२०८३, कार्तिक १५ गते आइतबार

सशस्त्र प्रहरी बलः विपद्मा खोज तथा उद्धारदेखि राजस्व सङ्कलन

सशस्त्र प्रहरी बलः विपद्मा खोज तथा उद्धारदेखि राजस्व सङ्कलन


  • मेरोभ्यूज
  • श्रावण ७, २०८१ सोमबार

  • सशस्त्र प्रहरी बलः विपद्मा खोज तथा उद्धारदेखि राजस्व सङ्कलन

    सुनसरी । जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वाटरले विपद्मा खोज तथा उद्धार, चोरी तस्करी तथा लागुऔषध नियन्त्रण र विपद् जोखिम न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्दै आएको छ ।

    गत आर्थिक वर्षमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ हेडक्वाटरले विपद् खोज तथा उद्धारका क्रममा कोशी प्रदेशका विभिन्न नदी र खोलामा डुबेका दस जनाको शव निकालिएको जनाएको छ ।

    विपद्मा फसेकाको खोज तथा उद्धारका लागि कोशी नदीमा नमूना अभ्यास गर्ने क्रममा डुबेका १३ जना र गत चैत २७ गतेदेखि बराह क्षेत्र चतराधाममा सञ्चालन भएको पूर्णमहाकुम्भ मेलामा फसेका दस जनाको जीवित उद्धार गरिएको कार्यालय प्रमुख सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए ।

    सोही अवधिमा कार्यालयले विभिन्न चोरी तथा अवैध सामान बरामदका शीर्षकमा प्रतिवादीलाई कारबाही गरी रु १७ करोड ९९ लाख १३ हजार चार सय नौ राजस्व सङ्कलन गरेको बज्राचार्यले जानकारी दिए ।

    जिल्लास्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बसन्तपुरबाट खटिएको टोलीले जाँच गर्ने क्रममा घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ प ७६१३ नम्बरको कारबाट रु एक करोड एक लाख, विशेष सुराकीका आधारमा हरिपुरबाट मकै भनी रु ४५ लाख ५० हजार बराबरको चिनीलगायत विभिन्न समयमा अवैध सामग्री बरामद गरिएको बज्राचार्यले जानकारी दिए ।

    गत आवमा एक सय १५ वटा सडक दुर्घटना हुँदा २७ को मृत्यु, दुई सय ११ जना घाइते भएका छन् । हेडक्वाटरले एक सय ४१ आगलागीका घटनालाई नियन्त्रण गरिएको जनाएको छ ।

    एक हजार तीन सय तीन किलो भन्दाबढी गाँजा, ब्राउन सुगर ५७ दशमलव ८३ ग्राम, ट्रामाडोल/ट्रामोल २३ हजार सात सय एक लागुऔषध बरामद गरिएको उपरीक्षक बज्राचार्यले जानकारी गराए ।

     “सो क्रममा ४२ जनालाई पक्राउ गरी कारबाही गरेका छौँ”, उनले भने, “लागुऔषध ओसारपसारमा दुई एम्बुलेन्स, १२ मोटरसाइकल र एउटा अटोसहित चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि सम्बन्धित निकायमा बुझाएका छौँ ।” सङ्कलन भएको रकम राजस्व कार्यालयलाई बुझाइसकिएको बज्राचार्यले बताए ।


    प्रकाशित : सोमबार, श्रावण ७ २०८१११:४४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार