२०८३, कार्तिक १५ गते आइतबार

‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण

‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण


  • मेरोभ्यूज
  • श्रावण २६, २०८१ शनिबार

  • ‘लिफ्ट’ प्रविधिबाट खानेपानी आयोजना निर्माण

    म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका–२ र्‍यालेखोरमा लिफ्ट प्रविधिबाट खानेपानी आयोजना निर्माण भएको छ । सौर्य ऊर्जाको प्रयोग गरेर र्‍यालेखोर बस्ती मुनीको मुहानबाट पानी तानेर घरघरमा धारा जडान गरी वितरण गरिएको हो ।

    नेपाल स्वास्थ्यका लागि पानी (नेवा) संस्था, मङ्गला गाउँपालिका र उपभोक्ताको साझेदारीमा उक्त आयोजना निर्माण भएको हो । आयोजना निर्माणमा प्राविधिक तथा आर्थिक सहयोग गरेको नेवाका प्राविधिक गोर्खबहादुर शाहीले मुहानबाट एक सय नौ मिटर माथि रहेको टङ्कीमा तानेर वितरणको व्यवस्था मिलाएको जानकारी गराए ।

    उनका अनुसार प्रतिसेकेण्ड दुई लिटरका दरले तानिएको पानी २४ वटा घर र त्रिभुवन मङ्गला माविमा निजी धारामार्फत वितरण गरिएको हो । रु ९२ लाख २४ हजार नौ सय ८७ को लगानीमा र्‍यालेखोर, खुम्लीया र भाइवाङमा खानेपानी आयोजना निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष तेजिन्द्र आचार्यले बताए ।

    उनले र्‍यालेखोर र भाइवाङका एक सय घर र विद्यालय, सामुदायिक भवन र खेलमैदानमा आठ वटा निजी धारा निर्माण गरेर खानेपानी वितरण गरिएको जानकारी दिए । भाइवाङ र खुम्लीयामा पँधेराको मुहानको पानी वितरण गरिएको छ ।

    “यसअघि चार/पाँच घरका लागि एउटाका दरले बनाइएको सार्वजनिक धारामा पाइप जोडेर घरघरमा पानी लैजाने गरिएको थियो”, आचार्यले भने, “वितरण प्रणाली र मुहान व्यवस्थित नहुँदा खानेपानीको अभाव थियो ।” मुहान र वितरण पाइपलाइनलाई व्यवस्थित गरेपछि सीमित स्रोतले पनि सबैले सहजरुपमा खानेपानी उपभोग गर्न पाएका उनको भनाइ छ ।

    घरघरमा धाराका साथै भाडा माझ्ने जुठेल्ना र सुकाउने पक्की चाङ बनाइएको छ । नेवाको रु ३८ लाख ७१ लाख तीन सय सात, मङ्गला गाउँपालिकाको रु २७ लाख अनुदान र उपभोक्ताको रु २२ लाख ७८ हजार चार सय ६८ श्रमदानमा आयोजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

    अध्यक्ष आचार्यका अनुसार उपभोक्ताले श्रमदान गर्नुका साथै थप रु तीन लाख ७५ हजार दुई सय १२ नगद सङ्कलन गरिएको थियो । स्थानीय पुष्पा गौतमले घरकै धारामा नियमित खानेपानी आउन थालेपछि समयको बचत, झञ्झट र सास्ती हटेको बताइन् ।

    खानेपानीका साथै नुहाउन, कपडा धुन, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि पानी लिन सार्वजनिक धारामा जाने समय बचत भएको उनको भनाइ छ । नेवाको सहयोगमा मङ्गला गाउँपालिकाको थप दुई ठाउँमा खानेपानी आयोजना निर्माण भएका छन् । खानीगाउँका ३७ घर र एक विद्यालय तथा हिदीका ६४ घरमा निजी धारासहित खानेपानी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले जानकारी दिए ।


    प्रकाशित : शनिबार, श्रावण २६ २०८१०७:५५
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार