२०८३, कार्तिक १५ गते आइतबार

पानी नपर्दा रोपोमै सुक्न थाले धान बाली

पानी नपर्दा रोपोमै सुक्न थाले धान बाली


  • मेरोभ्यूज
  • श्रावण २६, २०८१ शनिबार

  • पानी नपर्दा रोपोमै सुक्न थाले धान बाली

    सुनसरी । यहाँको बराहक्षेत्रस्थित श्रीलङ्का टप्पुमा धानबाली रोपोमै सुक्न थालेको छ । आकाशे पानीको भर पर्नुपर्ने बराहक्षेत्र नगरपालिका-६ श्रीलङ्का टप्पुका चिलैया र गरैया क्षेत्रका किसानका धानबाली रोपोमै सुक्न थालेको स्थानीय कृषक सन्तोष चन्द्रवंशीले बताए ।

    उनले भने, “केही दिनदेखि पानी राम्रोसँग पर्न सकेको छैन पानी पर्ने आशामा बसेका किसानको धान रोपोमै सुक्न थालेको हो ।” गाँज लाग्ने बेलामा पानी नपरेको किसानहरुको भनाइ छ । विद्युत सबै ठाउँमा नपुग्दा पम्पसेटबाट पानी लगाउनसमेत नसकिएको उनीहरु बताउँछन् ।

    छ वर्ष अघिसम्म श्रीलङ्का टप्पुका किसानले धान खेती गर्दैन थिए । चन्द्रवंशीका अनुसार स्थानीय किसानले एक वर्षका लागि धान खरिद गरेर जोहो गर्नुपर्थ्याे । बिजुली बत्ती आएपछि मोटरबाट पानी तानेर धानखेती गर्न थालेका थिए । तर, सबै खेतमा विद्युतको पहुँच नपुग्दा कृषक समस्यामा परेका हुन् ।

    यहाँका अधिकांश कृषकले कोशीपारिका बजार भागलपुर, रामपुर र चक्रघट्टीबाट ल्याएर धानको बियाड राखेका थिए । गरैया कृषि सहकारीले पनि १९ बोरा (छ सय ६५ केजी) धानको बीउ कृषकलाई वितरण गरेको सहकारी संस्थाका अध्यक्ष बद्री राईले जानकारी दिए ।

    बराहक्षेत्र नगरपालिकाअन्तर्गत पर्ने श्रीलङ्का टप्पु दुई वटा वडाले छोएको छ । वडा न ९ मा सात सय घरधुरी छन् भने वडा न ६ मा दुई सय घरधुरी छन् । हाल कृषकले यहाँ एक सय बिघाहभन्दा बढी क्षेत्रफलमा धान खेती गरेका छन् । “पानी पर्लापर्ला भन्दाभन्दै धानको रोपो सुक्न थालेको छ”, कृषक रामभुवन राय यादवले भने ।

    कृषि सहकारीले धानबालीका लागि पाँच सय बोरा मल मौज्दात राखेको छ । विगत वर्षमा मलको अभाव भोग्नुपरेकाले यसवर्ष मल मौज्दात गरिए पनि पानी नपरेकाले खपत हुन नसकेको सहकारीले जनाएको छ । “पानी परेपछि धानबालीमा मल हाल्नुपर्छ, पानी नपरेकै कारण कृषकले सहकारीबाट मल लगेका छैनन्”, गरैया कृषि सहकारीका कोषाध्यक्ष गोल्छा झाले भने ।


    प्रकाशित : शनिबार, श्रावण २६ २०८१०८:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार