२०८३, कार्तिक १५ गते आइतबार

राजनीतिकर्मीको कृषि मोह: तीन सय रोपनीमा किबी र लोठ सल्लाखेती

राजनीतिकर्मीको कृषि मोह: तीन सय रोपनीमा किबी र लोठ सल्लाखेती


  • मेरोभ्यूज
  • श्रावण २७, २०८१ आइतबार

  • राजनीतिकर्मीको कृषि मोह: तीन सय रोपनीमा किबी र लोठ सल्लाखेती

    झापा । कृषि क्षेत्रमा भविष्य देखेका सातजना युवाको समूह यतिबेला किबी र लोठ सल्ला (टेक्सस मेरिइ)को खेतीमा रमाएका छन् । सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका-२ मा तीन सय रोपनी जग्गामा उनीहरूले किबी र लोठ सल्लाको खेती गरिरहेका हुन् ।

    तीन सय रोपनीमध्ये एक सय ५० रोपनीमा किबी र एक सय ५० रोपनीमा लोठ सल्ला लगाइएको छ । कृषि क्षेत्रमा भविष्य देखेपछि सिपी कडरिया, तेजमणि प्रसाईं, कमलप्रसाद कडरिया, दुष्यन्त भट्टराई, श्रीप्रसाद सिटौला, ईश्वरीप्रसाद तिवारी र झलकबहादुर राईले इलामको सन्दकपुरमा किबी र लोठ सल्लाखेती गर्ने योजना बनाएका हुन् ।

    बेरोजगारी घटाउन, राजनीति कर्मीलाई उत्पादनसँग जोड्न र मुलुकमा प्रविधि भित्र्याउने उद्देश्यले कृषि कर्ममा लागेको कम्पनीका अध्यक्ष सिपी कडरिया बताउँछन् ।  राजनीतिकर्मी कडरिया भन्छन्, “राजनीति कर्मी उत्पादनसँग जोडिन जरुरी छ, नत्र भ्रष्टाचार अझै मौलाउँछ ।”

    कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा ठूलो २४ प्रतिशत हिस्सा कृषिको छ । सरकारले पनि दिगो विकासको लक्ष्य हासिल गर्न कृषिलाई मुख्य आधार मानेको उनले बताए । “हामी कृषिप्रधान मुलुक भन्छौं, तर जुनसुकै कुरामा पनि आयातमुखी बनेका छौं ।” आयात प्रतिस्थापन गर्न र निर्यात बढाउन पनि कृषि क्षेत्रमा लगानी गरिएको अध्यक्ष कडरियाले बताए ।

    विसं २०७२ मा सुरु गरिएको किबी र लोठ सल्लामा हालसम्म रु तीन करोड ५० लाख लगानी भइसकेको छ । किबी फलफूलका रूपमा प्रयोग हुने र लोठ सल्ला क्यान्सर रोगको उपचारका लागि औषधि बनाउन प्रयोग हुने भएकाले बजार र माग राम्रो भएको उनले बताए ।

    “गत वर्षदेखि किबी उत्पादन सुरु भएको छ, यो वर्षदेखि हामी लगानी बन्द गर्छौं”, उनले भने, “अर्को वर्षदेखि नाफा हुने अपेक्षा छ ।” एउटा किबीको बोटले तीन वर्षपछि उत्पादन दिने उनको भनाइ छ । एउटा बोटबाट वार्षिक ३५ देखि ५० वर्षसम्म उत्पादन लिन सकिन्छ भने वार्षिक ५० केजी उत्पादन हुने कडरियाले बताए ।

    एउटा बोटमा वार्षिक रु पाँचदेखि छ सय लगानी हुने जनाइएको छ । गत वर्ष साविक मेची अञ्चलमा मात्र सात लाख केजी किबी उत्पादन भएको कडरिया बताउँछन् । “इलाममा मात्र डेढ लाख के.जी. उत्पादन भएको तथ्याङ्क छ”, उनले भने, “उत्पादन अझै बढ्दै जाने देखिन्छ ।” नेपाली किसानले किबी उत्पादन गरे पनि भण्डारणमा समस्या हुँदा सस्तोमा बेच्नु परेको उनको अनुभव छ ।

    उत्पादनस्थलबाट बजारसम्म पुर्याउन ‘कुलिङ चेन’ जरुरी हुने उनले बताए । “भण्डारणका लागि उचित व्यवस्था नहुँदा किसानले उत्पादन गरेको किबी चाँडै बिग्रिने समस्या देखिएको छ”, उनले जानकारी दिए । “यसले गर्दा किसानले मूल्य पाएका छैनन्, बजार पनि खस्किएको छ ।”

    बेमौसममा नेपालमा न्यूजरल्याण्डबाट किबी आयात हुने गरेको कडरिया बताउँछन् । विश्वमा सबैभन्दा धेरै न्यूजील्याण्ड र चीनमा उत्पादन हुने किबीले ओगटेको उनको भनाइ छ । “यहाँ उत्पादन हुने किबीको स्वाद राम्रो छ”, उनले भने, “किबी उत्पादन गरेर विश्व बजारमा पुर्याउने सोचका साथ विभिन्न एजेन्सीसँग कुरा गरिरहेका छौँ ।” किसानको उत्पादनलाई सुरक्षित गर्न सरकारले उपयुक्त शीतभण्डारगृह निर्माणमा जोड दिनुपर्ने कडरियाले बताए ।

    “राज्यले आयात प्रतिस्थापन गर्ने हो भने कृषि क्षेत्रमा विशेष लगानी गर्न जरुरी छ”, उनले भने, “वास्तविक किसानले राज्यले दिने सुविधाको उपयोग गर्न पाएका छैनन् ।” किबी उत्पादनका लागि भाले र पोथी बिरुवा आवश्यक पर्छ । जसका लागि परागसेचनको महत्त्वपूर्ण भूमिका हुन्छ ।

    हावा र माहुरीको भरमा परागसेचन हुँदा किबी खेतीमा चुनौती देखिएको व्यवसायी कडरियाले बताए । परागसेचनका लागि चीन र न्यूजरल्याण्डले अपनाएको प्रविधि स्वदेशमा ल्याउन जरुरी छ ।


    प्रकाशित : आइतबार, श्रावण २७ २०८१११:२१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार