२०८३, कार्तिक १५ गते आइतबार

जिल्लामा पछिल्लो समय अलैँचीका बोट मासिँदै, मूल्य वृद्धि हुँदै

जिल्लामा पछिल्लो समय अलैँचीका बोट मासिँदै, मूल्य वृद्धि हुँदै


  • मेरोभ्यूज
  • श्रावण २४, २०८१ बिहीबार

  • जिल्लामा पछिल्लो समय अलैँचीका बोट मासिँदै, मूल्य वृद्धि हुँदै

    इलाम । जिल्लामा पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन् ।

     अलैँचीलाई फागुन-चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन् ।

    गत वर्ष प्रतिमन (४० किलो) रु ८० हजारमा बिक्री भएको अलैँची यस वर्षको सुरुमा रु ८५ हजार प्रतिमन खरिदबिक्री भइरहेको छ । यस वर्ष अलैँचीको मूल्य बढे पनि उत्पादन घटेको किसान बताउँछन् ।

    समयमा पानी नपरेकाले अलैँचीका बिरुवा मासिनाका साथै उत्पादनमा कमी आएको किसान हरि पोख्रेलले बताए ।

    “अलैँचीलाई फागुन-चैतमा पानी आवश्यक पर्छ । त्यो समयमा पानी नपरेकाले बोट मासिएका छन् । पानी नपरेपछि पुराना उत्पादन दिने कतिपय स्थानका बोटसमेत मरेका छन्”, उनले भने ।

    यसअघि प्रशस्त उत्पादन दिएका बोट यस वर्ष सुक्खाका कारण मरेका उनले बताए ।

     मूल्य बढी भएकै कारण अलैँचीलाई खोल्सीको कालो सुन भन्ने गरिन्छ । अलैँची टिप्ने ‘सिजन’ सुरु हुनै लाग्दा मूल्य राम्रो हुँदा किसान खुसी भए पनि उत्पादन घट्ने चिन्ता लागेको किसानको भनाइ छ ।

    समयमा पानी नपरेको, जुर्जुरे, स्याङ्लेलगायत रोगको सङ्क्रमणले बोट मासिँदै गएका अलैँची व्यवसायी महासङ्घले जनाएको छ ।

     सुक्खायाम भएकाले अलैँचीका बोट सुक्दै गएर अहिले मासिन थालेका किसान बताउँछन् ।

    मूल्य बढेपछि अहिले जिल्लाका विभिन्न स्थानमा नयाँ बिरुवा लगाउने काम भइरहेको महासङ्घले जनाएको छ ।

    अलैँची विकास केन्द्र फिक्कलले बिरुवा उत्पादन गरी प्रतिबिरुवा रु पाँचका दरले बिक्री भइरहेको जनाएको छ ।

     किसानले उत्पादन गरेका बिरुवा प्रतिगोटा रु दस मा बिक्री हुँदै आएको छ ।

    किसान पोख्रेलका अनुसार अलैँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ ।

    जिल्लामा रामसाई, गोल्साई, चिबे, सलकपुर, भार्लाङलगायत स्थानमा अलैँचीखेती हुन्छ ।

    सलकपुर जातको अलैँची चाँडो र बढी उत्पादन हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको उनले बताए ।

     “अन्य जातका बिरुवा बढी समयसम्म टिक्ने हुन्छन् । सलकपुरको टिकाउ भने कम हुन्छ”, उनले भने । वर्षामा सलकपुरको बिरुवा लगाइन्छ । अलैँचीको दलबाट र झाङ फुटाएर बिरुवा उत्पादन गरिन्छ । झाङ फुटाएर लगाइएको बिरुवाले दुई वर्षदेखि उत्पादन दिन्छ भने दलबाट लगाएको बिरुवाले चार वर्षदेखि उत्पादन दिन थाल्छ ।

    नेपालको पूर्वी पहाडी क्षेत्र अलैँची उत्पादन गर्न उपयुक्त मानिन्छ । इलामसहित सङ्खुवासभा, पाँचथर, धनकुटा र भोजपुर अलैँची उत्पादनका लागि उर्भर भूमि मानिन्छ ।

    अलैँची ४३ जिल्लाका १८ हजार पाँच सय हेक्टरमा खेती गरिएकामा यसको क्षेत्र विस्तार गरेर ५३ जिल्लामा पु¥याइएको अलैँची व्यवसायी महासङ्घले जनाएको छ ।

    नेपालका लागि अलैँचीको मुख्य बजार भारत हो । यसको खपत भारत, पाकिस्तान, बङ्गलादेशका साथै युरोपियन देशहरुमा हुने गरेको महासङ्घको भनाइ छ । हाल रु ८५ हजार प्रतिमनमा अलैँची खरिदबिक्री भइरहेको इलाम बजारका अलैँची व्यापारी प्रकाश अग्रवालले बताए ।

    यस वर्ष अलैँचीको मूल्य बढेर रु एक लाख नाघ्ने अनुमान गरिएको उनको भनाइ छ ।

    पूर्वी क्षेत्रमा उत्पादन भएको अलैँची झापाको कांकरभित्ता हुँदै बाहिर निकासा हुने गरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ५० लाख १८ हजार तीन सय ३५ किलो अलैँची निर्यात हुँदा रु सात अर्ब ९४ करोड नौ लाख ६४ हजार बराबरको करोबार भएको थियो ।

    आव २०७९/८० मा रु आठ अर्ब २७ करोड ६८ लाख बराबरको ९९ लाख ९१ हजार एक सय ४९ किलो अलैँची निर्यात गरेको थियो  ।


    प्रकाशित : बिहीबार , श्रावण २४ २०८१११:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार