२०८३, कार्तिक १५ गते आइतबार

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णु पादुका मन्दिर

धार्मिक पर्यटकीयस्थल बन्दै विष्णु पादुका मन्दिर


  • मेरोभ्यूज
  • आषाढ १५, २०८१ शनिबार

  • धार्मिक पर्यटकीयस्थल बन्दै विष्णु पादुका मन्दिर

    सुनसरी । धरान उपमहानगरपालिका-२० स्थित विष्णु पादुका मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध छ । प्राकृतिक रुपले विष्णु पादुका सुनसरी जिल्लाकै एक सुन्दर स्थानसमेत हो । मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान विष्णुले पहिलो श्राद्ध गरेको स्थानको रूपमा यस मन्दिरलाई चिनिन्छ । यहीँबाट श्राद्ध परम्पराको थालनी भएको भक्तजनहरुको विश्वास छ ।

    झापाबाट श्राद्ध गर्न पहिलो पटक आएका मिलन तिम्सिना विष्णु पादुका मन्दिरमा श्राद्ध गर्दा मोक्ष प्राप्ति हुने जनविश्वास रहेको बताउछ । उनले भने, “बुबाआमाको नाममा श्राद्ध गर्न बराह क्षेत्र र पिण्डेश्वरमा पूजा गरेर यहाँ आएको हुँ । यहाँ आइपुग्न अरु ठाउँ जस्तो सजिलो छैन, बाटो र सवारी साधनको राम्रो सुविधा नभए पनि यहाँ श्राद्ध गर्दा पितृको दिवंगत आत्माले मोक्ष प्राप्त हुने विश्वास छ ।”

    मोरङको रङ्गेलीबाट बुबाको श्राद्ध गर्न आएका सुमन विष्टले विष्णु पादुका मन्दिरमा श्राद्ध गर्दा बुबाको दिवंगत आत्माले शान्ति पाउने जनविश्वास रहेको जानकारी दिए ।

    विष्णु पादुका मन्दिरमा पितृको सम्झनामा श्राद्ध गर्न नेपालका मात्र नभएर भारतका विभिन्न ठाउँबाट भक्तजन आउने विष्णु पादुका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजकुमार निरौलाले बताए ।

    प्रत्येक वर्षको पौष शुक्ल औंशीका दिन आफ्ना पितृलाई पिण्ड तर्पण गर्न लाखौँको सङ्ख्यामा भक्तजन यहाँ आउने गर्दछन् ।

     धरानको मुख्य बजारबाट १२ किलोमिटरमाथि रहेको विष्णु पादुका मन्दिरमा दैनिक एक सय ५० देखि दुई सयसम्म भक्तजन आउने धरान विष्णु पादुका-२० का वडाध्यक्ष पदम लिम्बूले जानकारी गराएय । उनले भने, “यो धार्मिक पर्यटकीय मन्दिर भएकाले यसको संरक्षण र प्रचारप्रसारको आवश्यता छ ।”

    विसं १९७० मा लक्ष्मण घिसिङले मन्दिर भएको स्थलमा उत्खनन गर्दा पाउको छापसहितको ढुङ्गा फेला पारेपछि विष्णुको पाउ भएको विश्वास गर्दै पूजा गर्न थालिएको किंवदन्ती छ ।

    यस मन्दिरमा पूजारी तामाङ रहे पनि पितृ श्राद्धको विधि चाहीँ ब्राह्मण पुजारीले गर्छन् । उक्त मन्दिरमा पुस्तौँदेखि मुख्य पुजारीको रुपमा तामाङ जाति रहने गरेका छन् ।

    -----


    प्रकाशित : शनिबार, आषाढ १५ २०८१०९:०६
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार