२०८३, कार्तिक १५ गते आइतबार

झापाबाट ढुङ्गा काट्ने मेसिनसहित  लमजुङको राइनासमा आएका प्रसाईं कृषि व्यवसायमा

झापाबाट ढुङ्गा काट्ने मेसिनसहित  लमजुङको राइनासमा आएका प्रसाईं कृषि व्यवसायमा


  • मेरोभ्यूज
  • श्रावण १०, २०८१ बिहीबार

  • झापाबाट ढुङ्गा काट्ने मेसिनसहित  लमजुङको राइनासमा आएका प्रसाईं कृषि व्यवसायमा

    लमजुङ ।  कृषि पेसाबाट केही गर्न सकिन्न भन्नेका लागि उदाहरणीय पात्र बनेको छ सूर्य प्रसाईं ।

     लमजुङको राइनासमा कृषि व्यवसाय गरिरहेका प्रसार्इंको गृह जिल्ला लमजुङ होइन ।

    झापाबाट ढुङ्गा काट्ने मेसिन लिएर लमजुङ आएका प्रसाईंले गरेको कृषि कर्मबाट स्थानीय युवाले अवश्य पनि केही सिक्छन् ।

    विदेशी भूमिमा गएर कृषि पेसामा रातदिन काम गर्नेहरुले एकपटक प्रसाईंको कृषि फार्म हेरेर केही सोच्नु पर्नेछ ।

     लगनशील भएर मेहनत गरे के सम्भव छैन भन्ने उदाहरण उनले दिएको छ ।

    अथक उत्साह, साहस, मेहनत र निरन्तरताले त्यो सफलता पाउन सकिन्छ ।

     “आफ्नै भिरपखेरा अनि खेर गएर बसेका पाखामा कृषिकर्म गरे विदेशी भूमिमा कमाउने पैसा कमाउन त सजिलै सकिन्छ, आत्मसन्तुष्टि पनि मिल्दोरहेछ”, प्रसाईं भन्छ ।

    राइनास नगरपालिका-५, तीनपिप्लेमा कृषिकर्म गरिरहेका प्रसाईंले ढुङ्गा काट्ने काम पनि गरिरहेका छन् । यसका लागि उनले एक सय रोपनीभन्दा बढी जग्गा भाडामा लिएका छन् ।

    जङ्गल र बुट्यानले ढाकिएको जग्गा रु एक लाख २० हजार वार्षिक भाडामा लिएर विभिन्न संरचनामा उनले ५० लाख रुपैयाँजति खर्च गरेको छ ।

    अहिले खर्बुजा बिक्रीबाट एक सिजनमा मात्र रु १२ लाख आम्दानी गरेका प्रसार्इंको झापामा पनि फार्म छ । झापामा रहेको १८ बिघा जग्गामा अहिले धान लगाएको छ । धानपछि उनले खर्बुजा खेती गर्छन ।

    खर्बुजामा सुई लगाएर रङ मिसाएको भारतीय खर्बुजाको हल्लाका कारण उनले राम्रोसँग उत्पादन गरेको खर्बुजा बिक्रीमा समेत असर परेको उनको अनुभव छ । अहिले त्यसैका कारण झापाबाट राम्रो आम्दानी भएन, उनले भने ।

    लमजुङमा उत्पादन गरेको खर्बुजा जिल्लाको सदरमुकाम बेंसीसहरलगायत गोर्खा र तनहुँका पसलसम्म पुग्दछ । “बजार खोज्न अहिले नै टाढा जानु नपर्ने उनको भनाइ छ ।

    राम्रो उत्पादन गर्न सकियो भने बजार नै उत्पादन खोज्दै कृषकसम्म आउँछ, उनी भन्छ ।

    विगत १८ वर्षदेखि राईनासमा आएका प्रसाईंले पाँच वर्षदेखि यहाँ उषा बङ्गुर तथा कृषि फार्मको नाउँमा खर्बुजा, काँक्रो, घिरौँला, फर्सी, अकबरे खुर्सानीलगायतको खेती गर्दै आएको छ ।

     हेर्दा नै लोभ लाग्ने उनको खर्बुजा कृषि फार्ममा अहिले बेमौसमका फलफूलका बिरुवा हुर्कंदै छन् भने अर्कोतर्फ अकबरे खुर्सानीको ठूलो प्लट चेपे नदीको तिरैमा छ । त्यहाँ उत्पादन भएका नौलो प्रजातिको प्रतीक नामको फर्सी सलादका लागि विभिन्न बजारमा पठाउँछ ।

    आफ्नै कृषि कर्ममा हेरचाह गर्दै निरन्तर लागिरहेका प्रसाईंले स्थानीय तहबाट कुनै किसिमको सहयोग प्राप्त गरेका छैनन् ।

     कृषि ज्ञान केन्द्रले सिँचाइका लागि पाइपलाइन, मल्चिङ प्लाष्टिक र मलखादका लागि यस वर्ष रु चार लाख बराबरको सहयोग गरेको छ ।

     कृषि फार्ममा बङ्गुरपालन गरेका प्रसार्इंले गत वर्ष रोगका कारण बङ्गुर मरेपछि अहिले त्यसलाई थाति राखेको छ ।

     त्यहाँ उनले उत्पादन गरेको अकबरे खुर्सानी, खर्बुजा र अन्य मौसमी तरकारी उत्पादनका लागि नियमित पाँच जनालाई रोजगारी दिएको छ । त्यसबाहेक दैनिक ज्यालादारीमा समेत काम दिने गरेको छ ।

    केही गरौँ भन्ने उत्साह भएका युवालाई कृषिमा ठूलो लगानी गरेको सरकारी तवरबाट सानो सहयोग दिने हो भने युवालाई यही विदेशकै जस्तो कमाई गर्न सकिन्छ भन्ने उनबाट बुझ्न सकिन्छ ।

    स्थानीय तहहरुले विभिन्न शीर्षकमा बर्सेनि अनुत्पादक क्षेत्रमा बाँडिरहेका लाखौँ रुपैयाँको प्रतिफल आउन नसकेको भन्दै उनी त्यसलाई कृषि क्षेत्रमा लगाउन सकिएमा तरकारी र फलफूलमा आत्मनिर्भर हुन सकिने बताउँछन् ।


    प्रकाशित : बिहीबार , श्रावण १० २०८११०:००
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार