२०८३, कार्तिक १५ गते आइतबार

‘बेनीको बजार, जता माया उतै छ नजर’ गीत नयाँ स्वरुपमा

‘बेनीको बजार, जता माया उतै छ नजर’ गीत नयाँ स्वरुपमा


  • मेरोभ्यूज
  • आषाढ १४, २०८१ शुक्रबार

  • ‘बेनीको बजार, जता माया उतै छ नजर’ गीत नयाँ स्वरुपमा

    बेनी । बुहचर्चित नेपाली लोकगीत ‘बेनीको बजार, जता माया उतै छ नजर’ को म्युजिक भिडियोलाई नयाँ प्रस्तुतिका साथ पुनःनिर्माण गर्न सुरु गरिएको छ ।

     जिल्ला सदरमुकाम बेनीलाई राष्ट्रिय, अन्तर्राष्ट्रियरूपमा चिनाउन सफल उक्त गीतलाई पुनः नयाँ स्वरुपमा रेडर्क गरेर म्युजिक भिडियो तयार गर्न लागिएको हो ।

    युवाको नेतृत्व र व्यक्तित्व विकाससँगै कला, संस्कृतिको संरक्षण र संवर्द्धनमा सक्रिय म्याग्दी जेसिजले गीतका सर्जकको परिवारबाट अनुमति लिएर गीतलाई नयाँ प्रस्तुतिका साथ बजारमा ल्याउन लागेको जनाएको छ ।

     गीतको पुनः ताजकी गर्न र स्रष्टालाई सम्मान गर्न पुरानो वास्तविक गीतसँगै नयाँ शब्द सङ्कलनसमेत गरेर बेनीको बजार गीतलाई पुनः निर्माण गर्न लागिएको जिल्लास्थित जेसिजका शाखा अध्यक्ष दिनेश बानियाँले जानकारी दिलाए ।

    अध्यक्ष बानियाँका अनुसार पुनःनिर्माण गर्न लागिएको गीतमा गायक रामचन्द्र काफ्ले र गायिका समीक्षा अधिकारीले स्वर भरेको छ ।

     गीत रेकर्डको काम सकेर अहिले म्युजिक भिडियो छायाङ्कन भइरहेको निर्देशक डिके पुनले जानकारी दिए ।

    निर्देशक पुनका अनुसार सदरमुकाम बेनीबजार, गलेश्वरधाम र लभ्लिहिल क्षेत्रमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा रघुगङ्गा गाउँपालिका-७ चिमखोलाबाट सुरुवात भएर पछिल्लो समय लोकप्रिय बनेको थालीनाचलाई समेत समावेश गरिएको छ ।

    मोडल गम्भीर विष्ट र अञ्जली अधिकारीले अभिनय गरेको म्युजिक भिडियोमा म्याग्दीका करिब ४५ भन्दाबढी कलाकारले नृत्य र अभिनय गरेको छ ।

     टिकाबहादुर श्रेष्ठले रचना गरेको उक्त गीतमा सर्जक श्रेष्ठ र उनकी श्रीमती मन छन्त्यालले पहिलो पटक बेनीको बजार गीत गाएको थियो ।

     विसं २०३१ मा रेडियो नेपालमा मन छन्त्यालको स्वरमा रेकर्ड भएपछि विश्वभरका नेपाली माझ निकै चर्चामा आएको यो गीतलाई पछि राजु परियार र बिमाकुमारी दुराको स्वरमासमेत रेकर्ड गरेर बजारमा ल्याइएको थियो ।

    विसं २०१९ फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलो पटक रचनाकार श्रेष्ठ दम्पतीले ‘बेनीको बजार, जता माया उतै छ नजर’ बोलको गीत गाएको थियो ।

    उक्त कार्यक्रममा तत्कालीन १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको गीत प्रथम भएको थियो ।

    गीतका सर्जक श्रेष्ठको निधन भएकाले उनकी धर्मपत्नीको सहमतिमा गीत र म्युजिक भिडियोलाई पुनःनिर्माण गर्न लागिएको जेसिजका शाखा अध्यक्ष बानियाँले जानकारी दिए ।

    म्याग्दी जेसिजले जिल्लाका लोकप्रिय गायक खड्क गर्वुजाको पानी खायो बाघैले बोलको सालैजो गीतको समेत नयाँ म्युजिक भिडियो तयार गर्न लागेको छ । दुवै गीत र म्युजिक भिडियो पुनःनिर्माणमा करिब रु आठ लाख खर्च हुने जनाइएको छ ।

    सालैजो गीतको बेनी नगरपालिका-१ अर्जममा छायाङ्कन गरिएको छ । शेखर पुन र मिलन थापा मगरले अभिनय गरेको उक्त म्युजिक भिडियोको छायाङ्कन सन्तोष पिठाकोटे मगरले गरेको छ ।

     म्याग्दीका कलाकारले सृजना गरेका गीत सङ्गीतलाई नयाँ पुस्तासँग जोड्ने गरी पुनः रेकर्ड गरेर बजारमा ल्याउँदा जिल्लालाई थप उचाइमा चिनाउन र सर्जकको सम्मानमा सघाउ पुग्ने जिल्लास्थित उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबिनकुमार श्रेष्ठले जानकारी दिए ।


    प्रकाशित : शुक्रबार, आषाढ १४ २०८११०:२३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार