बागलुङ । यहाँको काठेखोला गाउँपालिकाले खेर गइरहेका वनक्षेत्र लगायतका झाडी फाँडेर चियाखेती सुरु गरेको छ ।
यसैवर्ष मात्र थामानेटामा तीन रोपनी क्षेत्रफलमा चियाका बेर्ना रोपिएको छ ।
थामानेटासहित पालिकाले रेश र धम्जामा ५५ रोपनी क्षेत्रफलमा यो वर्ष चियाखेती विस्तार गरेको हो ।
थामानेटाको जौछरे सामुदायिक वनको झाडी फाँडेर गाउँपालिकाले वन उपभोक्ताको सक्रियतामा चियाको बर्ना लगाएको छ ।
लोकमार्ग नजिकै रहेको थामानेटा एक प्रसिद्ध वनभोज स्थलका रुपमा परिचित छ ।
थामानेटामा अहिले ‘भ्यू टावर’ र आश्रयस्थललगायत संरचनासमेत निर्माण भइसकेका छन् ।
लोकमार्गका यात्रुहरुको विश्रामस्थलका रुपमा रहेको थामानेटामा चिया बगान निर्माण भएपछि पर्यटक बढ्ने अपेक्षा गाउँपालिकाको छ ।
थामानेटा आएका पर्यटकलाई थप आकर्षित गर्न र उपभोक्ताको आय-आर्जन वृद्धि गर्न यस क्षेत्रमा पहिलोपटक चियाखेती गरिएको काठेखोला गाउँपालिका-५ का वडा अध्यक्ष ज्ञामनाथ कँडेलले जानकारी दिए ।
उनका अनुसार वडामा पहिलोपटक चियाखेती थाले पनि गाउँपालिकामा भने पहिलो होइन ।
यसअघि काठेखोला गाउँपालिका-७ रेशमा पाँच वर्ष अघिदेखि चियाखेती भइरहेको छ ।
रेशमाको चियाखेती सफल भएपछि गाउँपालिकाले सम्भावित क्षेत्रमा चियाखेती विस्तार गर्न थालेको हो ।
रेशमा चियाखेती सफल भएपछि गाउँपालिकाले चियाखेती विस्तार गर्ने योजनाअनुसार विभिन्न वडाको ५५ रोपनी क्षेत्रफलमा चियाखेती लगाएको छ ।
वडा अध्यक्ष कँडेलका अनुसार थामानेटामा एक हजार पाँच सय चियाका बिरुवा पहिलोपटक रोपिएको छ ।
वडा अध्यक्ष कँडेलले भने, “सामुदायिक वनमा आगामी वर्षसम्म दस रोपनी क्षेत्रफलमा चियाखेती लगाउने योजना छ, वडा कार्यालयले चियाखेती विस्तारमा सघाउने लक्ष्य छ ।”
काठेखोला गाउँपालिका-७ रेशमा निजी, विद्यालय र सार्वजनिक जग्गामा गरी एक सय ४० रोपनी क्षेत्रफलमा चियाखेती विस्तार भइसकेको छ ।
रेशमा पाँच वर्षअघि लगाइएका एक हजार पाँच सय चियाका बिरुवाले उत्पादन दिन थालिसकेको छ ।
चियाखेती गाउँपालिकाभर विस्तार गर्ने लक्ष्य रहेको काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले जानकारी गराए ।
उनले आर्थिक वर्ष २०८०-८१ मा रेशसहित थामानेटा र धम्जामा चियाखेती विस्तार गरिएको बताए ।
गाउँपालिकाले चियाखेती विस्तारका लागि रु ११ लाख बजेट विनियोजन गरेको थियो ।
बिहुँको थामानेटामा झाडी फाँडेर चियाखेती थालिएको छभने रेश र धम्जाका सामुदायिक विद्यालयको बाँझो जग्गालाई चिया बगैँचा बनाउन थालिएको थापाको भनाइ छ ।
रेशमा उत्पादित चियाले बजार पाउन थालेपछि अन्यत्रको बाँझो तथा खाली जग्गामा चियाखेतीमा गाउँपालिकाले अग्रसरता देखाएको काठेखोला गाउँपालिका-७ रेशका वडा अध्यक्ष प्रेम लामिछानेले जानकारी दिए ।

