२०८३, कार्तिक १५ गते आइतबार

नाचगान गरेर जुटाएको रकम सामाजिक सेवामा

नाचगान गरेर जुटाएको रकम सामाजिक सेवामा


  • मेरोभ्यूज
  • श्रावण २१, २०८१ सोमबार

  • नाचगान गरेर जुटाएको रकम सामाजिक सेवामा

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-४ को उपल्लो तातोपानी बजारका बासिन्दाले नाचगान गरेर जुटाएको रकम सामाजिक काममा परिचालन गरेका छन् ।

    उपल्लो तातोपानीमा रहेको टोल विकास संस्था र जलमाई भगवती आमा समूहले प्राकृतिक तातोपानी कुण्डमा स्नानका लागि र विदेशबाट जन्मथलो आएका लाहुरेहरूको स्वागतका लागि हरेक शुक्रबार सांस्कृतिक कार्यक्रम गर्छन् ।

    नाचगान गरेर पाहुना र लाहुरेहरूबाट जुटाएको सहयोग रकमबाट सिसीटिभी क्यामेरा जडान, विश्रामस्थल, सडक बत्ती, फोहर व्यवस्थापनलगायत काममा खर्च गरिएको उपल्लो तातोपानी टोल विकास संस्थाका अध्यक्ष मुक्तिप्रसाद जुग्जालीले बताए ।

    “तातोपानीमा हरेक शुक्रबार साँझ हुने सांस्कृतिक कार्यक्रममा नाचगान गरेर जुटाएको रकम सामाजिक कामका लागि सहयोगी बनेको छ”, उनले भने, “सांस्कृतिक कार्यक्रमले मौलिक लोक संस्कृतिको पुस्तान्तरण र संरक्षणमा पनि सहयोग पुगेको छ ।”

    अध्यक्ष जुग्जालीका अनुसार नाचगान गरेर जुटाएको रु दुई लाख ८६ हजार र ७६ घरपरिवारबाट रु एक हजार पाँच सयका दरले सङ्कलन गरेको रकमबाट रु चार लाख खर्चेर उपल्लो तातोपानी बजारको सुरक्षाका लागि हालै १६ ठाउँमा सिसीटिभी क्यामेरा जडान गरिएको छ ।

    सो सिसीटिभी क्यामेरामा एक महिनासम्मको आवाजसहितको भिडियोलाई भण्डारण गर्ने क्षमता रहेको छ ।

     केही दिनअघि उपल्लो तातोपानीमा भएको चोरीको घटनामा संलग्नलाई सिसीटिभी क्यामेराको फुटेजका आधारमा तत्कालै पक्राउ गरेर प्रहरीलाई बुझाएको जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जाली गर्बुजाले बताए ।

    आमा समूह र टोल विकास संस्थाले गत तिहारमा देउसीभैलो खेलेर जुटाएको रकमबाट उपल्लो बजारबाट तातोपानी कुण्डमा जाने सडकको डिलतर्फ रेलिङ र विश्रामस्थल बनाएका छन् ।

    यसअघि सडक किनारामा फूलका बिरुवा रोपिएको र सडकबत्ती जडान गरेर उज्यालो पारिएको संस्थाका उपाध्यक्ष मीना पुन बुढाथोकीले बताए ।

    उपल्लो तातोपानीमा बसोबास गर्ने सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरूले हालै रु पाँच लाख खर्चेर दुईवटा प्रतिक्षालय बनाएका छन् ।

     सो प्रतिक्षालयबाट स्थानीयवासी, तातोपानीमा आउने पाहुना र बेनी-दरवाङ सडकमा यात्रा गर्ने यात्री लाभान्वित भएका छन् ।

    कुण्डचोकमा सार्वजनिक शौचालय बनाउने योजना रहेको उपाध्यक्ष बुढाथोकीले बताए ।

    बिरेनूनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वासका साथ गत वर्ष नेपालका ५९ जिल्ला, भारत, रसिया, फ्रान्स र जापान ४४ हजार जनाभन्दा बढी स्नानका लागि तातोपानी आएका थिए ।


    प्रकाशित : सोमबार, श्रावण २१ २०८१११:२७
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार