२०८३, कार्तिक १५ गते आइतबार

मादी नदी लिफ्ट खानेपानी आयोजना निर्माणमा ढिलाइ

मादी नदी लिफ्ट खानेपानी आयोजना निर्माणमा ढिलाइ


  • मेरोभ्यूज
  • श्रावण २५, २०८१ शुक्रबार

  • मादी नदी लिफ्ट खानेपानी आयोजना निर्माणमा ढिलाइ

    तनहुँ । व्यास नगरपालिका-१ भादगाउँ खानेपानी तथा उपभोक्ता संस्था र नेपाल सरकारको लगानीमा निर्माण हुँदै गरेको मादीनदी लिफ्ट खानेपानी आयोजना एक वर्ष ढिलाइ भएको छ ।

    निर्माणका लागि ठेक्का पाएको पराजुली कन्स्ट्रक्सनले विसं २०८० भदौभित्र सम्पन्न गर्नेगरी २०७९ भदौमा सम्झौता गरेको एक वर्ष बित्दा पनि आयोजनाको काम पूरा हुनसकेको छैन ।

    सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा मादीनदी लिफ्ट खानेपानी आयोजनाको निर्माण भइरहेको संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार रु २६ करोड २५ लाख आयोजनामा २७ प्रतिशत घटिघटाउ बोलपत्रमा गई रु १९ करोड लागतमा आयोजना निर्माण अघि बढाइएको हो । व्यवस्थापक श्रेष्ठले भने “आयोजनाको निर्माण कार्य ढिलाइ हुँदा पानी आपूर्तिमा कठिनाइ भोग्नुपरेको छ, अबको तीन महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।”

    व्यास नगरपालिका-४ चुरेखोल्सीस्थित मादीनदी किनारबाट करिब पाँच किलोमिटर दूरीबाट पानी ल्याएर वडावासीलाई पानी वितरण गर्न लागिएको हो ।

    मादीबाट ल्याइएको पानी व्यास-१ स्थित अमिलीभञ्ज्याङमा चार लाख र सोही वडाको भदु्रडाँडामा रु ५० हजार गरी चार लाख पचास हजार लिटर क्षमताको गरी दुईवटा ‘रिर्जभ’ ट्याङ्कीमा पानी सङ्कलन गरी वितरण गरिने सो संस्थाले जनाएको छ ।

    संस्थाका सचिव राजेश्वर हड्खलेका अनुसार संस्थाले ट्याङ्की निर्माणका लागि दुई रोपनी जग्गा खरिद र करिब तीन रोपनी सार्वजनिक जग्गा गरी करिब पाँच रोपनी जग्गा प्रयोगमा ल्याई आवश्यक भौतिक संरचना निर्माण गरिरहेको छ ।

    उक्त मादीनदी लिफ्टबाट प्रतिसेकेण्ड २६ लिटर पानीको क्षमताको रहने बताइएको छ । पानी सङ्कलनका लागि फिल्टर प्लान्ट र मुख्य प्लान्ट निर्माणकार्य यसअघि नै सम्पन्न भइसकेको छ ।

    विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट सुरुवात गरेको संस्थाले हालसम्म दुई हजार छ सय बढी निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ ।

    व्यास नगरपालिका-१३ स्थित करादी खिरखादी मुहानबाट करिब १३ किमि लामो दूरीबाट ल्याएको खानेपानी आपूर्ति हुँदै आएको छ । संस्थाले हाल प्रतिसेकेण्ड १७ लिटर पानी सङ्कलन गरी व्यास-१ का २५ टोल र व्यास-१२ को एक टोलका उपभोक्तालाई वितरण गर्दै आएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिए ।

    उनका अनुसार यस क्षेत्रमा बस्ती विस्तार हुँदै गएपछि पानीको स्रोतले धान्न नसकेपछि वैकल्पिक खानेपानीको रूपमा मादीनदी लिफ्टिङ खानेपानी आयोजनाको निर्माण अघि बढाएको हो । उक्त आयोजनाअन्तर्गत ५२ किमि दूरीमा शाखा पाइप लाइन बिछ्याइने कार्य सकिएको छ ।

    उनले भने, “मुख्य पाइप लाइनका केही स्थानमा पाइप बिछ्याउने कार्य भइरहेको छ, निर्माणकार्यलाई तीव्रता दिइएकाले छिट्टै सम्पन्न हुने अपेक्षा गरिएको छ ।” संस्थाले हाल दुई हजार छ सय ८० घरमा पानी वितरण गर्दा २१ हजार बढी उपभोक्ता लाभान्वित हुँदै आएका छन् ।


    प्रकाशित : शुक्रबार, श्रावण २५ २०८१११:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार