२०८३, कार्तिक १५ गते आइतबार

तीन तहको सरकारले कृषि क्षेत्रलाई प्रथामिकता नदिदाँ आयात बढ्दै गयो

तीन तहको सरकारले कृषि क्षेत्रलाई प्रथामिकता नदिदाँ आयात बढ्दै गयो


  • मेरोभ्यूज
  • श्रावण २२, २०८१ मंगलबार

  • तीन तहको सरकारले कृषि क्षेत्रलाई प्रथामिकता नदिदाँ आयात बढ्दै गयो

    काठमाडौँ । तीन तहको सरकारले कृषि क्षेत्रलाई प्रथामिकता नदिँदा कृषिजन्य उपजहरुको आयातमा वृद्धि हुँदै गएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

    खाद्यका लागि कृषि अभियान र एशोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्ट(अनाज) को संयुक्त आयोजनामा गरिएको कृषिको समाकालिन अवस्था माथि पत्रकारहरुसँगको छलफल कार्यक्रममा बोल्दै सरोकारवालाले मुलुकमा भएको बढ्दो आयात र कृषिजन्य उपजको उत्पादनमा भएको कमिले गर्दा देशमा आर्थिक सङ्कट पनि बढ्दै गएको बताएका हुन् ।

    कार्यक्रममा बोल्दै बगमती प्रदेशकी सांसद विमला पोख्रेलले तीनै तहका सरकारले कृषि क्षेत्रलाई प्रथामिकता नदिँदा देशभित्र कृषिक्षेत्र सङ्कटउन्मुख रहेको बताइन् । राजनीतिक विचारका कारणले गर्दा पनि कृषि क्षेत्रको विकास हुन नसकेको भनाइ उनको छ । 

    पोख्रेलले भनिन्, “हाम्रो तीन तहका निकायमा विभिन्न राजनीतिक विचार भएका व्यक्तिहरु छन् । त्यसकारण एउटाले गरेको निर्णय अर्कोले खारेज गर्दा दिगो कृषि विकास भएको छैन्, यसलाई हामीले विचार गर्नुपर्छ ।”

    उनले पत्रकारहरुले कृषि क्षेत्रका नकारात्मक समाचारलाई भन्दा पनि कृषि क्षेत्रमा भएका सफलताका कथालाईसमेत प्रथामिकता दिन आवश्यक रहेको बताइन् ।

    उनले भनिन्, “नकारात्मक कुराहरुको पनि हामीले पर्दाफास गर्नु नै पर्छ तर त्योभन्दा पहिला हामीले समाजमा भएका सकारात्मक कुरालाई पनि जोड दिदाँ यो क्षेत्रको विकास हुन्छ ।”

    टोखा नगरपालिकाका नगरप्रमुख प्रकाश अधिकारीले सरकारको दिगो योजना नहुँदा कृषि क्षेत्रमा भनेजस्तो प्रगाति नभएको बताए ।

    उनले आजभन्दा ४० वर्षअघि सरकारले कृषि क्षेत्र र आवास क्षेत्रलाई वर्गीकरण गरेको भए कृषि उत्पादनमा वृद्धि हुने दाबी गरे ।

    उनले आम नागरिकलाई छिटो भन्दा छिटो सम्पन्र हुने हुटहुटी भएकाले कृषि क्षेत्रलाई कसरी अघि बढाउने भन्ने दिर्घकालिन सोच नराखेको समेत बताए ।

    उनले भने, “स्थानीय तहहरुले कृषि क्षेत्रलाई मुख्य आधार बनाएर अघि बढाए देशलाई कृषिमा आत्मनिर्भर बनाउन सकिन्छ र आयातसमेत रोकिन्छ ।”

    अधिकारीले राज्यले कृषि क्षेत्रतर्फ बनाउने नीतिमा समेत ध्यान नदिएको आरोप लगाए ।

    उनले राज्यले कृषि क्षेत्रतर्फ बनाएका अधिकांश कानूनहरु कृषिको विकासको लागि बाधक हुँदा कतिपय स्थानीय तहहरुले सोचअनुरुप काम गर्न नसकेको बताए ।

    नगरपालिको कृषियोग्य भूमि घोषणा गर्न जनतासँग सर्वेक्षण गरेको तर जनताले आफ्नो जमिनलाई कृषि भूमिको रुपमा घोषणा गर्न नमानेकाले टोखामा कृषियोग्य भूमि कम भएको जानकारी गराउँदै खेती गरिरहेकाको हकमा प्राथमितासाथ साथ दिएको बताए ।

    खाद्यका लागि कृषि अभियानका संयोजक उद्धव अधिकारीले कृषि क्षेत्रमा समस्याहरु विकारल रहेको बताउँदै अगामी दिनमा अझै ठूलो छलफलको आवश्यकता रहेको बताए ।

    उनले वर्तमान सरकारले कृषि क्षेत्रलाई प्रथामिकतामा राखेर काम गरे देशको आर्थिक अवस्थासमेत मजबुत हुने र आयात प्रतिस्थापन हुने दाबी गरे ।

    “हामीले कृषि क्षेत्रका समस्याहरुको बारेमा छलफल गर्छौ तर सरकारले यसलाई प्रथामिकता दिएको छैन । त्यसैले पत्रकार र अभियानको सहकार्यमा कृषिको विकासमा हातेमालो गर्न आवश्यक छ,” उनले भने ।

    राष्ट्रिय कृषक समूह महासंघका अध्यक्ष पञ्चकाजी श्रेष्ठले राज्यका तीन तहका सरकारले कृषि क्षेत्रलाई कम प्रथामिकता नदिँदा कृषिमा क्रान्ति नभएको बताए ।

    उनले पत्रकारले खोजमूलक कृषि सामाग्रीहरु पस्किन र राज्यको ध्यानकर्षण गर्नका लागि निरन्तर कलम चलाउनसमेत आग्रह गरेका थिए ।

    तनहुँमा कृषि फार्म चलाउँदै आएका पूर्वपत्रकार नारायण वाग्लेले सरोकारवालाले किसानको मुद्दाको विषयमा वहस गरेर यसलाई निरन्तर दिन आवश्यक रहेको बताए ।

    उनले भने, “किसानको मुद्दामा केन्द्रित हुन आवश्यक छ भने कृषिमा देखिएका समस्याहरुमा निरन्तर कलम चलाएर यस क्षेत्रमा देखिएको समस्याको समाधान गर्नतर्फ पहल गर्नुपर्ने अहिलेको आवश्यकता छ ।”

    वाग्लेले सञ्चारमाध्यमले कृषिका विषयलाई कम प्राथमिता दिने गरेकाले पनि कृषि क्षेत्रले समस्या भोग्दै आएको बताए ।

    आफ्नो कृषि रिपोर्टिङको अनुभव सुनाउँदै वाग्लेले भने, “मैले ३० वर्षको पत्रकारितामा खाद्यान्नको समाचार लेखेर सम्मान हुने अवसर पनि पाएँ । तर वास्तवमा मैले नै कृषि बिटलाई प्राथमिकता दिएको रहेनछु, अहिले आफैँले फार्म चलाउँदा थाहा पाएँ कि किसानका पीडा कस्ता हुँदा रहेछन् ।” उनले आगामी दिनमा कृषिकै लागि समर्पित हुँने जानकारी गराउँदै कृषि पत्रकारहरुको संस्था अनाजले थप कृषि सञ्चार प्रवद्र्धनका कार्यमा लाग्न सुझाए ।

    कृषि विज्ञ कृष्णप्रसाद पौडेलले स्थानीय स्रोतसाधनमा आधरित परम्परागत एकिकृत खेती प्रणालीलाई उन्नत बनाउने मार्गचित्र मुख्य प्रस्थान विन्दु रहेको बताए ।

    उनले मुलुकलाई आधारभूत खाद्यवस्तुमा आत्मनिर्भर बनाउने र तुलनात्मक लाभका कृषि उपजको प्रवद्र्धनबाट आयात प्रतिस्थापन, रोजगारी र आम्दानीमा वृद्धि गर्ने उद्देश्यमा केन्द्रित हुनसमेत आग्रह गरेका छन् ।

    कृषि तथा पशुपक्षी विकास मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले मिडियाले विगतदेखि नै समाज परिवर्तनको भूमिका खेलेकाले कृषिमा पनि परिवर्तनको लागि भूमिका खेल्न आग्रह गरेका छन् ।

    उनले तीन तहका सरकारमा अधिकार र कर्तव्य जाँदा कुन तहले के कुरामा प्रथामिकता दिएको छ भन्ने विषयमा समिक्षा गर्नसमेत आवश्यक रहेको बताए ।

    अनाजका अध्यक्ष किरण आचार्यले सञ्चारकर्मीहरुले कृषि क्षेत्रको विकासको लागि निरन्तर कलम चलाएको र अगामी दिनमा सरोकारवालाहरुसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

    उनले सञ्चारमाध्यमहरुले उठाएका विषयहरुले गर्दा कृषि क्षेत्रमा आमूल परिवर्तन भएको बताउँदै सञ्चारकर्मीको क्षमता विकासका लागि आगामी दिनमा यस्ता कार्यक्रमहरु निरन्तर गर्ने बताए ।

    कार्यक्रममा सञ्चारकर्मीहरुले किसानहरुको उत्पादनले बजार नपाउँदा अधिकांश किसानहरु यस क्षेत्रबाट विस्थापित भएकाले राज्यले आवश्यक पहल गर्नसमेत आग्रह गरेका थिए ।

    उनीहरुले किसानको मुद्दाहरुमा कलम चलाउन कृषिका निकायहरुले समेत समन्वय नगरेको गुनासो गरेका थिए ।

    कृषिका समाचार मिडियाले प्राथमिकतामा राख्नुपर्ने, कृषि पत्रकारको क्षमता अभिवृद्धिका लागि सरोकारवाला निकाय गम्भीर भएर लाग्नुपर्ने, कृषिमा कलम चलाउने पत्रकारहरुले पनि आफ्नो जिम्मेवारीको गाम्भीर्यता महशुस गर्दै थप प्राथमिकतासाथ लाग्नुपर्नेलगायतका सुझाव सहभागीको रहेको छ ।


    प्रकाशित : मंगलबार, श्रावण २२ २०८११०:२४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार