म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-६ पाखापानीमा चन्दा जुटाएर खेल मैदान निर्माण भएको छ ।
स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेल मैदान निर्माण गरेको हो । रु ४३ लाख ७७ हजार एक सय ५७ को लगानीमा निर्माण भएको खेल मैदानका लागि रु ३५ लाखभन्दा बढी प्रवासी र स्थानीयवासीले चन्दा सहयोग गरेका क्लबका अध्यक्ष केशव पाइजाले जानकारी दिए ।
“खेल मैदानमा भलिबल, बास्केटबल र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिन्छ”, क्लबका अध्यक्ष पाइजाले भने, “खेलाडीहरूलाई अभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।”
स्थानीयवासीले उपलब्ध गराएको पाखोबारी सम्याएर ढलानसहितको खेल मैदान निर्माण गरिएको हो । चालीस मिटर लम्बाइ र १८ मिटर चौडाइमा ढलान गरी फाइबर बोर्ड राखिएको खेल मैदानको कुनातर्फ दर्शक बसेर खेल अवलोकन गर्न मिल्ने प्यारापिट बनाइएको छ ।
स्थानीय रामकुमारी पाइजा, धनबहादुर रोका, जसे पुन, कुल तुलाचन, हेमलाल शेरपुञ्जा र गोरे पुनले निःशुल्क जग्गा उपलब्ध गराएको थियो ।
हाल हङ्कङमा कार्यरत पाखापानीका भीम पुनको नेतृत्वमा रु १८ लाख छ हजार एक सय ५३, बेलायतमा रहेका क्लबका संस्थापक सचिव असुन पाइजा र कोषाध्यक्ष रमेश पाइजाको पहलमा रु छ लाख ९१ हजार, अष्टेलियामा रहेका पूर्व सह-कोषाध्यक्ष डेक पाइजाको अगुवाइमा रु दुई लाख १५ हजार र सिङ्गापुरबाट रु एक लाख सहयोग प्राप्त भएको क्लबले जनाएको छ ।
रघुगङ्गा गाउँपालिकाले चालु आव २०८०/८१ मा रु सात लाख ४७ हजार अनुदान उपलब्ध गराएको योजनाका लागि देशभित्रै र विश्वका अन्य देशमा रहेका पाखापानीवासीहरूले रु आठ लाख १८ हजार पाँच सहयोग गरेका छन् । पाखापानीका एक सय ५२ घरधुरीले न्यूनतम दुई दिनका दरले श्रमदान गरेका छन् । थिरवाङ टोलवासीले गिट्टी र रु १२ हजार नगद सहयोग गरेका थिए । कमनाथबाट रु ११ हजार र पाखापानी गाउँबाट रु नौ हजार सहयोग प्राप्त भएको थियो ।
खिम पुन र भीम पुनले स्व टेकबहादुर र तीर्थकुमारी पुनको स्मृतिमा रु तीन लाख छ हजार खर्च गरेर पाखापानीको मूल सडकबाट खेल मैदान जोड्ने सडक निर्माण गरेको छ । खेलमैदानमा घेराबार, नाली र स्टेजसहितको भवन निर्माण गर्ने लक्ष्य राखिएको अध्यक्ष पाइजाले बताए ।

