दिए ।

    सुदूरपश्चिम प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाइले पनि यस क्षेत्रमा विकासका लागि कार्यक्रम गर्ने जनाएको छ । अवलोकन गर्न आउने पर्यटकका लागि आवासीय घर, होमस्टे सञ्चालनका लागि आवश्यक काम गर्ने तयारी भएको इकाइका निमित्त प्रमुख डबल बोहराले जानकारी दिए ।

    कर्णालीमा विसं २०५४ मा पहिलोपटक डल्फिन देखिएको थियो । स्थानीय भोजराज श्रेष्ठ (गुलेली बाजे) ले पहिलोपटक डल्फिन देखेपछि उनले नै यसको प्रचार-प्रसार गरेको थियो । डल्फिन संरक्षक श्रेष्ठले आफूले यहाँ पहिलोपटक डल्फिन देखेपछि प्रचार-प्रसार तथा संरक्षणका लागि जुटेको स्मरण गरे ।

    “सुरूमा डल्फिन देखिएपछि प्रचार-प्रसार र संरक्षणका लागि पहल गरियो तर चुनौती धेरै थिए । विस्तारै यसको महत्वका बारेमा जानकारी दिएपछि स्थानीय नै संरक्षण अभियानमा जुटे । अहिले सबैजसो संरक्षणमा जागरुक भएका छन्”, उनले भने ।

    प्रायः मनसुनको समयमा मात्रै देखिने डल्फिन गएको डिसेम्बर २२ मा पनि यहाँ देखिएका थिए । रानी जमरा कुलरीया सिँचाइ आयोजनाको पानी पथरैया नदिमा मिसाउँदा हिउँदमै डल्फिन देखिएको सचिव श्रेष्ठले बताए ।

    “हिउँदमा हुने पानीमा थप चार फिट पानी बढाउन सके डल्फिन हेर्न वर्षायाम पर्खिनु पर्दैन भन्ने पुष्टि भइसकेको छ । योजनावद्धरूपमा केही काम गर्न सके यहाँको पर्यटन विकासमा थप टेवा पुग्ने सम्भावना छ”, श्रेष्ठले भने । यसका लागि डल्फिन संरक्षण गर्ने भन्दै सरकारले बनाएको कार्ययोजना कार्यान्वयन गर्नुपर्ने उनको भनाइ छ ।


    प्रकाशित : सोमबार, भाद्र ३ २०८११२:०५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार