२०८३, कार्तिक १५ गते आइतबार

बोरिङको पानी पिउन घण्टौँ कुर्छन् स्थानीयवासी

बोरिङको पानी पिउन घण्टौँ कुर्छन् स्थानीयवासी


  • मेरोभ्यूज
  • आषाढ १६, २०८१ आइतबार

  • बोरिङको पानी पिउन घण्टौँ कुर्छन् स्थानीयवासी

    कर्णाली । वीरेन्द्रनगर नगरपालिका-३ सुर्खेत माझगाउँ बस्ती पानीले काकाकुल छ । स्थानीयको घरमा इनार छ तर पानी छैन । रित्तो गाग्री, जर्किन, जार, बोतल र जग समातेर पानीका लागि घण्टौँ लाइनमा बस्नु उनीहरुको दैनिकी बनेको छ ।

    पानीको हाहाकार भइरहेका बेला वीरेन्द्रनगर नगरपालिका-३, माझगाउँस्थित विश्वासी मण्डली नामक चर्चले बोरिङ गरेर पानी वितरण गरेपछि स्थानीयले राहत पाएका छन् ।

    माझगाउँ टोल विकास समितिले भने बोरिङबाट पानी निकाल्न एक सय दुई मिटर खन्दासमेत पानी भेटिएन । मण्डलीले ४० मिटर गहिराइबाटै पानी निकालेको छ । पानीको हाहाकारका बेला चर्चले ठूलो राहत प्रदान गरेको सोही टोलकी स्थानीय भगवतीकुमारी थापाले बताए ।

     “पानी अभावले व्याकुल बनेको यो बस्तीका लागि चर्च सहयोगी बनेको छ”, थापाले भने, “इनारको कालो र रातो पानी खानुपथ्र्यो । करिब दुई महिनादेखि सफा पानी खाँदै आएका छौँ । खाने, नुहाउने, लुगाधुने, शौचालय जाने, भान्सामा प्रयोगलगायत सबैमा यसले सुविधा दिएको छ ।” उनका अनुसार चर्चमा पानी लिन बिहान ४ देखि राति १२ बजेसम्म स्थानीय लाममा बस्छन् । लाममा बस्नेले दुईदेखि तीन घण्टा कुर्नुपर्छ । स्थानीय धनबहादुर खत्रीले भान्सादेखि शौचालयसम्म बोरिङ्कै पानीले धानेको बताए । “

    यसअघि मान्छेहरु कसरी बाँच्या थिए थाहा छैन । अहिले प्यास मेटाउने मात्र होइन, हाम्रो सम्पूर्ण आवश्यकता यसले पुरा गरेको छ,” उनले भने । वडा नं. ३ देखि ४ सम्मका एक हजार भन्दा बढी घरधुरीले चर्चकै खानेपानीको सुविधा लिएको खत्रीले जानकारी दिए ।

    कालिकोट शुभकालिका गाउँपालिका दुई भर्ता घर भई हाल उक्त टोलमा बस्दै आउनुभएकी रुपा विश्वकर्माले सहरको कहर बल्ल थाहा पाएको बताए । उनले भने, “म घरभाडामा बसेर बालबच्चा पढाईरहेकी छु । सबै सुविधा छ भनेर सहर पसियो यहाँ त कहर मात्र खेप्नुपर्दो रहेछ ।” माझगाउँ टोल विकास समितिका अध्यक्ष तिलाचन्द्र अधिकारीले खानेपानी समस्या समाधान गर्न सरकारले नसकेको बताए । “

    पानी, जिन्दगानी हो । प्रदेश राजधानीको नगरपालिका भन्ने मात्र छ । खानेपानी, विद्युत, सडकको समस्या दुर्गम भन्दा कम छैन”, उनले भने, “सुक्खायाममा बालबच्चालाई पानी खुवाउन र वर्षामा आवतजावत गर्नसमेत समस्या छ ।” ती समस्याका विषय वडा हुँदै नगरपालिकासम्म राखे पनि कुनै सुनुवाई नभएको उनले गुनासो गरे ।


    प्रकाशित : आइतबार, आषाढ १६ २०८१११:५२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार