२०८३, कार्तिक १५ गते आइतबार

मुस्ताङका छ स्थानमा पर्यटकीयस्थलमा पर्यटन पूर्वाधार निर्माण

मुस्ताङका छ स्थानमा पर्यटकीयस्थलमा पर्यटन पूर्वाधार निर्माण


  • मेरोभ्यूज
  • श्रावण ५, २०८१ शनिबार

  • मुस्ताङका छ स्थानमा पर्यटकीयस्थलमा पर्यटन पूर्वाधार निर्माण

    म्याग्दी । मुस्ताङका छ पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा पर्यटन तथा उद्योग कार्यालय मुस्ताङले कार्यान्वयन गरेका योजनामार्फत दुई किलोमिटर पदमार्ग निर्माण भएको हो ।

    कार्यालय प्रमुख प्रेमप्रसाद पौडेलले रु ८० लाख बजेट विनियोजन भएका छवटा योजना कार्यान्वयन भएको जानकारी दिए ।

    “मुस्ताङमा पर्यटकको बसाइ लम्ब्याउन र धार्मिक पर्यटकीयस्थलको सौन्दर्यीकरण तथा मर्मतमा बजेट परिचालन भएको छ”, उनले भने ।

    घरपझोङ गाउँपालिका-२ मा पर्ने मार्फा गाउँमा रु ३० लाख बजेटबाट हिसरुङ गुम्बा र स्याउ उद्यान जोड्ने ढुङ्गाको सिँढी बिछ्याएर पदमार्ग निर्माणका साथै सौन्दर्यकरण गरिएको छ ।

    मार्फा गाउँको शिरमा रहेको स्याउ उद्यान जाने पदमार्गको डिलमा बत्ती जडान गरेर रातको समयमा झलमल्ल देखिने बनाइएको छ ।

    बेनी-जोमसोम सडक निर्माणपछि विस्थापित भएको पदमार्गको विकल्पमा थासाङ गाउँपालिकाको पहिरोथाप्ला हुँदै कुञ्जो-लेते जाने भिरमा पदमार्ग निर्माण भएको छ ।

    घासापारिको कालीगण्डकी तिरको भिरमा पहाड प्वाल पारेर रड राखी पर्खाल उठाएर करिब पाँच सय मिटर पदमार्ग बनाइएको हो ।

    थासाङ गाउँपालिकाको कालोपानीदेखि थुले हुँदै स्याकुभ्रासम्म लोपोन्मुख वन्यजन्तु तथा डाफे, मुनाल, चिर कालिज अवलोकन गर्ने साइकल मार्ग बनाइएको छ ।

    रु दस लाख बजेटबाट ढलान, सोलिङ र ग्राभेल गरेर छ सय मिटर साइकल मार्ग निर्माण भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिए ।

    रु दस लाख बजेटबाट जोमसोम विमानस्थलमा निर्माण भएको भवनमा पर्यटक सूचना केन्द्र सञ्चालनको तयारी भएको छ । रु दस/दस लाख बजेटबाट लोमान्थाङ गाउँपालिका-३ को थिङ्गरमा माने निर्माण, लोमान्थाङदेखि ढिकी जाने दुई सय मिटर पदमार्ग र नाख्पा गुम्बाको मर्मत गरिएको कार्यालय प्रमुख पौडेलले बताए ।

    आर्थिक वर्ष २०८१/८२ मा ११ वटा पर्यटकीय पूर्वाधार योजनाका लागि प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मुस्ताङमा रु दुई करोड १५ लाख बजेट बिनियोजन गरेको छ ।


    प्रकाशित : शनिबार, श्रावण ५ २०८१०९:४२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार