२०८३, कार्तिक १५ गते आइतबार

पोखरामा गाउँगाउँबाट कृषि ‘एम्बुलेन्स’ले ल्याउँछ तरकारी

पोखरामा गाउँगाउँबाट कृषि ‘एम्बुलेन्स’ले ल्याउँछ तरकारी


  • मेरोभ्यूज
  • श्रावण २०, २०८१ आइतबार

  • पोखरामा गाउँगाउँबाट कृषि ‘एम्बुलेन्स’ले ल्याउँछ तरकारी

    कास्की । पोखरा महानगरपालिका-७ माछापुच्छ«े टोलकी आस्था गिरी साँझ आफ्नै घरछेउमा थरिथरिका तरकारी किन्न पाउँदा मख्ख हुन्थ्यो । त्यहाँ उनीजस्ता धेरै गृहिणीको तरकारी किन्न भीड नै लागेको थियो ।

    कृषि एम्बुलेन्सले गाउँगाउँबाट लिएर आएका तरकारी बिक्रीका लागि पोखरा महानगरपालिकाले वडा नं ७ को रत्नचोकमा किसान बजार सञ्चालनमा ल्याएपछि उपभोक्तामा खुसी छाएको छ ।

    फर्सीका मुन्टा, गोलभेँडा, करेलालगायत तरकारी हातमा लिएर आस्थाले भने, “पृथ्वीचोकतिर पुगेर तरकारी ल्याउने गरेका थियौँ, यसरी घर नजिकै छानीछानी ताजा तरकारी पाउँदा खुसी लागेको छ । यो बजार निरन्तर सञ्चालन भए अझ दैनिक ताजा तरकारी पाइथ्यो कि ?” स्थानीय उत्पादन उपभोगलाई प्रवर्द्धनका लागि पोखरा महानगरपालिकाले पोखराका विभिन्न स्थानमा किसान बजार सञ्चालनमा ल्याएको छ ।

     महानगरले गाउँमा उत्पादन भएका कृषि उपज बजारसम्म ल्याउनका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

     कृषि एम्बुलेन्सले महानगरका ग्रामीण बस्तीमा उत्पादित तरकारी निःशुल्करूपमा बजारमा बिक्री वितरणमा सहयोग पुगेको छ । गत वर्षदेखि महानगरले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । कृषि एम्बुलेन्सले उत्पादक र उपभोक्तालाई जोड्ने काम गरेको महानगर कृषि तथा आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए ।

    कडरियाका अनुसार पोखराका सात ठाउँमा सातामा एक दिन किसान बजार सञ्चालन हुने गरेकोमा माग बढ्दै गएकोले केही वडामा सातामा दुई दिन बजार सञ्चालन हुने गरेको छ ।

    ग्रामीण भेगका साना किसानले उत्पादन गरेको कृषि उपज सङ्कलनका लागि महानगरका २१ स्थानमा सङ्कलन केन्द्र स्थापना गरिएको र ती ठाउँमा एम्बुलेन्स पुगेर कृषि उपज बजारमा ल्याउने गरेको महाशाखा प्रमुख कडरियाले बताए ।

    “ठूला किसानले आफ्नै गाडीबाट ल्याएर बजारमा बिक्री गरे पनि साना किसानले त्यसरी बिक्री गर्न सक्दैनन् । अहिले किसानले आफूले उत्पादन गरेका कृषि उपज सङ्कलन केन्द्रमा लिएर आउँछ, कृषि एम्बुलेन्सले त्यहाँबाट बजारसम्म ल्याउने गर्दछ । अहिले उत्पादकको उत्पादनले राम्रो बजार पाएको छ भने उपभोक्ताले स्वस्थ, विषादीरहित र ताजा कृषि उत्पादन उपभोग गर्न पाएको छ”, प्रमुख कडरियाले जानकारी दिए ।

    कृषि एम्बुलेन्स सञ्चालनसँगै बजारका उपभोक्ताले विषादीरहित ताजा तरकारी उपभोग गर्न पाएको बताइन्छ । बाहिरबाट ल्याउँदा तरकारी क्षति हुने, प्रदूषित हुने गरेकोमा अहिले एकदेखि दुई घण्टामा उत्पादकदेखि उपभोक्तासम्म आइपुग्ने अवस्था रहेको महाशाखा प्रमुख कडरियाले बताए ।

    उनले भने, “बाहिरबाट तरकारी ल्याउँदा क्षति हुने गरेको थियो । प्रदूषितसमेत हुन्थ्यो । चिस्यान सुविधासहितको एम्बुलेन्समा राखेर ल्याउँदा तरकारी बिग्रिँदैन । एक/दुई घण्टामा उत्पादकदेखि उपभोक्तासम्म आउने गरेको छ ।

    ” कृषि उपजमा हुने क्षति कम, उत्पादन क्षेत्रदेखि बजार केन्द्रसम्म सुरक्षित उपज ढुवानी, बजारीकरण र बिचौलियापनको अन्त्य, किसानलाई तरकारी बजारसम्म पुर्याउन हुने तनावको अन्त्य, स्थानीय उत्पादनलाई प्रोत्साहन र उपभोक्ताको घरघरमा ताजा तरकारीको उपलब्धतामा एम्बुलेन्सले सहयोग पुगेको बताइन्छ


    प्रकाशित : आइतबार, श्रावण २० २०८१०९:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार