गण्डकी । हिमालपारि मनाङका सेराप विष्ट, ‘चेमी ङ्या’ अर्थात् चामेमाथि ठूलो गरामा एक तमासले केराउ टिपिरहेको थियो । हामी टक्क अडिन मात्र के भ्याएका थियौँ, ‘चाख्नु हुन्छ ?’ भन्दै उनी हामीछेउ आइपुगे । भर्खरै टिपेको केराउ थमाइ ।
हंसमुख र विनम्र वचनसहित टक्र्याएपछि केराउको स्वाद नलिइ भएन । अहो! कति रसिलो । हाम्रो उद्देश्य केराउको स्वाद चाख्नु नभइ उनी बारे जानकारी लिनुथियो । हामीले थप नअल्मिलिँदै जिज्ञासा राख्यौँ, उनी पनि सजिलो गरी प्रस्तुत भए ।
जीवनका अन्तरकुन्तर खोले । सपनाको सहर काठमाडौँबाट जन्मथलो फर्केर कृषि र पर्यटन व्यवसायमा रमाइरहेका ३२ वर्षीय युवा ।
विसं २०६५ मा विद्यालय शिक्षा पूरा गरी विष्ट उच्च शिक्षा अध्ययनका लागि राजधानी छिरे ।
म्यानपावर कम्पनीमा काम गर्दै होटल व्यवस्थापन पढे तर आर्थिक अभावले पढाइलाई १२ कक्षाभन्दा अगाडि बढाउन सकेन ।
“भृकुटीमण्डमा घोडा तान्ने कामदेखि के सम्म गरिएन काठमाडौँमा”, विष्ट विगततिर फर्किए, “पराइ ठाउँ, न घरपरिवार न आफन्त, छाक टार्ने जागीरले काठमाडौँको बसाइँ सकसपूर्ण हुन थालेपछि म आफ्नै ठाउँ चामे फर्किएँ ।”
नौ वर्षको काठमाडौँ बसाइँलाई बिट मारेर उनी विसं २०७५ मा मनाङ फिर्के । सदरमुकाम चामेमा विष्टका बुबाआमा निर्वाहमुखी कृषि गरिरहेको थियो तर व्यावसायिक चेत थिएन । जेठा छोरा सेराप गाउँ फर्किएपछि दुःखसुख गरेर जीवन धानिरहेका विष्ट दम्पतीको जीवनले पनि नयाँ मोड लियो ।
सेरापले गाउँ फर्केपछि ‘विष्ट एप्पल फार्म’ स्थापना गरे । त्यो बेला ‘फार्म’ दर्ता कसरी गर्नेसम्म उनलाई थाहा थिएन ।
गाउँपालिका अध्यक्ष लोकेन्द्र घलेले त्यसमा सघाए । तनहुँको दमौली पुगेर सेरापले स्थायी लेखा नम्बर ‘पान’ नम्बर ल्याए ।
चार रोपनीमा फैलिएको ‘फार्म’मा अहिले स्याउ फलिरहेका छन् । स्याउसँगै उनले व्यावसायिक तरकारीखेती सुरू गरे ।
प्लाष्टिक घर टनेलमा लटरम्म गोलभेँडा फलेका छन् । चामेका होटललाई चाहिने तरकारी उनले नै पु¥याउनुहुन्छ । “चार रोपनीमा आलु र दुई रोपनीमा गोलभेँडा, काउली, बन्दालगायत अरु तरकारी लगाएको छु”, उनले सुनाए, “किवी, आरु, खुर्पानीलगायत मौसमअनुसारका फलफूल पनि लगाएको छु ।”
गाउँ फर्केर उद्यमी बन्ने सोचलाई उनले कृषिमा मात्र सीमित गरेन । चामे गाउँपालिका-५ मा खुलेको ‘हेप्पी होम होमस्टे’ उनको अर्को व्यावसायिक कर्म हो ।
विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्ग छेउ रहेको उक्त ‘होमस्टे’ले विष्टलाई पर्यटन उद्यमीका रूपमा समेत चिनाएको छ ।
“होमस्टे सञ्चालनमा ल्याएको नौ महिना बित्दैछ, दुई पर्यटकीय याममा हामीले सेवा दिइसकेका छौँ”, विष्टले भने, “पाहुनालाई आफ्नै बारीको उत्पादन चखाउने हेतुले होमस्टे सञ्चालनमा ल्याएका हौँ, हामीकहाँ नेपाली र विदेशी दुवै खाले पर्यटक आउँछन् ।”
चामेको रैथाने बाली उवा, फापर, आलु, सिमीलगायतका परिकार उनको भान्छामा पाक्छ । पर्यटकले चाहेमा बारीमा पुगेर आफँै तरकारी टिप्न र पकाउन पनि पाउँछन् । विशुद्ध पारिवारिक वातावरण दिएर पर्यटक लोभ्याउने विष्टको सोच छ । उनले भने, “हाम्रो आमाले पहिले भान्छामा जे पकाउनुहुन्थ्यो, त्यही परिकार पर्यटकलाई दिन्छौँ, स्थानीय उत्पादनमै हाम्रो बढी जोड छ ।”
विष्टले ‘होमस्टे’ आमाकै नाममा दर्ता गरेर चलाएको छ । ‘होमस्टे’मा एक रातमा १५ जना पाहुना बस्न सक्छन् । हिमाली सभ्यता र जनजीवन झल्काउने गरी ‘होमस्टे’ सेवालाई विविधीकरण गर्दै जाने विष्टको योजना छ ।
“निकट भविष्यमा फार्म हाउस खोल्ने योजना छ, हेरौँ परिस्थितिले कत्तिको साथ दिन्छ”, उनले भने, “आफ्नै जन्मथलोमा केही गर्ने हुटहुटी छ, व्यावसायिक कर्म र बुबाआमाको सेवामा समर्पित भएर लाग्ने प्रण गरेको छु ।” उमेरले उकालो चढ्दै गरेका साङ्दो र पेमा भुटी विष्ट पनि छोरा गाउँ फर्केपछि निकै खुसी छन् ।
विष्ट दम्पतीले सकेजति छोरालाई काममा सघाइरहेको छ । सेराप आफैँ खेतीबालीको काममा खट्छन् । कहिलेकाहीँ खेताला लगाउछु । पर्यटनबाट धानिएको मनाङमा आफ्नो भविष्य सुरक्षित देखेका सेराप अरूका लागि पनि प्रेरणा बनेको छ ।
उनको लगाव, योजना र सोचका कारण गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले ‘युवा प्रतिभा पहिचान तथा सम्मान’ बाट सम्मानित भएको छ ।
कृषि तथा लघु उद्यमतर्फ प्रदेशभरीमा प्रथम स्थानमा छनोट भई उनले रु ५० हजार पुरस्कार पाएको थियो । केही समयअघि उनलाई चामे गाउँपालिकाले पनि युवा उद्यमीका रूपमा सम्मान गरेको थियो ।
“सम्मान र पुरस्कारले थप प्रेरणा दिएको छ, आगामी दिनमा व्यवसायको गुणस्तर र क्षमता विस्तारतिर लग्छु, थोरै सङ्ख्यामा भए पनि गाउँमै रोजगारी सिर्जना हुने गरी काम गर्छु”, उनले जानकारी गराए ।
विष्टलाई सबैभन्दा सन्तोष लाग्ने विषय हो बुढेसकालमा बुबाआमासँगै रहन पाउनु । “जग्गा धेरै भएर पनि बुबाआमाले खेती किसानी गर्न नसक्ने अवस्था थियो, म घर फर्केपछि बल्ल उनीहरूलाई पनि आडभरोसा मिल्यो, खुसीसाथ कृषि कर्ममा रमाइरहेका छौँ, कमाइ पनि राम्रै छ”, विष्टले जानकरी दिए ।
सेरापका माइला भाइ भक्तपुरमा बौद्ध शिक्षा पढ्दै छन् भने कान्छा भाइ वैदेशिक रोजगारमा छन् । देश नै विदेश भइरहेको छ भन्ने भाष्य बनिरहेका बेला सेराप भने आफ्नै थातथलो फर्केर आफ्नै जीवनमा आशा भरिरहेको छ भने अरूलाई देशमै केही गर्नुपर्छ भनेर प्रेरणा दिइरहेको छ ।
तिनै युवा उद्यमी सेरापलाई हामीले सोध्यौँ-श्रवण मुकारुङले रचेको अहिलेको चर्चित गीत ‘राई माइलाले गाउँ छाड्यो रे...’ सुनेको छ ? जवाफमा भने, “गीत सुनेको छु, मिठो छ ।” हामीले भने ‘सेराप विष्ट गाउँ फर्के रे !” भनेर प्रशंसा ग¥यौँ । उनी मन्द मुस्कुराए ।
मुस्कानसहित उनले भने,“नबिर्सनुहोला ल ! समय मिलेमा फेरि पनि आउनुहोला, हाम्रै होमस्टेमा बसेर एकरातसँगै रमाउँला ।” हामी पनि मन्द मुस्कानले उनको भनाइमा स्वीकारोक्ति जताएर छुट्टियौँ ।

