२०८३, कार्तिक १५ गते आइतबार

साउने सङ्क्रान्तिमा भक्तजनको घुइँचो लाग्ने देवघाटधाममा आज भने सुनसान

साउने सङ्क्रान्तिमा भक्तजनको घुइँचो लाग्ने देवघाटधाममा आज भने सुनसान


  • मेरोभ्यूज
  • श्रावण १, २०८१ मंगलबार

  • साउने सङ्क्रान्तिमा भक्तजनको घुइँचो लाग्ने देवघाटधाममा आज भने सुनसान

    चितवन । साउने सङ्क्रान्तिमा हरेक वर्ष भक्तजनको घुइँचो लाग्ने देवघाटधाम आज सुनसान देखिएको छ । संक्रान्तिका दिन बिहानैदेखि भक्तजन आएर यहाँ स्नान गर्ने, पवित्र जल चढाउने र शिवको आराधना गर्ने प्रचलन छ ।

    नारायणी नदीमा आएको बाढी र केही दिनअघि सिमलतालमा भएको बस दुर्घटनाका कारण आज साउने संक्रान्तिका दिन देवघाटमा भक्तजनहरुको उपस्थिति न्यून भएको यहाँ आएका भक्तजन एवं स्थानीयहरु बताउँछन् ।

    भरतपुर महानगरपालिका-७ बाट देवघाटमा सङ्क्रान्ति स्नान गर्न आएका मोहिनीप्रसाद खनालले हरेक वर्षको साउने सङ्क्रान्तिमा भीडभाड लाग्ने देवघाटधाम यसपटक सुनसान देखिएको बताए ।

    खनालले आज यहाँ भीडभाड नदेखिनुको कारण मानिसमा बाढीपहिरोको डर एवं हालै भएको सिमलताल पहिरोको भय हुनसक्ने आँकलन गरे । उनले पहिरोमा परेकाको नदीमा शव भेटिँदा यहाँ आउन भक्तजन डराएको बताए । उनले भने, “त्यत्रा मान्छेहरु नुहाउन आउने ठाउँमा आज सुनसान छ, धाम अँध्यारो भएको छ ।”

    लमजुङ घर भई हाल देवघाटमा बस्दै आएका सूर्यकान्त शर्माले यसपालिको सङ्क्रान्तिमा देवघाट शून्य भएको बताए । उनले अघिल्ला वर्षको सङ्क्रान्तिमा घुइँचो लाग्ने यहाँ आज फाट्टफुट्ट मात्र भक्तजन आएको जानकारी दिए ।

    धादिङ घर भई चितवन बसोबास गर्दै आएका गोविन्दप्रसाद तिमिल्सिनाले आफू देवघाटमा प्रायःसधैँजसो आउने गरेको तर लगातारको बाढीपहिरो र सिमलताल घटना भएयता यहाँ आउने भक्तजन शून्य जस्तै भएको बताए ।

    देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले गत वर्षको भन्दा यसपटक देवघाटमा भक्तजनको उपस्थिति न्यून रहेको जानकारी दिए ।

    यसवर्ष साउनमा कुनै बोलबम मेला नराखेको भए पनि आगामी सोमबारबाट भक्तजन स्वत स्फूर्तरुपमा आउन सक्ने उनको अनुमान छ । उनले यहाँ आएका भक्तजनलाई देवघाट क्षेत्र विकास समितिले सहजीकरण गर्दै आएको बताए ।


    प्रकाशित : मंगलबार, श्रावण १ २०८१०९:५३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार