२०८३, कार्तिक १५ गते आइतबार

युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु

युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु


  • मेरोभ्यूज
  • भाद्र २, २०८१ आइतबार

  • युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु

    भोजपुर । स्थानीय संस्कृति संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण गर्ने उद्देश्यले भोजपुरका युवाको सक्रियतामा परम्परागत लाखे नाच सुरु भएको छ । रीतिरिवाज, भोषभूषा र संस्कृति जोगाउन युवाको सक्रियता बढेको हो ।

    नेवार समुदायको मात्र लाखे नाच भन्ने परम्परा तोड्दै अहिले सबै समुदायको सहभागितामा भोजपुरमा परम्परागत जोगाउने अभियान सुरु गरिएको युवा नविन बुढाथोकीले बताए । नागपञ्चमीका दिनदेखि सुरु हुने लाखे नाच जिल्लामा पनि विधिवत्रुपमा सुरु भएको उनकाे भनाइ छ ।

    यसअघि नेवारी समुदायको बसोबास रहेको क्षेत्रमा यो नाच निकाल्ने गरिएकोमा पछिल्लो समय परम्परा जोगाउने उद्देश्यले सामूहिक सहभागितालाई जोड दिन थालिएको बुढाथोकीले बताए ।

    प्रत्येक वर्ष निकालिने लाखे नाच यस वर्ष  पनि सुरु भएको स्थानीय विकल श्रेष्ठले बताए । स्थानीय श्रेष्ठले भने, “विगतको परम्परागत संस्कृतिलाई निरन्तरता दिने काम युवाले गर्नुपर्छ, यसले पुस्तान्तरण हुनुका साथै परम्पराको संरक्षण र प्रवर्द्धनसमेत हुन्छ ।”

    केही ठाउँमा गठेमङ्गलदेखि नाच सुरु हुने गरेको भन्दै भोजपुरमा नागपञ्चमीदेखि नचाउने प्रचलन रहेको अभियन्ता विनम श्रेष्ठले बताए । स्थानीय युवाको पहलमा परम्परादेखि चल्दै आएको संस्कृतिको संरक्षण र प्रवर्द्धनमा लागिएको उनले उल्लेख गरे ।

    जिल्लाका स्थानीय मठमन्दिरको पूजाअर्चना गरी लाखे नाच सुरु गरिएको श्रेष्ठले जानकारी दिए । लाखे नाचमा विभिन्न नाम दिइएका जात्रामा ढोल, झ्याम्टा बजाउँदै, ठाकठुके नाच, रोपाइँ नाच, विभिन्न हास्य व्यङ्गयात्मक कार्यक्रम, जातीय संस्कृति र परम्परा अनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गर्ने चलन रहँदै आएको छ ।

    परम्परादेखि चल्दै आएको संस्कृतिको जगेर्ना गर्नका लागि युवालाई प्रशिक्षणसमेत गर्ने गरिएको छ ।

    बाजाको ताल, गीतको सुर, नृत्य ताललगायत विषयमा युवालाई प्रशिक्षण दिने गरिएको स्थानीय बताउँछन् । नेपाली कला, संस्कृति, पराम्पराको संरक्षण गर्दै लाखे नाच प्रवर्द्धनमा सबै जुटनु पर्ने स्थानीयको माग छ ।

    जिल्लाको भोजपुर नगरपालिकाभित्र, बजारका साथै पानी ट्याङ्की, टक्सार, डाँडागाउँ, बोखिम दाँवालगायत क्षेत्रमा लाखे नाच नचाउने गरिन्छ । जिल्लाको पूर्वीअरुण गाउँपालिका, षडानन्द नगरपालिका क्षेत्रका विभिन्न वडामा समेत लाखे नाच नचाउने परम्परा रहँदै आएको छ ।

    नागपञ्चमीका दिनदेखि सुरु भएको लाखे नाच कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कङ्सलाई नाश गरेको दिनसम्म नचाउने प्रचालन रहँदै आएको स्थानीय नवीन प्रधानले बताए ।परम्परा बोकेको लाखे नाच नयाँ पुस्तालाई हस्तान्तरण गर्न युवाले ‘भोजपुर लाखे समाज’ बनाएर अग्रसरता लिएका छन् ।


    प्रकाशित : आइतबार, भाद्र २ २०८१११:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार