लिस्बन । गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा प्रकाशित 'नेपाल-पोर्चुगल दर्पण' स्मारिका विमोचन गरिएको छ । सङ्घले राजधानी लिस्बनमा एक कार्यक्रमको आयोजना गरि स्मारिकाको विमोचन गरेको हो ।
स्मारिकाको विमोचन गर्दै सङ्घका संस्थापक अध्यक्ष पूर्णबहादुर हमालले बिदेशी भूमिमा रहेर नेपाली पुस्तक प्रकाशन गर्नु ऐतिहासिक र सरहानीय कार्य भएको बताए । पोर्चुगलमा रहेका नेपालीका लागि सूचनामूलक र सन्देशमूलक पुस्तक प्रकाशन गरेको भन्दै हमालले प्रशंसासमेत गरे ।
गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्य एवं स्मारिकाका सम्पादक राजकुमार थापाले समग्र विषयवस्तुलाई समेटेर पुस्तक प्रकाशन गरिएको उल्लेख गर्दै पोर्चुगलबासी नेपालीका लागि पुस्तक अत्यन्तै उपयोगी र संग्रहणीय रहेको जानकारी दिए ।
स्मारिकाका लागि लेख, रचना र साहित्यिक सामाग्री उपलब्ध गराएर पुस्तकलाई पठनीय र जानकारीमूलक बनाउन सहयोग गरेको भन्दै सम्पादक थापाले सबैप्रति आभार व्यक्त गरे । सङ्घका अध्यक्ष उमेश खड्काले पोर्चुगलबासी नेपालीको भावनालाई समेट्ने गरि पुस्तक प्रकाशन गरिएको बताउँदै पुस्तक प्रकाशन गर्न सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गरे ।
पुस्तकमा पोर्चुगलसम्बन्धी संक्षिप्त जानकारी, पोर्चुगलमा नेपालीको अवस्था, एनआरएनए गतिविधि, आधारभूत पोर्चुगिज भाषा, आप्रवासी सम्बन्धी कानूनी तथा कागजी प्रक्रियालगायतका जानकारीमूलक लेख, रचना र साहित्य समेटिएको छ ।

