लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीबाट नेपालका हिमशृङ्खला देखिनु धेरैलाई अचम्म लाग्न सक्छ । अर्थात् लुम्बिनीबाट पनि हिमाल देखिन्छभन्दा धेरैले नपत्याउन सक्छन् तर असार-साउनमा मौसम सफा भएको अवस्थामा भने लुम्बिनीबाट हिमालको मनोरम दृश्य देख्न सकिन्छ ।
अहिले मौसम सफा भइदिँदा केही दिनदेखि हिमशृङ्खलाका मनोरम दृश्य अवलोकन गरी लुम्बिनी भ्रमणमा आएका पर्यटक रमाइरहेका देखिन्छन् ।
श्रीलङ्काबाट बौद्ध तीर्थयात्री लिएर बुद्धजन्मस्थल लुम्बिनी आएका धम्म श्री भन्तेले हाम्रा लागि दुर्लभ मानिने हिमाली दृश्य प्रत्यक्षरूपमा देख्न पाएकामा खुसीको सीमा नरहेको धारणा व्यक्त गरे ।
उनले भगवान् बुद्धको जन्म हिमालयको काखमा भएको भन्ने भनाइ लुम्बिनी भ्रमणबाट पुष्टि भएको उल्लेख गर्दै कम्तीमा एकपटक लुम्बिनी भ्रमण गर्न समस्त बुद्धमार्गी एवं प्रकृतिप्रेमीसँग अनुरोध गरे ।
बर्सात्पछि छर्लङ्ग खुलेको मौसममा लुम्बिनीबाट उत्तरतर्फ सेताम्मे हिमशृङ्खला देख्दा जो कोही पनि लोभिने अवस्था छ ।
प्राय असार-साउन महिनामा पानी परेपछि मौसम सफा भएको समयमा लुम्बिनीबाट अन्नपूर्ण, धौलागिरिलगायत हिमालहरु देखिने गरेको मायादेवी मन्दिरमा वर्षौंदेखि पूजाआजा गर्दै आएका स्थानीय योगेन्द्रनाथ पाण्डे बताए ।
बुद्धजन्मस्थल लुम्बिनीमा हिमाल देखिन्छ भन्ने सन्देशलाई पर्यटन प्रवद्र्धनमा जोड्न सकिएको छैन भन्दै पर्यटनविद् एवं लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईले भने, “समग्र पक्षलाई समेटेर लुम्बिनीको प्रचार-प्रसार हुन सकेको छैन ।
भगवान् बुद्धले समेत आफ्नो घर हिमालको फेदी बाणगङ्गा नदी किनारमा रहेको बताएको सन्दर्भमा बुद्धसँग हिमाललाई समेत जोडेर पर्यटन प्रवद्र्धन अभियानलाई सफल र सार्थक बनाउन सम्बद्ध सबैसँग अनुरोध गर्दछु ।
”तराईको समथर पुण्यभूमिमा अवस्थित मायादेवी र अशोक स्तम्भको छेउबाट हिमशृङ्खला देख्न पाउनु आफैँमा महत्वपूर्ण पक्ष हो ।
लुम्बिनीसहित तराईका अधिकांश जिल्लाबाट असार-साउनमा मौसम सफा भएको बेलामा मनमोहक हिमालसहित रमणीय दृश्य अवलोकन गर्न सकिने स्थानीयवासी बताउँछन् ।

