मनाङ । बाढीका कारण पूर्ण रुपमा अवरुद्ध मनाङ प्रवेशको एक मात्र सडक सञ्चालनमा आएको छ ।
चामे गाउँपालिका-१ तिमाङस्थित स्याक्र्यु झरनामा फलामको पुल राखेपछि यातायात सञ्चालनमा आएको हो ।
वर्षा भइरहेकाले केही कठिनाइ भएको भन्दै लामो समयको प्रयासपछि पुल राख्ने काम पूरा भएसँगै यातायात नियमित सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताए ।
निरन्तरको वर्षासँगै गत असार १८ गते झरनाको बाढीसँगै आएको ढुङ्गासहितको गेग्र्यानले मोटरेवल पुलमा क्षति पु¥याएपछि आवत-जावत रोकिएको थियो ।
उक्त स्थानमा फलामको पुल राखेपछि यातायातका साधन सञ्चालनमा आएको उनले जानकारी दिए ।
प्रजिअ लामिछानेले भने, “पानी पर्ने क्रम केही कम भए पनि मनसुन कायम रहेकाले काम केही ढिलाइ भएको हो । पुलबाट पैदलयात्रीका साथै सवारीसाधन आवत-जावत गर्न सक्छन् ।”
तिमाङ खोलाको बाढीले काठेपुल पनि बगाएको थियो । तिमाङ खोलामा बाढीले डुम्रे-चामे-बेँसीसहर खण्डअन्तर्गत दानाक्यु, तिमाङ सडक अवरुद्ध भएको थियो ।
तिमाङ खोलामा पनि काठेपुल राखेर यातायात सञ्चालन गरिएको प्रजिअ लामिछानेले बताए ।
प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङले पटक-पटकको बाढीपहिरोको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले डुम्रे-बेँसीसहर-चामे सडकअन्तर्गतको मनाङ क्षेत्रमा मोटरेबल पुल बनाउन पहल भइरहेको बताए ।
उनका अनुसार जिल्लावासीलाई सहज यात्रा गर्ने वातावरण बनाउन यहाँका विभिन्न आठ स्थानमा मोटरेबल पुल राख्न पहल भइरहेको छ ।
सांसद गुरुङले भने, “यहाँका नागरिकले सधैँ जोखिम र सास्ती भोगेर गर्नुपर्ने यात्रामा सहज बनाउने प्रयासमा छौँ । चालु आर्थिक वर्षमा समावेश हुनेगरी आठवटा पुल निर्माण गर्न माग गरिएको छ ।”
पर्यटकीय क्षेत्र भएकाले पनि मनाङको यात्रा सहज बनाउन आवश्यक रहेको उनको भनाइ छ ।
गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले आवत-जावत रोकिएपछि प्राथमिकताका साथ स्थलगतरुपमा खटिएर फलामको पुल राखी यातायात सञ्चालनमा ल्याइएको बताए ।
मनाङवासीको सास्तीलाई सहज बनाउने प्रयासमा प्रदेश रहेको उनको भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मनाङका इन्चार्ज कपिल लामाले यात्रा कठिन भइरहेको अवस्थामा पुल पुनःनिर्माण भई सञ्चालनमा आएपछि खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका साथै अन्य निर्माण सामग्री ढुवानीमा सहज भएको बताए ।
झरनामा फलामको पुल राख्ने क्रममा कामदारले जोखिमपूर्ण अवस्थामा काम गरेको प्रजिअ लामिछानेले बताए ।
“झरनाको पानी कम भएपछि मात्रै काम थालिएको थियो”, उनले भने, “यहाँ पुल निर्माण भएसँगै यात्रा सहज भएको छ ।” पुल बनेसँगै विच्छेद भएको तल्लो र माथिल्लो मनाङ आवत-जावत सहज हुँदा स्थानीय खुसी भएका छन् ।

