गोरखा । गोरखा-आँबुखैरनी सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।
उक्त सडकअन्तर्गत पर्ने गोरखा नगरपालिका-१२ स्थित नौ किलोदेखि पाँच किलोसम्म तीन ठाउँमा ठूलो पहिरो खसेर पूर्णरुपमा सडक अवरुद्ध भएको गोरखा नगरपालिकाका वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख ध्रुवप्रसाद घिमिरेले जानकारी गराए ।
पहिरोले सडक अवरुद्ध भएको हो । “साना-साना पहिरोसमेत ठाउँ-ठाउँमा खसेकाले बाटो खुलाउन समस्या भइरहेको छ”, उनले भने, “नगरपालिकाले उपकरण प्रयोग गरेर पहिरो हटाइरहेको छ ।”
आँबुखैरेनीतर्फबाट पनि पहिरो हटाउनका लागि सडक विभाग तनहुँबाट झिकाउने प्रयास भइरहेको उनले बताए ।
सो सडकखण्डको स्याउली बजार तथा इँटाभट्टा नजिक सडक माथिबाट पहिरो खसेका छन् ।
गोरखा पृथ्वी राजमार्ग हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने सम्पूर्ण सवारी साधन पूर्णरुपमा ठप्प भएको छ ।

