२०८३, कार्तिक १५ गते आइतबार

सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण

सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण


  • मेरोभ्यूज
  • श्रावण २७, २०८१ आइतबार

  • सहकारीमार्फत आलु चिप्स, गुन्द्रुक र सिस्नोको धुलो बजारीकरण

    बागलुङ । उच्च भागमा पाइने स्वादिष्ट आलु, सिस्नो र जङ्गलमा पाइने बाँकोलाई ब्रान्डिङ गर्न थालिएको छ । यहाँको जैमिनी नगरपालिका-३ उपल्लो दमेकको एक महिला सहकारीले आलुको चिप्स, गुन्द्रुक र सिस्नोको धुलो उत्पादन गरेर बजारीकरण गर्न थालेको हो ।

    जङ्गलमा खेर गइरहेको बाँकोलाई गुन्द्रुक बनाउने र सिस्नोलाई धुलो बनाएर बजार पठाउने रुद्रतालल सामाजिक महिला उद्यम सहकारी संस्थाले हालै आलु चिप्स बनाउने, लेबलिङ र प्याकेजिङ गर्ने आधुनिक उपकरण भित्र्याएको छ ।

    एक वर्षदेखि परम्परागत तरिकाले आलु चिप्स, बाँकोको गुन्द्रकु र सिस्नोको पाउडर बनाउँदै आएको उक्त संस्थाले 'गाजा दह आलु चिप्स तथा सिस्नो पाउडर कम्पनी' दर्ता गरेर अर्गानिक उपजको बजारीकरण थालिएको सहकारी संस्थाका अध्यक्ष चित्रा छन्त्यालले जानकारी दिइन् ।

    “गाउँ तथा जङ्गलमा खेर गइरहेको सिस्नो र बाँकोलाई ब्रान्ड बनाएर बजारमा पुर्‍याउने हाम्रो लक्ष्य थियो, अहिले सानो परिमाणमा बजार पठाइरहेका छौं, यहाँको आलुसमेत निकै स्वादिष्ट छ, आलुलाई चिप्स बनाएर बजार पठाउँदा यहाँका महिलाको आयआर्जन सघाउ पुग्नेछ,” छन्त्यालले भनिन्, “अर्गानिक उत्पादनको बजारीकरणमा जैमिनी नगरपालिकासमेतले सघाएको छ, यस पटक आलु चिप्स बनाउने, लेबलिङ र प्याकेजिङ गर्न रु सात लाखको उपकरण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ८५ प्रतिशत अनुदान दिएको छ ।”

    एक वर्षभित्र बाँकोको गुन्द्रुक र सिस्नोको धुलो दुई लाखको बिक्री भएको छन्त्यालले जानकारी दिइन् । अहिलेआलु चिप्सलाई मुख्य उत्पादनका रुपमा विकास गर्न आधुनिक उपकरणले सहयोग पुर्‍याउने छन्त्यालको भनाइ छ । विसं २०७१ मा खसीबोकाको कारोबार गर्न स्थापना भएको सहकारीले एक वर्ष यता आलु चिप्स, सिस्नोको धुलो र गुन्द्रुक बनाएर विक्री गर्न थालेको हो ।

    जैमिनी नगरपालिकाले आलु काट्ने, आलु सुकाउने र मकै भुट्ने उपकरणसमेत सहयोग गरेको छ । विसं २०७१ मा रु दस लाख शेयर पूँजीबाट सुरु भएको सहकारीको अहिले वार्षिक कारोबार रु दुई करोड ५० लाख नाघेको छ । अहिले बाँको र सिस्नो संकलन, आलु खरिद तथा ब्रान्डीङका लागि २१ महिला सक्रिय रहेका छन् ।

    महिला सदस्यलाईमात्रै सहकारीमा आबद्ध गराएको सहकारीले नियमित २१ जनालाई रोजगारी दिएको छ । ‘हेफर इन्टरनेशनल’लेसमेत सहकारी स्थापनाका बेला बाख्राका पाठा वितरण गरी सहयोग गरेको थियो । अहिले उत्पादन भइरहेको आलु चिप्स, सिस्नोको धुलो र बाँकोको गुन्द्रुक बागलुङ बजारसहित पोखरासम्म पुग्ने गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।

    नगरपालिकाले महिला उद्यमशिलताका लागि हालसम्म रु दस लाखभन्दा बढीको आर्थिक सहायता प्रदान गरिसकेको उनले जानकारी दिए । “किसानले आलु मात्रै विक्री गरेर भएन, जैमिनीको सबैभन्दा बढी आलु उत्पादन हुने क्षेत्रका रुपमा रहेको दमेकको आलुलाई चिप्स बनाउँदा टिकाउ हुने र बजारीकरणसमेत गर्न सहज हुने भएकाले उद्यमशीलताको कार्यक्रमलाई त्यही सहकारीसँग जोडिएको छ”, उपप्रमुख शर्माले भने “औषधीय गुणसमेत भएको बाँकोको गुन्द्रुक र सिस्नोको धुलो विदेशसमेत पुर्याउन सकिने सम्भावना रहेको छ ।”


    प्रकाशित : आइतबार, श्रावण २७ २०८१११:१७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार