भोजपुर । भोजपुर नगरपालिका-७ कोदारले सडकको स्तरोन्नतिमा प्राथमिकता दिएसँगै स्थानीयलाई सहजता भएको छ । विगतमा हिलाम्य हुने सडकको स्तरोन्नति गर्न वडाले काम थालनी गरेपछि स्थानीयलाई सहजता भएको हो ।
हिलाम्य सडकको स्तरोन्नति गरिएपछि स्थानीयवासी उत्साहित भएका छन् । सडक स्तरोन्नतिले दैनिकीमा सहजता भएको स्थानीयवासी भगवती तामाङले बताइन् ।
सडक हिलाम्य हुँदा आवत-जावतसँगै उत्पादित कृषि उपजको बजारीकरणमा समेत समस्या हुने गरेकामा अहिले सजहता भएको उनको भनाइ छ ।
“सडक व्यवस्थित नहुँदा हामीलाई आवतजावतमा धेरै समस्या थियो,” उनले भनिन्, “अहिले सबै टोलमा सडकको स्तरोन्नति गरिएपछि सहजता छ । हामीलाई दैनिक आवत-जावतमा कुनै समस्या छैन ।”
स्थानीयको समस्यालाई ध्यानमा राख्दै वडाले बर्सातमा हिलाम्य हुने सडकलाई ढलान तथा ग्राभेल गरेर बाह्रै महिना सञ्चालन आउनेगरी स्तरोन्नति गरेपछि दैनिकीमा परिवर्तत आएको स्थानीयवासी हरिबहादुर महतले बताए ।
सडकले गाउँघरको जीवनशैलीमा सहजता थपिएको उनको भनाइ छ । “सडकको विकास गरिएपछि हामीमा उत्साह बढेको छ,” उनले भने, “हाम्रो क्षेत्रका मुख्य सडकमा आवत-जावतमा समस्या छैन । वडाले थालेको योजनाबद्ध विकासले हामीलाई खुसी लागेको छ ।”
वडाभित्रका सडकलाई प्राथमिकताका साथ स्तरोन्नति तथा विकास गरिरहेको वडा वडाध्यक्ष जयबहादुर तामाङले बताए ।
हालसम्म यहाँको करिब दुई किलोमिटर सडक ढलान सम्पन्न गरेको उनको भनाइ छ । स्थानीयको आवत-जावतमा सहजता थप्न वडाभित्र अधिकांश सडक ग्राभेल गर्ने काम सम्पन्न भएको उनले बताए ।
“मैले यहाँको वडाको योजनाबद्ध विकासमा जोड दिएको छु,” वडाध्यक्ष तामाङले भने, “यहाँका मुख्य सडकहरु प्रायः ढलान तथा ग्राभेल भएका छन् । सडक विस्तारसँगै किसानलाई आय-आर्जनमा जोड्न तरकारी तथा नगदेबाली खेतीमा पनि जोड दिएका छौँ ।”
सीमित बजेटमा पनि अधिकतम उपयोग हुने तवरबाट योजनाहरु सञ्चालन गरिरहेको वडाले जनाएको छ । स्थानीयको समस्यालाई ध्यानमा राख्दै यहाँका मुख्य सडकहरु करिब दुई सय मिटरबाहेक सबै सडक ग्राभेल गरिएको वडाको दाबी छ । नमूना वडा बनाउने लक्ष्यका साथ काम गरिरहेको वडाध्यक्ष तामाङले बताए ।

