सुनसरी । सिराहाबाट आएका रामबाबु यादव भेडेटारको पाथीभरा मन्दिरमा भेटिए ।
यो मन्दिरमा पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने ठानेर आफू दोस्रोपटक आएको उनले जानकारी दिए ।
दुहवी नगरपालिकाका विजयकुमार गौतमले पनि पाथीभरा दर्शन गरे चिताएको पूरा हुने विश्वासका कारण भेडेटार आएको बताए ।
विराटनगरका उमेश साहले परिवारको प्रगति र शान्तिको कामना गर्न मन्दिर आएको सुनाए ।
“ताप्लेजुङको पाथीभरा पुग्न हामीलाई केही दिन लाग्छ, ठूलो पाथीभराको झै महत्व भएकाले यहीँ पूजा गरेको उनले बताए ।
उक्त मन्दिरमा पूजाअर्चना गरेमा मागेको कुरा पूरा हुन्छ भन्ने विश्वासका कारण प्रायः आफू सपरिवार आउने गरेको उनले जानकारी दिए ।
देशका विभिन्न भागका साथै भारतका सिक्किम, दार्जिलिङलगायत स्थानबाट यहाँ भक्तजन आउने गरेका मन्दिरका पुजारी आइतबहादुर लिम्बूले जानकारी गराए ।
दैनिक सरदर दुई सय ५० तथा वार्षिक ५० हजार भक्तजन आउने गरेको उनले बताए । यहाँ बिहानदेखि बेलुकासम्म पूजा हुने गरेकोले बेलुकासम्म नै मान्छेको चहल-पहल हुने गर्दछ ।
मन्दिरका कारण कोशी प्रदेशको धार्मिक पर्यटकीयस्थलका रूपमा भेडेटार विकसित भएको पुजारी लिम्बूले बताए ।
विगतमा देवीको यो मन्दिरमा भेडा-बोकाको बलि दिने गरिएकोमा हाल परेवा उडाउने, फलफूल चढाउने र शृङ्गारका सामग्री चढाउन थालिएको छ ।
ताप्लेजुङको पाथिभरा मन्दिर पुग्न नसक्नेहरूले यहीँबाट भाकल पूरा गर्ने पुजारी लिम्बू बताउँछ ।
समुद्र सतहबाट एक हजार चार सय मिटर उचाइमा रहेको देवीको मूर्तिलाई २०५७ सालमा मन्दिर स्थापना गरी पूजा गरिँदै आइएको छ ।
यो मन्दिरबाट ताप्लेजुङको पाथीभरा देखिने भएकाले यसलाई सोही मन्दिरको प्रतीक मानेर पूजाआराधना हुने गरेको छ ।

