२०८३, कार्तिक १५ गते आइतबार

राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थपन प्राधिकरणकाे निष्कर्ष
‘दुई हिमताल विस्फाेट हुँदा साेलुखुम्बुकाे थामेखोलामा भीषण बाढी’

‘दुई हिमताल विस्फाेट हुँदा साेलुखुम्बुकाे थामेखोलामा भीषण बाढी’


  • मेरोभ्यूज
  • भाद्र १, २०८१ शनिबार

  • ‘दुई हिमताल विस्फाेट हुँदा साेलुखुम्बुकाे थामेखोलामा भीषण बाढी’

    काठमाडाैं । राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थपन प्राधिकरणले दुई वटा हिमताल एकसाथ विस्फाेट हुँदा सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेखोलामा  गेग्य्रान र ठूला ढुङ्गासहितको भीषण बाढी आएकाे निष्कर्ष निकालेकाे छ । 

    स्थानीय थामे बजारबाट करिब नाै किलाेमिटर माथि रहेका ती हिमताल गत साउन ३२ गते अपराह्न १ः३० बजेकाे समयमा विस्फाेट भएका थिए । रक्षामन्त्री मानवीर राई, साेलुखुम्बुका सांसद् र प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत र गृहमन्त्रालयका उच्चअधिकारी सम्मिलित टाेलीले आज घटनास्थलदेखि हिमतालसम्मकाे अवलाेकन गरेकाे थियाे । 

    Solu Flood2.jpg

    बामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा रहेका पाँचवटा हिमतालमध्ये सबैभन्दा माथि रहेको ताल फुटेर पानी तल रहेको अर्को तालमा खसेको र उक्त ताल पनि फुट्‌दा श्रृंखलाबद्ध प्रभाव परेको प्राधिकरणले जनाएकाे छ । 

    जल तथा मौमस विज्ञान विभागका अनुसार उक्त क्षेत्रनजिक रहेको फोर्से केन्द्रमा विगत सात दिनमा कुल ६५ मिमी वर्षा मापन भएको छ । साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा कमिक वृद्धि भई ९.७ बाट ११.० डिग्री सेल्सियस पुगेको र साउन ३१ गतेको अधिकतम तापक्रम १५.९ डिग्री सेल्सियस पुगेको थियो।

    जलवायु परिवर्तनको प्रभावसमेत जोडिई भएको तापक्रम वृद्धि, बढ्‌दो वर्षा, पर्माफ्रोष्ट र हिमनदी पग्लँदा थामे खोलाको जलाधारका हिमताल विष्फोट भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पाेखरेल बताउँछन् ।

    थामे बजारमाथिका दुईवटा हिमताल बिस्फोट भई बाढीका कारण भएको ठूलो भौतिक क्षति, पर्यटकीय र रमणीय थामे बजार बगरमा परिणत हुने घटनाले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा संकट उत्पन्न भई क्षति तथा नोक्सानी बढिरहेको नै प्रमाणित हुने उनकाे भनाइ छ ।

    प्रमुख कार्यकारी अधिकृत पाेखरेलले जोखिमपूर्ण हिमतालको जोखिम अनुगमन, पूर्वचेतावनी प्रणालीको जडान एवं जोखिम न्यूनीकरणका उपायह कार्यान्वयनको आवश्यकता देखिएकाले प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्राविधिक एवं विज्ञहरु सम्मिलित टोलीद्वारा तत्कालै आवश्यक कार्य अगाडि बढाइने बताए । 

    NDRRMA_Press Note on Thame GLOF_2081-05-01.jpg

    सोलुखुम्बुका प्रजिअ देवी पाण्डे (खत्री)ले थामे क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताउँछिन् ।  शुक्रबार दुईवटा हिमताल फुट्दा बाढी आएको पुष्टि गर्दै उनले सो क्षेत्रमा बाढीको जोखिम अझै रहेको बताइन् ।

    “आज क्षतिग्रस्त थामे क्षेत्रको रक्षामन्त्री मानवीर राई र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत पोखरेलसहितको टोलीले हवाई निरीक्षण गरेकाे छ”, उनले भनिन्, “निरीक्षणपछि हिजो दुईवटा हिमताल फुटेकाले बाढी आएको पुष्टि भएको छ, सो क्षेत्रमा बाढीको जोखिम कायमै छ ।”

    Solu Flood9.jpg

    जोखिममा रहेका भनिएका हिमताल जोगाउन सक्ने सम्भावना कम रहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । “थामेभन्दा माथिपट्टि पाँचवटा हिमताल रहेछन्, शुक्रबार दुईवटा विस्फोटपछि बाढी आएको पुष्टि भयो”, उनले भनिन् “बाँकी तीनमध्ये एउटा सुरक्षित रहेको र दुईवटा जोखिम रहेको जानकारी प्राप्त भएको छ ।”

    खुम्बुसहित तल्लो सोलुमा बाढीको उच्च जोखिम रहेकाले सो क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको प्रजिअ पाण्डेकाे भनाइ छ ।

    जलवायु जानकार राजन थापा हिमाली क्षेत्रमा तापक्रम अस्वाभाविक रूपमा बढ्दै जाँदा हिमतालहरू जोखिममा रहेको बताउँछन् । उनी भन्छन्, “थामेमा मात्र होइन तापक्रम बढ्दै जाँदा सगरमाथा क्षेत्रका अन्य हिमताल पनि जोखिममा छन्, हिमालमा हिउँ पग्लिने क्रम बढेको छ, यसले हिमाली बस्तीलाई जोखिममा पारेको छ ।”

    बाढीपीडितलाई राहत

    बाढीपीडित खुम्बु पासाङल्हामु गाउँपालिका–३ थामेवासीलाई सङ्घ र स्थानीय सरकारले नगदसहित राहत प्रदान गरेका छन् । आज बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाको हेलिकप्टरमार्फत पुगेका रक्षामन्त्री राई नेतृत्वको राहत प्रदान गरेको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन् ।

    Solu Flood7.jpg

    प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला दैविक प्रकोप उद्धार कोषबाट १३ घर परिवारलाई प्रतिपरिवार नगद रु १५ हजार र तीन–तीन थान त्रिपाल वितरण गरिएको छ । स्थानीय सरकारका तर्फबाट १५ परिवारलाई रु ५० हजारका दरले वितरण गरिएको छ ।

    पूर्ण क्षतिग्रस्त २० घरपरिवारमध्ये सबै घरका बासिन्दा त्यहाँ नरहेको बताइएको छ । प्रजिअ पाण्डेले लत्ताकपडाका लागि प्रदेश सरकार र खाद्यान्नका लागि खाद्य व्यवस्था विभागलाई पत्राचार गरिएको बताइन् ।

    नेपाली सेना सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार नेपाली सेनाले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा आज प्रभावित स्थानबाट सातजनाको सकुशल उद्धार गरेको छ । प्रभावित इलाकामा अस्थायी पुल निर्माण गरी उनीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको जनाइएको छ ।

    बाढीका कारण अवरुद्ध खुम्बु बिजुली कम्पनीको पावरहाउस, खानेपानी लाइन, बाटो, विद्यालय मर्मत तथा घरमा भएका सामग्री सुरक्षित स्थानमा स्थानान्तरण जारी रहेको सेनाले जनाएको छ । बाढीका कारण पुलमा क्षति हुँदा तल्लो सोलु र खुम्बुको सिधा सडक सञ्जाल टुटेको छ ।

    Solu Flood10.jpg

    साथै बाढी भोटेकोशी हुँदै दूधकोशीमा मिसिँदा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोशी गाउँपालिकाको सिमानामा पर्ने मितेरी पुलमा पनि क्षति पुगेको जनाइएको छ । बाढीले पक्की मोटरेबल पुलको एकतर्फको भाग कटान भएको छ । जसका कारण सल्लेरीबाट खुम्बु जोड्ने एकमात्र सडक सञ्जाल टुटेको स्थानीयले बताएका छन् ।

    बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका-३ फाक्दिङदेखि नाम्चे जाने पदमार्ग कटान गर्दा तल्लो क्षेत्रबाट सगरमाथा क्षेत्रमा आवातजावत टुटेको सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चेका अध्यक्ष लामाकाजी शेर्पाले बताए । आवतजावत विच्छेद भएपछि माथिल्लो खुम्बुको जनजीवन प्रभावित बनेको उनकाे भनाइ छ ।

    अध्यक्ष शेर्पाले भने, “खुम्बु यतिबेला अस्तव्यस्त छ, बत्ती नहुँदा सञ्चार सेवा अवरुद्ध भएको छ भने हिमताल फुट्ने खतरा उत्तिकै छ ।”


    प्रकाशित : शनिबार, भाद्र १ २०८१०८:५६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार