२०८३, कार्तिक १५ गते आइतबार

हाई हिमालयन अर्गानिक प्रा.लि.ले उत्पादन प्राकृतिक जीवाणु मलको माग बढ्यो

हाई हिमालयन अर्गानिक प्रा.लि.ले उत्पादन प्राकृतिक जीवाणु मलको माग बढ्यो


  • मेरोभ्यूज
  • श्रावण ११, २०८१ शुक्रबार

  • हाई हिमालयन अर्गानिक प्रा.लि.ले उत्पादन प्राकृतिक जीवाणु मलको माग बढ्यो

    झापा ।  विर्तामोड नगरपालिका-२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रा.लि.ले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ ।

     हाई हिमालयन अर्गानिक प्रा.लि.ले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ ।

    यहाँबाट उत्पादित मलको प्रयोगले रासायनिक मलको आयातलाई प्रतिस्थापन गर्नाका साथै माटोको उर्वरा शक्तिलाई बढाउने हुँदा यसको माग बढेको हाई हिमालयन अर्गानिक प्रा.लि.का अध्यक्ष प्रदीप घिमिरेले जानकारी गराए ।

    अध्यक्ष घिमिरेका अनुसार कारखानाबाट पातमल, जरामल, धुलोमल र माछामल उत्पादन भइरहेको छ ।

     यहाँ उत्पादित मल झापा, इलाम, सुनसरी र मोरङमा प्रयोग हुँदै आएको छ ।

    दुई वर्षअघि करिब एक बिगाहा जमिन भाडामा लिएर रु ६० लाखको लागतमा सुरु गरिएको कारखानामा हाल रु तीन करोड बढी लगानी भइसकेको छ ।

    स्थानीय व्यक्तिको सहयोगमा सञ्चालन गरिएको कारखानाबाट उत्पादन हुने पातमल, जरामल, धुलोमलको प्रयोगले बोटबिरुवालाई छिटो बढ्न, राम्रो उत्पादन दिन र बाली संरक्षक प्राङ्गारिक जीवाणुको रक्षा गर्ने उनले बताए ।

     माछामलले पोखरीमा माछाका लागि प्राकृतिक खाद्य पदार्थ बढाउन मद्दत गर्दै आएको छ ।

    जीवाणु प्रविधिमा आधारित यी मलको माग दिनानुदिन बढिरहेको जनाउँदै कारखानाका सञ्चालक घिमिरेले माटोमा पहिले प्रयोग भएको रासायनिक मलको नकारात्मक असर हटाउन, जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न र रोग कीराको प्रकोप नियन्त्रण गर्नसमेत यसले सहयोग पु¥याउने बताए ।

    महिनामा एक हजार मेट्रिक टन मल उत्पादन गर्न सक्ने क्षमताको कारखानाबाट विगत छ महिनादेखि व्यावसायिक उत्पादन सुरु भएको छ ।

     कारखानाबाट एकपटकमा सय टन धुलो मल र महिनामा ६० देखि ७० हजार लिटर झोल मल उत्पादन हुँदै आएको छ ।

     स्थानीयस्तरमा पाइने, झारपात, काठको धुलो, पिना, गाईको गोबर, गहुँतलगायतको कच्चापदार्थ यो मल बनाउन प्रयोग हुने गरेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

     हाई हिमालयनले कम्पोस्ट मल प्रतिकिलो रु ४० र झोलमल प्रतिलिटर रु ४० का दरले बिक्री गर्दै आएको छ ।

    सरकारले जैविक मल उत्पादक उद्योगी र प्रयोगकर्ता किसानलाई प्रोत्साहन अनुदान दिँदै आएको छ ।

    अध्यक्ष घिमिरेले जैविक मल उत्पादन गर्ने तरिका अध्ययनका लागि थाइल्यान्ड, फिलिपिन्स, डेनमार्क, बेल्जियमलगायत देशको भ्रमण गरिसकेको जानकारी दिए ।

     “त्यहाँको अनुभव र प्रविधिलाई समेत हामीले यहाँ प्रयोगमा ल्याइरहेका छौँ”, उनले भने ।

    अध्यक्ष घिमिरेले सरकारले किसानलाई रासायिनक मलमा अनुदान दिने गरेको तर प्राकृतिक जैविक मललाई बेवास्ता गर्ने गरेको आरोप लगाए ।

    उनले सरकारले बेवास्ता गरे पनि किसानको मागलाई धान्नका लागि निकट भविष्यमै मेचीनगर, अर्जुनधारा, शिवसताक्षी नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा समेत उद्योग सञ्चालनको तयारी रहेको बताए ।

    कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जिल्लामा एक मात्र हाई हिमालयन अर्गानिक प्रा.लि. मात्र जीवाणु मलको कारखाना रहेको बताए ।

    उनले विगतमा कारखाना स्थापनाका लागि सरकारले रु ४० लाख अनुदानसमेत प्रदान गरेको जानकारी दिए ।

    “प्राङ्गारिक मलको तुलनामा जीवाणु मल धेरै उत्तम र सस्तो हो”, उनले भने, “यो मल पटक-पटक प्रयोग गरिरहनु पर्दैन, यसले मोटोको गुणस्तर सुधार गर्ने र निरोगी बनाउने, लागत खर्चसमेत घटाउँदै लैजाने गुण हुन्छ ।”  

    कृषि ज्ञान केन्द्रका प्रमुख विष्टका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट नेपालको औद्योगिक विकासमा उल्लेखनीय योगदान पु¥याएकामा अध्यक्ष घिमिरले हालै रु दुई लाख नगद पुरस्कारसमेत पाएको छ ।


    प्रकाशित : शुक्रबार, श्रावण ११ २०८१०९:२१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार