२०८३, कार्तिक १५ गते आइतबार

समाजवादी मोर्चाको आगामी योजना तय गर्न चार सदस्यीय कार्यदल गठन

समाजवादी मोर्चाको आगामी योजना तय गर्न चार सदस्यीय कार्यदल गठन


  • मेरोभ्यूज
  • श्रावण १, २०८१ मंगलबार

  • समाजवादी मोर्चाको आगामी योजना तय गर्न चार सदस्यीय कार्यदल गठन

    काठमाडौं । समाजवादी मोर्चा नेपालले आगामी योजना र कार्यक्रम तय गर्न चार सदस्यीय कार्यदल गठन गरेको छ । 

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको मोर्चाको बैठकले अहिलेसम्मको अवस्थाको समीक्षा गरेर आगामी योजना र कार्यक्रम तय गर्ने बैठकपछि नेपाल कम्युनिष्ट पार्टीका नेता खड्कबहादुर विश्वकर्माले जानकारी दिए ।

    कार्यदलमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका नेता प्रमेश हमाल, नेपाल समाजवादी पार्टीका नेता गङ्गानारायण श्रेष्ठ र नेकपा नेता विश्कर्मा रहेका छन् । 

    “विगतमा विविध कारणले गतिविधि कम भए, मोर्चा गठन हुँदा यसप्रतिको उत्साह र अपेक्षा जुन थियो, पछिल्लो दिनमा गतिविधिमा केही सुस्तता आउँदा जनतामा प्रश्न उब्जेको छ”, नेता विश्वकर्माले भने, “कार्यदलले जनताको जिज्ञाशा मेट्ने गरी दस्तावेजीकरण र आगामी कार्यक्रम तय गर्नेछ ।”

    कार्यदलले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ । मोर्चाको आगामी बैठकमा उक्त प्रतिवेदनमाथि छलफल हुने र सशक्त ढङ्गबाट अघि बढ्ने उनको भनाइ छ । बैठकमा मुलुकको नयाँ राजनीतिक परिस्थिति र मोर्चाको विगतको कामकारबाहीका बारेमा गम्भीर समीक्षा भएको उनले जानकारी दिए । 

    पछिल्लो राजनीतिक घटनाक्रमले प्रतिशील यात्रातर्फ अघि बढिरहेको मुलुकलाई यथास्थितिमा राख्ने, जनआन्दोलनबाट प्राप्त उपलब्धिमाथि चुनौती थप्न सक्नेतर्फ मोर्चाले चिन्ता व्यक्त गरेको नेता विश्वकर्माको भनाइ छ । 

    उनले नेपाल समाजवादी पार्टीलाई मोर्चामा आबद्ध गरी अध्यक्ष महिन्द्र राय यादव, नेता गङ्गानारायण श्रेष्ठलाई बैठकमा सहभागी गराइएको जानकारी दिए । मोर्चाले प्रगतिशील र कम्युनिष्ट घटकसँग छलफल अघि बढाउँदै जाने र आगामी दिनमा उपेन्द्र यादव र मोहनबिक्रम सिंह नेतृत्व राजनीतिक दललाई पनि मोर्चामा सहभागिताका लागि पहल गर्ने निर्णय गरेको छ । 

    बैठकले मुलुकको राजनीति र समाजवादी मोर्चालाई नयाँ गति प्रदान गर्ने निर्णयसमेत गरेको छ । मोर्चाले मनसुनजन्य विपद्का घटनाबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै यथाशीघ्र प्रभावितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । 

    बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रबिक्रम चन्द, माओवादीका महासचिव गुरुङ, एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाललगायत सहभागी थिए । 


    प्रकाशित : मंगलबार, श्रावण १ २०८१०९:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार