२०८३, कार्तिक १५ गते आइतबार

वन्यजन्तुका लागि जङ्गलमै पानीखान पोखरी निर्माण

वन्यजन्तुका लागि जङ्गलमै पानीखान पोखरी निर्माण


  • मेरोभ्यूज
  • आषाढ २८, २०८१ शुक्रबार

  • वन्यजन्तुका लागि जङ्गलमै पानीखान पोखरी निर्माण

    कैलाली । कैलालीका सामुदायिक वनमा वन्यजन्तुलाई पानीखान पोखरी निर्माण गरिएको छ ।

    जिल्लाको मोहोन्याल गाउँपालिकास्थित बरगदा सामुदायिक वन, जालपा सामुदायिक वन र लम्किचुहाको महिला जागरण सामुदायिक वनमा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामबिचारी ठाकुरले जानकारी दिए ।

    पहलमानपुरका डिभिजनल वन अधिकृत ठाकुरका अनुसार नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयको ‘एकीकृत भूपरिधी व्यवस्थापन आयोजना’अन्तर्गत पोखरी निर्माण गरिएको हो ।

    आयोजनाले पोखरी निर्माणसँगै कैलालीको कर्णाली कोरिडोरमा वन जनावर र जैविक विविधता संरक्षणका विभिन्न काम गरेको छ ।

    कर्णाली करिडोरअन्तर्गत जिल्लाको लम्किचुहा र टीकापुर नगरपालिका, मोहोन्याल र जानकी गाउँपालिका जोडिन्छन् ।

     ती क्षेत्रमा चिसापानी, लम्की र टीकापुर सब-डिभिजन वन कार्यालयमार्फत आयोजना सञ्चालित भएका हुन् ।

    उक्त आयोजना लुम्बिनी प्रदेशको बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र र कम्दी जैविकमार्गका साथै सुदूरपश्चिम प्रदेशको ब्रह्मदेव जैविकमार्ग कञ्चनपुर र कैलालीको कर्णाली जैविकमार्गमा सञ्चालन भइरहेको आयोजनाका फिल्ड व्यवस्थापक प्रकाश थापाले जानकारी दिलाए ।

    आयोजनाका फिल्ड व्यवस्थापक थापाका अनुसार यो आयोजना ग्लोबल इन्भाइरोमेन्ट फेसिलिटी (जिइएफ) र वल्र्ड वाइल्डलाइफ फण्ड (डब्लुडब्लुएफ) को सहयोगमा नेपाल सरकार वन तथा वातावरण मन्त्रालयमार्फत तराई भूपरिधि क्षेत्रमा रहेका संरक्षित क्षेत्र तथा संवेदनशील जैविकमार्ग संरक्षणमा सञ्चालित छन् ।

    उक्त आयोजनाले कर्णाली करिडोरमा सिमसार र घाँसेमैदान व्यवस्थापन, वन्यजन्तु उद्धार तालिम तथा उपकरण वितरण, नर्सरी निर्माण तथा बिरुवा उत्पादन, वन डढेलो व्यवस्थापन गोष्ठी तथा औजार हस्तान्तरण, वन उद्यम र जीविकोपार्जनसम्बन्धी क्रियाकलाप सञ्चालन गरेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।

    वन्यजन्तुका लागि पोखरी निर्माण, वन डढेलो व्यवस्थापनसम्बन्धी उपकरण हस्तान्तरण, विभिन्न तालिम गोष्ठी, वन उद्यम तथा जीविकोपार्जनसम्बन्धी क्रियाकलाप सञ्चालन गरेको सबडिभिजन वन कार्यालय चिसापानीका प्रमुख पूर्णकुमार विष्टले बताए ।

    आयोजनाको सहयोगमा घाँसेमैदान निर्माणसँगै लम्की सब-डिभिजन वन कार्यालय र टीकापुर सब-डिभिजन वन कार्यालयमा बिरुवा उत्पादन गरिएका छन् ।

     लम्कीमा एक लाख र टीकापुरमा ७० हजार अम्बा, बकाइनो, गोलमोर, सितलचिनी, निम, अमला, सागुन, कपोक, सिमल, कोइराल, श्रीखण्ड, पारिजात, कागती जातका बिरुवा उत्पादन गरिएको सब-डिभिजन वन कार्यालय लम्कीका प्रमुख शेरबहादुर भण्डारीले जानकारी दिए ।


    प्रकाशित : शुक्रबार, आषाढ २८ २०८१११:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार