२०८३, कार्तिक १५ गते आइतबार

चुरेक्षेत्रमा अवस्थित टुटेश्वरनाथको दर्शनका लागि दण्डीयात्रा जारी

चुरेक्षेत्रमा अवस्थित टुटेश्वरनाथको दर्शनका लागि दण्डीयात्रा जारी


  • मेरोभ्यूज
  • श्रावण २३, २०८१ बुधबार

  • चुरेक्षेत्रमा अवस्थित टुटेश्वरनाथको दर्शनका लागि दण्डीयात्रा जारी

    महोत्तरी । जिल्लाको चुरेक्षेत्रमा अवस्थित टुटेश्वरनाथ महादेवको दर्शनका लागि श्रद्धालु भक्तजनले थालेका दण्डीयात्रा (पस्रेर अघि बढ्ने) को दोस्रो दिन पनि यात्रा जारी छ ।

    निर्जन वनक्षेत्रमा बोलबम गुञ्जदो छ । यसवर्षको साउने मेलाअन्तर्गतको दण्डीयात्रा सुरु गरेका श्रद्धालुले पहिलो दिन चार किलोमिटर यात्रा गरेका थिए । पस्रदै, उठ्दै फेरि पस्रदै । आफू पस्रदा (लम्पसार पर्दा) ओगटेको दूरी रेखाङ्कित गर्दै गन्तव्यतिर अघि बढ्दै । सबैको एउटै उद्देश्य शिव दर्शन ।

    सबैको एउटै वाणि ‘बोल बम  !’ टुटेश्वरनाथ मन्दिरबाट १८ किमि दक्षिणको माण्डवीगङ्गा (मडहा), बरुणमति (बेलगाछी) र स्वर्णमति (सोनी) नदीको त्रिवेणी सङ्गमबाट श्रद्धालुले पवित्र जलपात्रमा जल भर्दै शिव दर्शनका लागि पस्रदै यात्रा सुरु गरेका हुन् ।

    बर्दिबास-५ को चुरे शृङ्खलाको पहाडी थुम्कोमा अवस्थित टुटेश्वर मन्दिरलाई मधेसको कैलाश र नेपालको बाबाधाम भनिन्छ ।

     अनादिकालको यो शिवलिङ्गको दर्शनबाट सुख, सन्तोष प्राप्त हुने विश्वासका आधारमा श्रद्धालुले पस्रदै यात्रा गर्ने चलन बसेको ३४ वर्ष भएको स्थानीय ७२ वर्षीय वासुदेव महतोले बताए ।

     “विसं २०४८ साउन १७ गते पहिलो पटक टुटेश्वर दर्शनका लागि दण्डीयात्रा ठगा साहसँग मिलेर दुईजनाले सुरु गरेका थियौँ । यसपटक ३४औँ यात्रा हो”, उनले भने ।

    बर्सेनि यात्रामा सहभागी हुँदा आफू सधैँ उर्जावान हुने गरेको महतोको बुझाइ छ ।

    दुईजनाबाट सुरु भएको यात्रामा यसवर्ष करिब ३० बढी श्रद्धालु सहभागी भएको उनले जानकारी दिए ।

     यसपाली साउने औँसीका दिन बिहान सभाप्रहर बित्नुपूर्वको माङ्गालिक बेलामा जल चढाउने तालिका बनाएर यात्रा थालिएको उनको भनाइ छ ।

    त्रिवेणीमा ब्राह्मणको स्वस्तिवाचन, पाठबीच यात्रा सङ्कल्प गरेर कम्मरमा जल झुण्ड्याइ पस्रदै अघि बढेका श्रद्धालु भक्तजनले पाँचौँ दिन बिहान सभाप्रहर बित्नुअघि टुटेश्वरनाथ शिवलिङ्गमा जल, बेलपत्र र जौँ चढाएर दर्शन गर्ने तालिका बनाएका छन् ।

    “हामी पाँचौँ दिन बिहान भोलेबाबाको शरणमा पुग्छौ”, दिपु यादवले भने, “पहिला हातखुट्टा दुख्ने, राम्री नचाल्ने समस्या थियो । यात्रामा सहभागी हुन थालेपछि हिँडडुल गर्नसक्ने भएको छु । यसवर्षको यात्रा ११औँ पटकको हो ।” यादवको प्रारम्भमा बोली लरबरिने समस्या पनि क्रमशः ठिक हुँदै गएको उनका छिमेकी बताउँछन् ।

     शिव दर्शनका लागि कष्टकर यो विधिबाट कुनै शारीरिक कष्ट महशुस नगरिएको यात्रामा सहभागी बताउँछन् ।

    “एकपटक लम्पसार पर्दा हातले जति दूरीमा रेखा खिच्न भ्याइन्छ, अर्को पटक त्यही रेखामा लम्पसार परेर यात्रा अघि बढाइन्छ ।

     मिथिलामा बोलीचालीमा ‘दण्डी’ भनिने यस यात्राका श्रद्धालुलाई ‘दण्डीबम’ भनिन्छ ।

    साउनमा यो यात्राका शिव दर्शन गरेमा मन शान्ति र स्वस्थ महशुस हुने गर्दछ”, गौशाला-८ का ४५ वर्षीय मायाराम साहले भने ।

    यसवर्ष १०औँ पटकको दण्डीयात्रा थालेको उनले बताए ।

    “यो हठयोगी यात्रा हो, नाशवान् शरीरलाई के दुःख के सुख ? शिव दर्शनको लालसाले कहिल्यै कष्ट अनुभव गरिएन”, साहले भने ।

     शान्ति प्राप्ति र भगवान् दर्शनका लागि यात्रा कष्टपूर्ण भए पनि नियमित गर्ने उनको भनाइ छ ।

    पवित्रग्रन्थ श्रीमद्भागवत गीतामा भगवान् श्रीकृष्णले ज्ञानयोग, कर्मयोग र हठयोगको ज्ञान अर्जुनलाई दिएको प्रसङ्ग कोट्याउँदै साहले आफूहरुको यात्रा शिव दर्शन अभिलाषाको ‘हठ’ रहेको बताए ।

     यो यात्रामा धेरैजसो भाकल गरेका भेटिन्छन् । “शारीरिक कष्ट भएकाले टुटेश्वरनाथ पुगेर समस्या समाधानका लागि भाकल गरेको थिएँ । शारीरिक स्वस्थता भएसँगै यस वर्ष दोस्रो पटक यो यात्रामा सहभागी भएको हुँ”, गौशाला-४ का ४० वर्षीय श्याम महतोले भने ।

     यस वर्ष नयाँ यात्रा थाल्ने दस जनाभन्दा बढी भेटिएका छन् । शारीरिक कष्ट हटेर सुख, शान्ति प्राप्त हुने विश्वासमा यात्रा सुरु गरेको गौशाला-४ का रामजतन महतोले उल्लेख गरे ।

    आजभन्दा ३४ वर्ष अगाडि सुरु भएको यो यात्रामा गौशाला नगरक्षेत्रका विभिन्न बस्तीका श्रद्धालुको उपस्थिति बढी देखिन्छ ।

    पौराणिककालमा राजा जनकका भाइ कुशध्वजकी छोरी माण्डवीले सखीहरुसहित स्नानक्रिडा गर्ने नदीलाई माण्डवीगङ्गा भनिएको यात्री बताउँछन् ।

    “यो त्रिवेणीको स्नान सम्पूर्ण पाप नासक छ”, ३४ वर्षअघि दण्डीयात्रा थाल्ने वासुदेव महतोले भने, “पछि यी र यिनका सहायक नदीको नाम बिगार्दै लगेका छन् ।

    अब बर्दिबास र गौशाला नगरपालिकाले यसको संरक्षण र प्रवर्द्धन गर्न पौराणिककालको नाम प्रचलनमा ल्याउनुपर्छ ।

    ” त्रिवेणी सङ्गमका माण्डवीगङ्गा, बरुणमती र स्वर्णमतीलाई ठेकदारले राजमार्ग निर्माणका क्रममा मडहा, बेलगाछी र सोनी नामाकरण गरीदिँदा पौराणिक परिचय ओझलिँदै गएको वासुदेवले गुनासो गरे ।

    त्रिवेणीबाट सुरु यो यात्राका दण्डीबम चार दिन बाटोमा रात्रि विश्राम गर्नेछन् । पहिलो दिन गौशाला-८ को स्वर्णमती नदी किनारको शम्भुस्थानमा रात्रि विश्राम गरेका यात्री आज गौशाला-८ को ढल्केवरमा रात्रि विश्राम गर्नेछन् । तेस्रो दिन पूर्व-पश्चिम राजमार्गको टुटेश्वरचोक र चौँथो दिन टुटेश्वर बस्तीको पुछारमा रात्रि विश्राम गरिने दण्डीयात्रीको भनाइ छ ।

    दर्शन गर्ने पाँचै दिन बिहानलाई एक किलोमिटर दूरी राखि अघिल्लो दिन राति विश्राम गरिने वासुदेवले जानकारी दिए ।

    यस वर्ष जल चढाउने दिन आइतबार परेको बताउँदै उनले साउनभरि यहाँ दैनिक सयौँ दर्शनार्थी पुग्ने गरेका जानकारी दिए । सोमबार विशेष मेला लाग्ने गरेको छ । बाटोमा यात्रीका लागि विभिन्न दाताले भोजन, पानी, सर्वत, चिया र बसोबासका सामान जुटाएका छन् ।

    साउनको यो अलौकिक यात्रामा दाताको सेवा र सहयोगभाव पनि आफूहरुका लागि उर्जा हुने गरेको यात्रीहरुको भनाइ छ । पस्रदापस्रदै पसिनाले निथ्रुक्क भएका यात्रीलाई कति श्रद्धालुले शीतल जल जिउमा खन्याइ रहेका देखिन्छ ।

     कोही शीतल सर्वत हातमा लिएर सेवाको अवसर पर्खेका देखिन्छन् । दिउँसो प्रचण्ड राप हुनेहुँदा यात्रीले प्रत्येक दिन पहिलो प्रहर (बिहान भाले बासेसँगै) यात्रा गर्ने गरेका छन् ।

    यात्रामा चियाखाजा खाने, भोजन गर्ने र रात्रि विश्रामको निश्चित तालिकाभित्र रहेर अगाडि बढ्ने दण्डीबमले बताएका छन् ।

     टुटेश्वरनाथसँग जोडिएका पौराणिककालका कैयौँं किम्बदन्ती छन् । द्वापरयुगमा यो प्राचीन शिवालयमा वनबासका बेला अर्जुनले शिवजीको तपस्या गरी पाशुपतास्त्र प्राप्त गरेका ठाउँका रुपमा रहेको संस्कृतिविद् बताउँछन् ।

    “पाण्डव वनबासमा थिए, कौरवसँगको युद्ध जित्न पाण्डवलाई दिव्यास्त्र आवश्यकता थियो ।

    अर्जुनले यसै प्रयोजनका लागि यहाँ घोर तपस्या गरेर शिवजीलाई प्रशन्न पारी पाशुपतास्त्र प्राप्त गरेका हुन्”, प्राचीन संस्कृतिका अध्येतासमेत रहेका होटल तथा पर्यटन व्यवसायी सङ्घ महोत्तरीका अध्यक्ष गुञ्जबहादुर कार्कीले भने ।

    तत्कालीन समयमा कुँदिएका पत्थर र यहाँ भेटिएका अन्य सामग्रीको अध्ययनबाट विद्वानहरुले यो निष्कर्ष बनाएका निकाले उनको भनाइ छ ।

    “रामायणकालमा विदेहराज राजा जनकको कर्मभूमि, ज्ञानी ऋषिहरुको तपोभूमि र राजकन्याहरुको विहार गर्ने थलोका रुपमा यो ठाउँलाई चिनाउने गरिएको कार्कीले बताए ।

     किम्बदन्तीमा पौराणिक कथा जोडिए यस क्षेत्रको खोजी विसं २००२ देखि भएको पाइएको छ”, संस्कृतिविद् कार्कीले भने । विसं २००२ मा डिठ्ठा गौरीनारायण गिरीले वन फँडानी गरी बस्ती बसाउने क्रममा यहाँ प्राचीन शिवलिङ्ग, पत्थर कुदिएर बनेको बसाहासहित पुरातात्विक महत्वका सामग्री फेला पारेका बर्दिबास-५ का वडाअध्यक्ष कहारमान स्याङ्वाले जानकारी दिए ।

     “त्यसयता विभिन्न समयमा श्रद्धालु भक्तजनको सरसहयोगबाट मन्दिर निर्माण भएको हो”, उनले भने । शिवलिङ्ग बसाहा र अन्य पुरातात्विक महत्वका सामग्रीको अध्ययनबाट यसलाई संस्कृति अध्येताहरुले महाभारतकालीन भनेका मधेस प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले बताए ।

     यस क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न केन्द्र र प्रदेश सरकारसँग छलफल भइरहेको उनले जानकारी दिए ।

    मन्त्री यादवका अनुसार चालु आर्थिक वर्षमा सङ्घ र प्रदेशबाट गरी रु एक करोड बढी रकम विनियोजन भएको छ । विनियोजित रकम टुटेश्वरको विकासका लागि योजनाबद्ध काम थाल्न सर्वप्रथम विस्तृत परियोजना प्रस्ताव तयार गर्ने र सोअनुसार काम अघि बढाइने उनले जानकारी दिए ।

    “टुटेश्वरस्थान अतिप्राचीन धार्मिक सम्पदा हो, यो हाम्रो पहिचान र समृद्धिको आधार पनि हो”, मन्त्री यादवले भने, “अब यहाँ धार्मिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा योजनाबद्ध काम अघि बढ्छन् ।” यस पूण्यभूमिको संरक्षण र सम्बर्द्धनमा सबै एकजुट भएर लाग्नुपर्नेमा उनले जोड दिए ।


    प्रकाशित : बुधबार, श्रावण २३ २०८१०६:३६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार