२०८३, कार्तिक १५ गते आइतबार

चित्लाङमा  दैनिक चार लिटर दूध दिने बाख्रा विकास गरिँदै

चित्लाङमा  दैनिक चार लिटर दूध दिने बाख्रा विकास गरिँदै


  • मेरोभ्यूज
  • आषाढ १६, २०८१ आइतबार

  • चित्लाङमा  दैनिक चार लिटर दूध दिने बाख्रा विकास गरिँदै

    मकवानपुर। दूध उत्पादन भन्ने बित्तिकै आमउपभोक्ता र किसानले गाई वा भैँसीपालन सम्झन्छन् तर दैनिक चार लिटर दूध दिने ‘सानन’ जातको बाख्रा हुन्छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ ।

    अब नेपाली किसानले दूध उत्पादनका लागि बाख्रापालन गर्न सक्ने भएका छन् । बाख्रा विकास फार्म चित्लाङले गाईभैँसी पाल्न नसक्ने र थोरै घाँस भएका किसानका लागि दूध उत्पादन गर्ने जातको बाख्रा विकास गरिरहेको छ ।

    वर्षमा दुईपटक बियाउने र एक बेतमा करिब आठ सयदेखि एक हजार लिटरसम्म दूध दिने ‘सानन’ जातको बाख्रा तयार गरिरहेको बाख्रा विकास फार्म चित्लाङले जनाएको छ ।

     बाख्राको दूध छिमेकी मुलुक भारतमा प्रतिलिटर रु एक हजारले बिक्री हुने गरेको छ ।

    सोही जातको बाख्रा किसानले पाल्न सक्ने गरी विकास गरिरहेको बाख्रा विकास फार्म चित्लाङका प्रबन्धक विश्वेश्वरप्रसाद यादवले जानकारी दिए ।

    प्रबन्धक यादवका अनुसार नेपालमा विसं २०७२ मा स्विजरल्यान्डबाट ल्याइएको उक्त बाख्राको सङ्ख्या हाल ३५ वटा पुगेको छ । अब किसानलाई पालनका लागि वितरण गर्ने तयारी रहेको उनले बताए ।

    दूध उत्पादनका लागि पालिने बाख्रा भएकाले यसलाई गरिबका लागि गाई सरह भन्न मिल्ने उनको धारणा छ । प्रबन्धक यादवले भने, “एउटा बाख्राले दिनमा तीनदेखि चार लिटरसम्म दूध दिन्छ, बाख्राले बच्चालाई दूध खुवाएर पनि यति धेरै दूध आउने गर्छ ।” “हामीले स्थानीय खरी जातको बाख्रा र सानन जातको ‘क्रस’ दुई जातका बीच प्रजनन प्रक्रिया उत्पादन गरिरहेका छौँ जसलाई नेपालको कुनै पनि हावापानीमा पाल्न मिल्छ, यी जातका बाख्रा बलिया र निरोगी छन्”, उनले भने ।

    दूधमा आत्मनिर्भर हुन पोषिलो दूधका लागि यो जातको बाख्रा उपयुक्त हुने प्रबन्धक यादवको भनाइ छ ।

    सानो परिवारलाई दैनिक तीनदेखि चार लिटर दूध पर्याप्त हुने र बाख्राको दूधमा कोलेस्टोरेल नहुने भएकाले यो दूध उत्कृष्ट हुने फार्मका पशु प्राविधिक बताउँछन् ।

    कृषि तथा खाद्य सुरक्षा आयोजनामार्फत सञ्चालित बाख्रा विकास फार्म चित्लाङमा पाँचवटा बाख्रा ल्याएर सङ्ख्या बढाउँदै हाल ३५ वटा पु¥याइएको हो ।

    सानन जातको वयस्क बोकाको तौल ९० देखि एक किलोग्रामसम्म हुन्छ । बाख्रा भने ७५ देखि ८० केजीसम्मको हुने फार्मका प्रबन्धक यादवले जानकारी दिए ।

    बाख्राको दूध जुनसुकै उमेर समूहले खान मिल्छ । सरकारी दररेटअनुसार सानन जातको पाठापाठी प्रतिकेजी एक हजारका दरले बिक्री गर्ने गरिएको छ ।

    नेपालमा गरिएको अनुसन्धानबाट सानन जातको बाख्रा समुन्द्री सतहदेखि एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटर उचाइसम्ममा पालन गर्न सकिन्छ । अन्य जातका बाख्राभन्दा यी बाख्रा चाँडो हुर्कने र दूध उत्पादनका लागि आहाराको मात्रा बढी दिनुपर्ने हुन्छ ।

     तत्कालीन राणा शासकले विसं २००१ मा स्थापना गरेको भेँडा फार्मपछि बाख्रा विकास फार्ममा परिणत गरिएको हो । फार्मले मागअनुसार बाख्रा उपलब्ध गराउन सकेको छैन । फार्ममा उत्पादन भएको भन्दा तेब्बर माग हुने गरेको फार्मले जनाएको छ ।

     सरकारी फार्ममा शुद्ध नस्लको बाख्रा पाइने विश्वासले किसानले धेरै माग गर्ने गरेको फार्मका प्रबन्धक यादवको भनाइ छ । फार्मले सानन, सानन र खरीको क्रस तथा शुद्ध खरी गरी तीन जातको बाख्रा उत्पादन गर्दै आएको छ । फार्ममा चरिचरनका लागि बाह्रै महिना हरियो घाँस नहुँदा बाख्रा, भेडापालनमा समस्या हुने गरेको छ ।

    जग्गा पर्याप्त भए पनि चरिचरन क्षेत्र थोरै भएकाले वर्षको छ महिना मात्रै बाख्रा र भेडाले पोषिलो घाँस खान पाउँछन् । वर्षायामको घाँसलाई सुकाएर राख्ने तथा नेपियर, मकै आदिलाई साइलेस घाँसको गुन्द्रुक बनाएर फार्मले राख्ने गरेको छ । फार्ममा बाख्रा, भेडा, मासुका लागि खरायो र दूधका लागि जर्सी गाई पालिएको छ ।

    किसानले सम्बन्धित स्थानीय तहको सिफारिस ल्याएपछि मात्रै फार्मले बाख्रा बिक्री गर्ने गरेको छ । फार्ममा उक्त जातको एउटा बाख्राले एक बेतमा आठ सयदेखि एक हजार लिटरसम्म दूध दिने गरेको फार्मले जनाएको छ ।


    प्रकाशित : आइतबार, आषाढ १६ २०८१११:३३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार