२०८३, कार्तिक १५ गते आइतबार

धनपालथान गाउँपालिकाको अस्तित्वसँग जोडिएको पुरातात्विक महत्वको धनपालथान संरक्षणको पर्खाइमा

धनपालथान गाउँपालिकाको अस्तित्वसँग जोडिएको पुरातात्विक महत्वको धनपालथान संरक्षणको पर्खाइमा


  • मेरोभ्यूज
  • आषाढ २८, २०८१ शुक्रबार

  • धनपालथान गाउँपालिकाको अस्तित्वसँग जोडिएको पुरातात्विक महत्वको धनपालथान संरक्षणको पर्खाइमा

    मोरङ । जिल्लाको धनपालथान गाउँपालिकाको अस्तित्वसँग जोडिएको पुरातात्विक महत्वको धनपालथान संरक्षणको पर्खाइमा रहेको छ ।

     राजा धनपालको नामबाट गाउँपालिकाको नामाकरण गरिए पनि उक्त स्थानको संरक्षण र प्रवर्द्धन नहुँदा ओझेलमा पर्दै गएको हो । धनपालथान गाउँपालिकाको वडा नं ७ मा अवस्थित छ । यो ठाउँलाई स्थानीय भाषामा राजा धनपालको रजवाडा भनिन्छ । प्राचीन रजवाडा झण्डै चार बिघाह क्षेत्रफलमा फैलिएको छ ।

    पुरातात्विक महत्व बोकेको यस स्थानको नामबाट साविकको नोचा, कदमाहा, दादरबैरिया, अमाही बरियाती र सोराभाग गाविसलाई समेटेर पुनःसंरचना भएको पालिकाको नाम धनपालथान गाउँपालिका राखिएको राजा धनपालथान संरक्षण तथा विकास समितिका अध्यक्ष सञ्जय सिंहले बताए ।

    रजवाडा परिसरमा निकै अगाडि बनाइएका टहरा जीर्ण अवस्थामा छन् भने २०५७ सालमा गठन भएको संरक्षण समितिले बनाएको देवी रणकाली र राजा धनपालको सिमेन्टको मूर्तिसमेत टुटेर जीर्ण बनेको उनले बताए ।

    समितिका अध्यक्ष सिंहका अनुसार यहाँ आसपासमा पुरातात्विक महत्वको कयौँ वस्तु तथा मूर्ति भेटिएका छन् ।

    विसं २०७१ मा स्थानीय किसान रघुसिंह नुनियाले रजवाडा नजिकैको खेतमा हलो जोत्ने क्रममा भगवान विष्णुको धातुको प्राचीन मूर्ति भेटेको थियो । उक्त मूर्ति संरक्षणका लागि ईलाका प्रहरी कार्यालय रङ्गेलीमा जिम्मा लगाइएको उनले जानकारी दिए ।

    विस “२०१७ सालमा नजिकै रहेको पोखरी उत्खन्न गर्ने क्रममा धातुका पुराना भाँडावर्तनलगायतका विभिन्न सामग्री भेटिएपनि हाल ती सामग्री कहाँ छन्, यस विषयमा स्थानीय अनविज्ञ छन्”, अध्यक्ष सिंहले भने ।

    धनपालथान-७ का स्थानीय उचितलाल मण्डलले रजवाडा परिसरमा खन्दा करिब डेढ फिट लम्बाइ र चौडाइका पुराना माटोका इँटाहरु भेटिने गरेको बताए । “यहाँ निकै पुरानो संरचना भेटिने गरेका छन् । यस क्षेत्रको उत्खनन गर्नुका साथै यसको संरक्षण र प्रवर्द्धन गरी पर्यटन प्रवर्द्धन गर्न सकिन्छ”, उनले भने ।

    स्थानीय राजेन्द्र कामतले उत्खनन र अध्ययनसम्म नगरिएकाले राजा धनपाल कुन कालखण्डका को हुन् भन्नेसम्म खुल्न नसकेको बताए । “प्राचीन विराट राजाको राज्यअन्तर्गत पर्ने यस स्थानमा रहेको मन्दिर विराट राजाले निर्माण गरेको किंवदन्ती छ”, उनले भने ।

    पुरातत्व विभागले यहाँको अध्ययन अन्वेषण गरी तथ्य पत्ता लगाउनु पर्ने गाउँपालिका अध्यक्ष जिवछप्रसाद गच्छदारले बताए । धनपालथान क्षेत्रमा गाउँपालिकाले मन्दिर बनाइसकेको भन्दै मन्दिर परिसरमा पर्खाल घेराबारा गरी मूर्ति स्थापना गरिने उनले जानकारी गराए ।

    अध्यक्ष गच्छदारले स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा पूर्वाधार निर्माण र संरक्षणमा समस्या भएको बताए । उनले प्रदेश र सङ्घ सरकारले आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिए ।

    पुरातत्व विभागले यस ठाउँमा १५ वर्षअघि सामान्य अध्ययन गरी मध्यकालीन संरचना भएको हुनसक्ने निष्कर्षसहित विभागमा सूचीकृत गरेको पुरातत्वविद् भाष्कर ज्ञवालीले जानकारी दिए ।

     पुरातत्वविद् ज्ञवालीले धनपालगढीमा बाहिरबाट संरचना नदेखिने भएकाले सतहमुनिको अध्ययन ‘जियोलोजिकल सर्वे’ गर्दा पौराणिकता तथ्य स्पष्ट हुने बताए ।


    प्रकाशित : शुक्रबार, आषाढ २८ २०८११०:५९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार