२०८३, कार्तिक १५ गते आइतबार

बाढीले आम्दानीको स्रोत गुमेपछि कञ्चनपुरका किसान चिन्तित

बाढीले आम्दानीको स्रोत गुमेपछि कञ्चनपुरका किसान चिन्तित


  • मेरोभ्यूज
  • श्रावण ६, २०८१ आइतबार

  • बाढीले आम्दानीको स्रोत गुमेपछि कञ्चनपुरका किसान चिन्तित

    कञ्चनपुर । कञ्चनपुरको दोधारा-चाँदनी नगरपालिका-१० कुतियाकबरका बमबहादुर सुनारले १२ कट्टा जमिनमा परबल खेती गरेका थिए । त्यही खेतीबाट उनले वर्षभरीको खर्च जोहो गर्थे । असार तेस्रो साता अविरल वर्षापछि आएको बाढीले उनको परबल खेती बगरमा परिणत भएको छ ।

    खेती मात्रै होइन बाढीले घरभित्रको अन्नपात, लुगाफाटोसमेत बगाएपछि उनी समस्यामा परेकेछ । “खेतमा लगाइएको परबल पुरिएर नष्ट भएको छ । वर्षभरीको घर खर्च धान्ने खेती नै सखाप भएपछि अब के खाने, कसरी खर्च चलाउने भन्ने चिन्ता बढेको छ”, उनले दुःखेसो पोखे ।

    बाढीको बेला केही दिन अम्बिका माध्यमिक विद्यालयमा आश्रय लिएर बसेका उनी अहिले बस्तीमै फर्किएको छ । बाढीले क्षति पुर्‍याएको घरको मर्मत गरेर रात बिताइरहेको उनको भनाइ छ । दोधारा-चाँदनी नगरपालिका–१० का खड्के बुढाले डेढ बिघा जमिन भाडामा लिएर तरकारीसँगै धान रोपाइँ गरेको थियो ।

    बाढीले उनको खेत पनि पूरै लेदो र बालुवाले भरिएको छ । “तरकारी र धानमा रु ५० हजार खर्च भएको थियो । तरकारी खेती नै प्रमुख आयस्रोत हो”, उनले भने, “खेतमा सबै पुरिएर माटो र बालुवा मात्रै छ । तीन वर्षअघि पनि यस्तै भएको थियो । बाढीले आयस्रोत नै खोस्यो”, उनले गुनासो गरे ।

    महाकाली नदी र जोगबुढा नदीले घेरिएको कुतियाकबरमा बसोबास गर्ने अधिकांशको जमिन बगरमा परिणत भएको छ । यहाँका अधिकांश स्थानीय बासिन्दा परबललगायत तरकारी खेती गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

    वर्षभरीलाई खान पुग्ने धान र घर खर्च जोहो गर्ने तरकारी खेती बगर बन्दा अहिले यहाँका किसान निकै पीडामा छन् । “बाढीले सबै लग्यो । बिहान बेलुका खानलाई घरभित्र अन्न छैन । खाना पकाउन भाडाकुडा, लगाउनलाई लत्ताकपडा पनि छैनन्”, दोधारा-चाँदनी नगरपालिका-१० की बृतकली सुनार भन्छन्, “बाढीले यत्रो पीडा दिँदा पनि सरकारले हामीलाई हेरेको छैन । हामी के खाएर बाच्ने ?”

    असार तेस्रो साताको अविरल वर्षापछि भएको डुबान र बाढीले विस्थापित भएकाहरू विद्यालय तथा आफन्त कहाँ आश्रय लिएर बसेको थिए । अधिकांश विस्थापित बस्तीमै फर्किए पनि खाद्यलगायत अत्यावश्यक समानमा बाढीले क्षति पुर्‍याएपछि खान र बस्न समस्या भएको छ । बाढी र डुबानले बस्ती अस्तव्यस्त बनेकाले स्थानीय बासिन्दा अझै सामान्य अवस्थामा फर्किन सकेका छैनन् ।


    प्रकाशित : आइतबार, श्रावण ६ २०८१११:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार