२०८३, कार्तिक १५ गते आइतबार

रथी सिग्देलको उमेर सम्बन्धमा कैफियत नरहेको सेनाको प्रष्टोक्ति

रथी सिग्देलको उमेर सम्बन्धमा कैफियत नरहेको सेनाको प्रष्टोक्ति


  • मेरोभ्यूज
  • श्रावण ३, २०८१ बिहीबार

  • रथी सिग्देलको उमेर सम्बन्धमा कैफियत नरहेको सेनाको प्रष्टोक्ति

    काठमाडौँ । नेपाली सेनाले रथी अशोकराज सिग्देलको उमेर (जन्ममिति) का सम्बन्धमा कुनै कैफियत नरहेको स्पष्ट पारेको छ ।

    सैनिक मुख्यालय जङ्गी अड्डामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सेनाका सूचना अधिकारी सहायक रथी गौरवकुमार केसीले रथी सिग्देलको नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेखित जन्ममितिसम्बन्धी विवरणमा आशङ्का गर्ने ठाउँ नरहेको जानकारी गराए ।

    रथी सिग्देलले जिल्ला प्रशासन कार्यलय रुपन्देहीबाट पहिलो पटक लिएको नागरिकता र जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट लिएको ‘प्रथम प्रतिलिपी’ मा उमेर, प्रमाणपत्र नम्बर र जारी मितिमा कुनै फरक नरहेको सूचना अधिकारी सहायक रथी केसीले स्पष्ट पारे ।

    “सूचना अधिकारी सहायक रथी केसीले रथी सिग्देलले तत्कालीन जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट विसं २०४० साउन २९ गते लिएको पहिलो नागरिकता र २०५८ जेठ ८ गते जिल्ला प्रशासन कार्यालय जाजरकोटबाट लिएको ‘प्रतिलिपि’मा उमेर १७ वर्ष लेखिएको छ”, रथी सिग्देलको जन्ममिति सम्बन्धमा स्पष्ट पार्दै प्रवक्ता केसीले भने, “दुवै नागरिकतामा जारी मिति र प्रमाणपत्र नं एकै रहेको छ ।”

    सेनासँग रहेको रथी सिग्देलको व्यैयक्तिक विवरणमा जिप्रका जाजरकोटबाट लिइएको नागरिकतामा ‘प्रथम प्रतिलिपि’ उल्लेख गरी पहिलो नागरिकतामा रहेको नागरिकता प्रमाणपत्र नम्बर (६८९२७) नै कायम गरिएको सूचना अधिकारी रथी केसीले जानकारी दिए ।

    रथी सिग्देलले नेपाली सेनामा भर्नाका क्रममा पेस गरेको प्रवेशिका परीक्षा (एसएलसी) को प्रमाणपत्र (२०४० भदौ २९ गते परीक्षा नियन्त्रण कार्यालय भक्तपुरबाट जारी) मा जन्म मिति २०२३ माघ १९ उल्लेख छ । 

    यस्तै विसं २०४३ भदौ १२ गते तत्कालीन सुपिङ बहुमुखी क्याम्पस (हाल सैनिक आवासीय महाविद्यालय) बाट जारी भएको प्रमाणपत्रमा पनि सोही जन्ममिति उल्लेख रहेको सेनाले जनाएको छ ।

    रथी सिग्देलले नेपाली सेनामा भर्ना हुँदा सोही नागरिकता र प्रमाणपत्र पेस गरेको सहायक रथी केसीले जानकारी दिए ।

    नागरिकता प्रमाणपत्रमा उल्लेख उमेर (वर्ष) र शैक्षिक प्रमाणपत्रमा उल्लेख जन्ममितिमध्ये कुनलाई मान्यता दिने भन्नेसम्बन्धी छुट्टै कानूनी व्यवस्था रहेको उनले जानकारी गराए । ‘कुनै प्रमाणपत्रमा वर्ष मात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लेखित जन्ममितिको बीचमा एक वर्षको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिलाई आधार मान्नु पर्ने’ व्यवस्था रहेको उनले स्पष्ट पारे ।

    गत मङ्सिर महिनामा नेपाली सेना, रक्षा मन्त्रालयलगायत तहतगरुपमा नागरिकतालगायत विभिन्न शैक्षिक प्रमाणपत्र रुजु गरेर उनलाई नेपाल सरकारले पदोन्नति गरेको प्रवक्ता केसीले जानकारी गराए ।

    नेपाली सेना सैनिक ऐनबाट निर्देशित र परिचालित संस्था भएको उल्लेख गर्दै उनले सैनिक व्यक्तिको आचरण र व्यवहार प्रचलित ऐनको वर्खिलाप भएको अवस्थामा कानून आकर्षित हुने बताए ।

    “विगतमा पनि सैनिक ऐन विपरित कार्य गर्ने सदस्यलाई कारबाहीको दायरामा ल्याएका छौँ”, उनले भने ।

    नेपाली सेनाबाट अवकाश प्राप्त जुनसुकै दर्जाका पूर्वसैनिकको सङ्गठनसँग विशेष सम्बन्ध रहने जनाउँदै प्रवक्ता केसीले अवकाश प्राप्त सैनिक व्यक्तिले आफ्नो धारणा व्यक्त गर्दा सङ्गठनको मर्यादालाई ख्याल राख्नु पर्नेतर्फ ध्यानाकर्षण गराए ।

    सैनिक सेवा नियमावलीमा सो सम्बन्धी व्यवस्था गरिएको छ । सेनाले अवकाश प्राप्त सैनिकलाई उपलब्ध गराउँदै आएको सेवा सुविधा वञ्चित गर्न सक्ने प्रावधान छ ।

    यद्यपि, हालसम्म सेनाले भूपू सैनिकलाई त्यस सम्बन्धी कारबाही भने गरेको छैन । कारबाही आकर्षित हुने अभिव्यक्ति दिएको अवस्थामा जो सुकै अवकाश प्राप्त सैनिकलाई कारबाही हुन सक्ने सेनाले स्पष्ट पारेको छ । 


    प्रकाशित : बिहीबार , श्रावण ३ २०८१११:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार