भोजपुर । जिल्लाको हतुवागढी गाउँपालिकाले यहाँका विभिन्न संस्कार संस्कृति तथा ऐतिहासिक सम्पदाको संरक्षण थालेको छ ।
ऐतिहासिक सांस्कृतिक धरोहरको संरक्षण गर्दै भावी पुस्तासम्म पु¥याउने लक्ष्यले गाउँपालिकाले संरक्षणका कार्यक्रम सञ्चालन गरेको हो ।
गाउँपालिकाले ऐतिहासिक सम्पदाको संरक्षणमा काम गरेपछि स्थानीय उत्साहित बनेका छन् ।
पालिकाले थालेको यो कामले इतिहास र यहाँका संस्कृति, परम्परालाई भावी पुस्तासम्म हस्तान्तरण गर्न टेवा पुग्ने स्थानीय सञ्जय कुलुङले बताए ।
इतिहाससँगै भाषा, संस्कार संस्कृतिलाई बचाई राख्न सहयोग पुग्ने उनको भनाइ छ ।
“ऐतिहासिक सम्पदा तथा संस्कार, सस्कृतिको संरक्षणमा पालिकाले गरिरहेको काम उदाहरणीय छ”, कुलुङले भने, “हाम्रा ऐतिहासिक सम्पदाको संरक्षण गरिएन भने भावी पुस्तासम्म पुग्न सक्दैनन् ।
कतिपय पुराना रीतिरिवाज, धर्म, संस्कार, संस्कृति रहन-सहन लोप हुने अवस्थामा छन् ।
विभिन्न जातजाति, भाषाभाषीसँग जोडिएका सम्पदाको संरक्षणमा पालिकाले थालेको प्रयासमा हाम्रो साथ छ ।
” पालिकाका साथै देशविदेशमा रहेकाको सहयोगमा थुलुङ समुदायको संस्कृतिसँग जोडिएको ‘सोरिनेम तोसिखोम’ (पितृ घर० निर्माणले उत्साह थपिएको कुलुङले बताए ।
परम्परागतरुपमा रहँदै आएका यस्ता संस्कृतिलाई जीवन्त राख्न संरक्षण तथा विकासमा जोड दिइएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए ।
यहाँका ऐतिहासिक सम्पदासँगै संस्कार संस्कृतिको संरक्षण र प्रवर्द्धनमा योजनाबद्धरुपमा काम गरिरहेको उनले जानकारी दिए।
यहाँका ऐतिहासिक क्षेत्रलाई धार्मिक पर्यटनसँग जोड्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ ।
“हतुवागढी गाउँपालिकामा धेरै ऐतिहासिक सम्पदाहरु छन्”, अध्यक्ष राईले भने, “यी सम्पदाहरुको संरक्षण, प्रवर्द्धन गरी पूर्वाधार विकासमा जोड दिएका छौँ ।
यी क्षेत्रको विकाससँगै पर्यटनसँग जोड्ने सोचका साथ काम गरिरहेका छौँ ।” विभिन्न देवस्थल तथा ऐतिहासिक संरचनाको संरक्षण, पुराना रितिरिवाजको खोजी, विभिन्न जातजातिको देवाली थान, समाधिस्थल निर्माणलगायत काम भइरहेको उनले जानकारी दिए ।
विभिन्न आर्थिक वर्षमा बजेट विनियोजन गरेर संरक्षण तथा विकासको काम गर्दै आइएको गाउँपालिकाले जनाएको छ ।
संरक्षणको अभावमा धेरै भाषा, संस्कार संस्कृतिहरु लोप हुँदै गएको अवस्थालाई ध्यानमा राखेर संरक्षण गर्न थालिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए ।
उनका अनुसार ऐतिहासिक सम्पदा तथा जातजातीको धर्म संस्कार, संस्कृतिको संरक्षण गरेर नयाँ पुस्तासम्म पु¥याउने लक्ष्यका साथ काम भइरहेको छ ।
“हामीले ऐतिहासिक सम्पदाको संरक्षण गरेर नयाँ पुस्तासम्म पु¥याउन आवश्यक छ” प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने ।
“ यहाँका ऐतिहासिक क्षेत्रहरुको पहिचान गरेर संरक्षण, प्रवर्द्धन गर्नै आएका छौँ । यसलाई धार्मिक पर्यटनसँग जोड्न सके स्थानीयको आयस्तर वृद्धि हुनाका साथै रोजगारीका अवसर पनि सिर्जना हुने अपेक्षा लिएका छौँ ।”

