सिमलताल दुर्घटनाः दुई शव भारतको चम्पारणमा फेलापारी नेपाल ल्याइयो
काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये २३ जनाको शव फेला परेको छ ।
सशस्त्र प्रहरी बलले उपलब्ध गराएको तथ्याङ्कअनुसार आज बिहान १०ः५० बजेसम्म मृतकमध्ये १५ जनाको सनाखत भएको छ । आठ पुरुष र एक महिला गरी नौ शवको सनाखत हुन सकेको छैन ।
भारतको बिहार सीतामणिका २८ वर्षीय ऋषिपल साह र २७ वर्षीय विवेक कुमार, पश्चिम चम्पारण बेतिया थानाका ३० वर्षीय जयप्रकाश ठाकुर र बेतिया मझेलिया थानाका ३० वर्षीय सजाद अन्सारीको शव सनाखत भई आफन्तले बुझेका छन् ।
चिवनको माडी नगरपालिका-१ का २२ वर्षीय विकास परियार, सर्लाहीको वरथहवा नगरपालिका-३ का १९ वर्षीय रमितकुशर माझी, भरतपुर महानगरपालिका-२२ पटहानीका २३ वर्षीय सुदीप विक, बाराको विश्रामपुर गाउँपालिका-६ का ४३ वर्षीय परमानन्द पण्डित र रौतहटको चन्द्रपुर नगरपालिका-१० का बस चालक ४३ वर्षीय किशोरकुमार चौधरीको शव सनाखत भएको छ ।
यस्तै रौटहटको गरुडा नरपालिका-९ का नौ वर्षीय अशोककुमार यादव, रौतहटको परोहा नगरपालिका-६ का ४० वर्षीय ऋषिकुमार सिंह, सर्लाहीको रामनगर गाउँपालिका-३ का जितेन्द्रराम महरा, पर्साको सखुवा प्रसौनी गाउँपालिका-२ का २८ वर्षीया चन्द्रप्रभा कुमारी र रौतहटको बौधिमाई नगरपालिका-७ का २९ वर्षीया अमृता कुमारीको शव सनाखत भई आफन्तले बुझी लगेका सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
उनीहरुको शव चितवनको गोलाघाट, सालबास र सिसवार, नवलपुरको गैँडाकोट, भुताहा, त्रिवेणी व्यारेज क्षेत्रलगायत घटनास्थलबाट तटीय क्षेत्रमा फेला परेका हुन् । गत असार २८ गते बिहान ३ बजे सिमलताल भन्ने स्थानमा वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमति प्रदेश ०३-००६ ख १५१६ नं र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमति प्रदेश ०३-००१ ख २४५९ नम्बरको बस लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएको थियो ।
पछिल्लो तथ्याङ्कअनुसार वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बसमा टिकट काटेका २७ र अन्य ११ गरी ३८ तथा काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसमा टिकट काटेका २३ र अन्य चार गरी जम्मा २७ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।
टिकट नकाटी बसमा यात्रा गरेका यात्रीका आफन्तजनले दुर्घटनापछि प्रहरीमा आफन्तको विवरण उपलब्ध गराएका थिए । दुई बसमा ६५ यात्रु सवार रहेको खुलेको छ ।
काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बसबाट हाम्फालेर बाँच्न तीनमध्ये रौतहटको गरुडा नगरपालिका-९ का जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता उपचारपश्चात घर फर्केका छन् भने रौतहटकै देवाही बनाही नगरपालिका-१० का नन्दन दासको उपचार भइरहेको छ ।
दुर्घटनामा परी बेपत्ता भएकामध्ये दुई यात्रीको शव भारतको चम्पारण नागाहास्थित नारायणी नदीमा फेला परेको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)को टोलीले बिहीबार फेला पारेका दुई शव सीमा सुरक्षार्थ खटिइएको सशस्त्र प्रहरी बलको ‘बोर्डर आउट पोष्ट’ (बिओपी) त्रिवेणीको टोली, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिको रहोबरमा नेपाल ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिए ।
-----
प्रकाशित :
शुक्रबार, श्रावण ४ २०८१११:१०
मेरोभ्यूज
मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।