२०८३, कार्तिक १५ गते आइतबार

सुस्तामा झोलुङ्गे पुल बनेपिछ पर्यटकीय गतिविधि बढ्याे

सुस्तामा झोलुङ्गे पुल बनेपिछ पर्यटकीय गतिविधि बढ्याे


  • मेरोभ्यूज
  • श्रावण २७, २०८१ आइतबार

  • सुस्तामा झोलुङ्गे पुल बनेपिछ पर्यटकीय गतिविधि बढ्याे

    नवलपरासी । बर्दघाट‐सुस्ता-पश्चिम स्थित नारायणी नदीमा सुस्ता जोड्ने गरी झोलुङ्गे पुल निर्माण भएको छ । सुस्ता गाउँपालिका‐५ पक्लिहवास्थित नारायणी नदीमाथि निर्माण गरिएको पुलको निर्माणसँगै यहाँ आन्तरिक पर्यटकीय गतिविधि बढ्न थालेका छन् ।

    सस्पेन्सन ब्रिज डिभिजन कार्यालयका इञ्जिनियर प्रवेत रेग्मीले पुलको भौतिक काम सम्पन्न भए पनि औपचारिकरूपमा उद्घाटन नहुँदै त्यहाँ पुल हेर्न आउनेहरूको घुइँचो लाग्ने गरेको बताए । उनका अनुसार रु २३ करोड ६५ लाख ९८ हजार आठ सयको लागतमा निर्माण भएको पुल एक हजार पाँच सय ७१ मिटर लामो र एक मिटर ६० सेन्टिमिटर चौडा छ ।

    सुस्ता‐५ का वडाध्यक्ष प्रभु यादवले पुल निर्माणपछि यहाँका स्थानीय उत्साहित भएको बताए । “पुल निर्माणपछि हामी सबै उत्साहित छौँ । हाल स्थानीयसँगै छिमेकी जिल्ला र सीमावर्ती भारतीय क्षेत्रका नागरिक पनि पुलको अवलोकनका लागि आउने गरेका छन् । अहिले त यहाँ मेलाजस्तै भिडभाड हुने गरेको छ”, उनले भने, “पुल निर्माणपछि आवत-जावतमा मात्रै होइन पर्यटकीय गतिविधि बढ्न गई आर्थिकरूपमा लाभ पुग्ने अपेक्षा गरेका छौँ ।”

    यो पुल देशमै लामो भनेर प्रचार-प्रसार भएपछि पनि धेरैको आकर्षण बढेको हो । यसअघि मधेस प्रदेशको सिराहा नगरपालिका-१३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका-६ कठाल, धनुषा जोड्ने गरी निर्माण गरिएको कठाल-मल्हनिया-मल्टिस्पान झोलुङ्गे पुल नेपालकै सबैभन्दा लामो भनिएको थियो । उक्त पुलको लम्बाइ एक हजार पाँच सय दशमलव ४४ मिटर छ ।

    पाल्हीनन्दन‐४ निवासी सन्दीप धवल नेपालकै लामो झोलुङ्गे पुल बनेपछि पर्यटकीय गन्तव्य बन्ने भन्दै आफूहरू उत्साहित बनेको बताउँछन् । “सुस्ता भनेपछि सधैँ दुःखका कुरा मात्रै हुन्थे । अब पुल बनेपछि नारायणी नदीको अवरोध छिचोल्न सहज भएको छ । हालको जस्तै आन्तरिक पर्यटकको आकर्षण कायम रहे यस क्षेत्रका जनताको आर्थिक विकासमा टेवा पुग्नेछ”, उनले आशा व्यक्त गरे ।

    हाल दिनहुँ यहाँ सयौँ मानिसको घुइँचो लाग्ने गरेको छ । पुल अवलोकनका लागि आउने युवा, युवतीले तस्बिर खिचाउँदै गरेको दृश्यले मनै लोभ्याउने गरेको स्थानीय धवलले बताए ।


    प्रकाशित : आइतबार, श्रावण २७ २०८१११:२४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार