२०८३, कार्तिक १५ गते आइतबार

धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो

धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो


  • मेरोभ्यूज
  • आषाढ ३१, २०८१ सोमबार

  • धरानका बुढासुब्बासहितका मन्दिरमा भक्तजनको घुइँचो

    सुनसरी ।  धरानका मन्दिरहरुमा भक्तजनको बाक्लो उपस्थिति देखिएको छ ।

    साउन महिनामा बोलबम सुरु हुने भएकाले यहाँका मन्दिरहरुमा असारभित्रै भाकल पूरा गर्न आउने भक्तजनको भीड लागेको हो ।

    इटहरीका वर्षा बुढाथोकी साउनमा बलि चढाउन नमिल्ने भएकोले भाकल पूरा गर्न असार पारेर आएको बताए । उनले भने, “बूढासुब्बाप्रति अगाध आस्था छ । भर्खरै विवाहबन्धनमा बाँधिएका दम्पतीले यहाँ भाकल गरेर भाकल बुझाएमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ ।

    ” यस मन्दिर परिसरमा रहेको बाँसमा प्रेमिल जोडीले धागो बाँध्ने चलन रहिआएकाले धागो बाँध्न आएको उनले बताए ।

    भाकल पूरा गर्न झापाबाट धरान आएका अञ्जा कार्की पनि साउनमा बलि दिन नमिल्ने भएकाले असार अन्तिममा भाकल पूरा गर्न आएको बताए । उनले भने, “म वर्षेपिच्छे बुढासुब्बा मन्दिरमा भाकल पूरा गर्न भाले लिएर आउने गर्छु । मैले भाकल गरेर मागेको कुरा पूरा पनि हुने गरेको छ ।”

    दश वर्ष अघिसम्म बूढासुब्बा मन्दिरको बाँसमा नाम लेख्दा प्रेम अमर हुन्छ भन्ने विश्वासले बाँसमा नाम लेख्ने चलन थियो । विस्तारै यहाँका बास मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले बाँस वरिपरि तारजाली लगाएको छ । त्यसयता बाँसको वरिपरि माला बाँध्ने लहर बढेको हो । बुढासुब्बा आउने भक्तजनले कुखुराको भाले, अण्डा र फलफूल लिएर पूजा गर्न आउने गर्छन् ।

     यहाँ पूजा गर्न मुलुकका अधिकांश ठाउँ र भारतको सिक्किम दार्जिलिङलगायतका स्थान बाट आउने गरेका छन् । भाकल गर्नेहरुले बुढासुब्बा मन्दिरमा भाले र नजिकै रहेको गौरिनी मातालाई पोथी वा पोथी नभएमा कुखुराको अण्डा चढाउने परम्परा छ ।

     मन्दिर नजिकै फूलमाला बेच्दै आएका मोहम्मद जमिन अन्यबेला भन्दा असार अन्तिममा भक्तजनको भीड धेरै भएको बताउँछ ।

    उनले साउन महिनाभरि काटमार गर्न नहुने भएकाले असार अन्तिममा वर्षेनी भिडभाड हुने गरेको बताए । असारको अन्तिम शनिबार सबैभन्दा धेरै भक्तजन आएको बुढासुब्बा मन्दिरका पुजारी डम्बर आलेमगरले बताए । शनिबार पाँच हजारभन्दा बढी भक्तजन आएका थिए ।

    साउनभर धरान उपमहानगरपालिका-१४ विजयपुरस्थित पिण्डेश्वर मन्दिरमा बोलबम मेला लाग्ने भएकाले धरानका सबै मठमन्दिरमा साउन महिनाभरि बलि दिन नपाइने चलन छ । साउन महिनाभरि बोलबम मेला लाग्ने भएकाले भाकल पुरा गर्न र बलि चढाउन साउन अगाडि बुढासुब्बा, पिण्डेश्वर, दन्तकालीलगायतका मन्दिरमा भक्तजन आउने गरेका छन् ।


    प्रकाशित : सोमबार, आषाढ ३१ २०८१११:२४
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार